६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

तिनचुलेमा सडक र खानेपानी सुविधा


४ बैशाख, म्याग्दी । म्याग्दीकाे मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।

ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याइएको हो । ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले नागबेलीखोलादेखि दावा हुँदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको जानकारी दिए ।

ताराखोला गाउँपालिकाको रु १० लाख र गण्डकी प्रदेश सरकारको रु ७५ लाख लगानीमा सडक निर्माण गरिएको उनले बताए । तीन वर्षअघि सुरु भएको सडक निर्माणकार्य यसपाली सकिएको हो । सडक बनेपछि दुई घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ । मङ्गला–५ देउरालीदेखि तिलचुले जोड्ने पाँच किलोमिटर सडकको मार्ग खुलेको र थप दुई किलोमिटर मार्ग खोल्न बाँकी रहेको उपाध्यक्ष पेमा अधिकारीले बताए।

यसैगरी गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा पहाडको फेदीको मुहानबाट सौर्य ऊर्जाको प्रयोग गरि पानी तानेर तिनचुलेमा पु¥याइएको छ । चैतेथरीको मुहानबाट दुई हजार दुई सय मिटर लामो पाइपबाट लगेको पानी पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुई वटा धारा बनाइएको ताराखोलाको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताए।

गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री चन्द्रबहादुर बुढाले तिलचुले भ्रमणका लागि पुग्ने पर्यटक तथा भक्तजनको सुविधाका लागि सडक र खानेपानीको व्यवस्था मिलाइएको बताए । ताराखेलाका अध्यक्ष धनबहादुर विक र मङ्गला गाउँपालिकाका उपाध्यक्ष अधिकारीले दुईवटै पालिकाले सहकार्य गरेर तिनचुलेको पर्यटन विकास गर्ने प्रतिबद्धता जनाए।

दुई हजार नौ सय ७० मिटरको उचाइमा अवस्थित तीनचुले प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भएर पनि पूर्वाधार र प्रचारप्रसारका कारण ओझेलमा परेको छ । तीनचुलेबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, निलगिरिलगायतका हिमाल, बागलुङ र म्याग्दीको भूगोलका साथै सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

तीनचुलेमा मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्वसमेत छ । अर्मनको किमचौरबाट गाडी र पैदलयात्रा गरेर डेढ घण्टा तथा ताराखोलाको नागबेली खोलाबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि तीनचुले पुग्न सकिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १३:४८