११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

साउथ अष्ट्रेलियामा नयाँ वर्ष २०८० को यसरी गरियो स्वागत (फोटोफिचर)


१ वैशाख, अष्ट्रेलिया । साउथ अष्ट्रेलियाकै पुरानो नेपाली सामुदायिक संस्था एडिलेड नेपाल समाजको आयोजनामा एडिलेडमा भव्य नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय अकल्याण्ड पार्कमा आयोजित कार्यक्रममा नेपालबाट आएका अभिभावक, यहा हुर्केको नयाँ पुस्ता सहित तिन पुस्ताको उपस्थिति रहेको थियो । औपचारिक शुभकामना मन्तव्यबाट शुरु भएको कार्यक्रममा स्थानिय म्यारियन काउन्सिलकी काउन्सिलर तथा एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य तथा एनआरएनए अष्ट्रेलिया नारी निकुञ्ज संयोजक मञ्जु खड्का, समाजका सल्लाहकार राजु उपाध्याय, एडिलेड नेपाली विद्यालयकी प्रिन्सिपल लक्ष्मी सापकोटा आचार्य, एडिलेड नेपालका अध्यक्ष पुस्कर कोइराला, अभिभावकहरुको तर्फबाट बालकृष्ण सिग्देलले शुभकामना व्यक्त गरेका थिए । सचिव आरके शर्माको संचालनमा भएको कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष देवराज कडेलले समाजको स्थापना सहित हालका गतिविधी माथी प्रकाश पारेका थिए ।

बालबालिका तथा अभिभावकहरुका विचमा प्रतियोगितात्मक खेल समेत खेलाईएको थियो । जसमा बालबालिका तर्फ फुन्चोक गुरुङ प्रथम र शोहन सापकोटा दोस्रा भएका थिए । भने अभिभावकहरु तर्फ इन्दिरा जोशी विजेता र राजन घिमिरे उपविजेता भएका थिए । खेलकुद कार्यक्रम समाजका पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले संचालन गरेका थिए भने विजयीहरुलाई समाजका अध्यक्ष देवराज कडेल र विद्यालयकी प्रिन्सिपल लक्ष्मी सापकोटा आचार्यले पुरस्कार वितरण गरेकी थिइन ।

नेपाल ताइचिन चिउरा, मासु, तरकारी, अचार सहितको नेपाली खानाका परिकारलाई सहभागीहरुले निकै रुचाएका थिए । पुर्वी नेपालको विराटनगरबाट आएका कैलाश उप्रेतीले प्रवासमा पनि नेपालमा भन्दा भव्य रुपमा नया वर्ष मनाउने अवसर पाएकोमा खुशी व्यक्त गरे । अर्की अभिभावक जयन्ती नेपालले सामाजिक संस्थाले नेपाली संस्कृतिलाई जोगाई राख्न गरेको कार्य प्रशंसनीय रहेको बताईन ।

कार्यक्रममा सहभागीहरुले नेपाली लोकप्रियता गित संगितमा नाच गान समेत गरेका थिए । जसले गर्दा पार्क क्षेत्र नै नेपालमय भएको थियो । कार्यक्रम संयोजक समेत रहेका सचिव शर्माले नेपालमा परम्परागत रुपमा मनाउदै आएको सम्वतको नया वर्ष मनाउदै नया पुस्तालाई नेपाली संस्कृति वारेमा जानकारी दिन धेरै हद सम्म सफल रहेको बताउदै साउथ अष्ट्रेलियाका नेपाली समुदाय सहित भ्रमण आएका अभिभावकहरुलाई एउटै थलोमा जम्मा भएर पर्वलाई मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले सहभागी तथा सहयोगीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार २०:१८