
१ वैशाख, काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले आज वैशाख १ गते शुक्रबारदेखि नयाँ ब्याजदर लागु गरेका छन् । निक्षेपको ब्याजदर नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एशोसिएसनले बुधबार गरेको निर्णयका आधारमा आजदेखि नयाँ ब्याजदर लागु भएकाे हाे ।
निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ । बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याज ९.९९ प्रतिशत कायम भएको छ । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
शुक्रबारबाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । विकास बैंकहरुले पनि ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैशाखका लागि विकास बैंकहरुले १०.६० प्रतिशत ब्याजदर तोकेका छन् । तर, चैतमा भने बैंकहरुले ११.६० प्रतिशत ब्याज कायम गरेका थिए ।
यता, वाणिज्य बैंक र विकास बैंकहरुले ब्याजदर घटाएसँगै फाइनान्स कम्पनीहरुले पनि ब्याजदर कम गरेका छन् । आगामी बैशाखमा अधिकांश फाइनान्स कम्पनीहरुले ११.२५ प्रतिशत ब्याजदर दिने भएका छन् । तर, चैत महिनामा भने कम्पनीहरुले १२ प्रतिशत ब्याजदर कायम गरेका थिए ।
प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १०:११