७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सशस्त्र प्रहरीले सातै प्रदेशमा स्कुल र अस्पताल स्थापना गर्ने, सूदुरपश्चिम फिल्ड अस्पतालको शुभारम्भ


३० चैत, काठमाडाैँ । सशस्त्र प्रहरीले सशस्त्र प्रहरीले सातै प्रदेशमा स्कुल र अस्पताल स्थापना गर्ने भएको छ । सशस्त्रले उक्त अभियान अन्तर्गत बिहीबार सूदुर पश्चिम प्रदेशमा निर्माण भएको फिल्ड अस्पतालको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुभारम्भ गरेका छन ।

महानिरीक्षक अर्यालले सूदुर पश्चिम प्रदेशस्थित नं.७ बैद्यनाथ बाहिनी परिसरमा निर्माण भएको नेपाल एपीएफ फिल्ड अस्पतालको बिहीबार समुद्घाटन गरेको  सहायक प्रबक्ता  डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन । सातै प्रदेशमा स्कुल र अस्पताल स्थापना गर्ने लक्ष्य अनुसार सो अस्पताल निर्माण गरिएको हो ।

महानिरीक्षक अर्यालले संगठनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि विभिन्न किसिमका कल्याणकारी कार्य एवं वृत्तिविकासमा विशेष ध्यानदिँदै कार्य गरिरहेको बताउँदै सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासित, इमान्दार र पूर्ण व्यावसायीक भई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट पूरा गर्न निर्देशन दिए ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका १ स्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको परिसरभित्र १५ शैयाको फिल्ड अस्पताल निर्माण भएको छ । अस्पतालको निर्माण र संचालनले सो क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरु र उनीहरुको परिवारका साथसाथै स्थानीय नागरिकहरुलाई समेत औषधी उपचारमा सहजता हुनेछ ।

कार्यक्रममा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, बिल्लादार जवान तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार २०:१६