१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेपालको फुटबलको विकासका लागि जापान नेपाल फुटबल एशोसिएसन सक्रिय


३० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बिभिन्न देशमा रहेका आफ्ना पूर्व फुटबलहरुलाई नेपाली फुटबलको विकासमा सक्रिय बनाउन थालेको छ । उनीहरुलाई लिखित रुपमा अधिकार नै दिएर नेपालको फुटबल गतिविधिमा सहयोग गर्न अनुमति दिएको छ ।

यही क्रममा जापानमा पूर्व फुटबलर शिव खड्काको संयोजकत्वमा नेपाल जापान फुटबल एशोसिएसनको स्थापना गरी बिभिन्न गतिविधि थालिएको छ । जापानमा नेपालका पूर्व चर्चित राष्ट्रिय फुटबलहरु फुटबलको गतिविधिमा सक्रिय छन् । पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले आफ्नो नाममा एकेडेमी नै स्थापना गरेर नेपाली र जापानी बालबालिकालाई फुटबलको प्रशिक्षण दिदै आएका छन् ।

हालै मात्र नेपालबाट गएका १२ बर्ष मुनिका एक टोलीलाई गौचनको एकेडेमीमा प्रशिक्षण दिइएको थियो । यस्तै जापानमा पूर्व राष्ट्रिय फुटबल खेलाडी नरेश जोशी, हरि ठकुरी लगायतपनि सक्रिय छन् । नेपाल जापान फुटबल एशोसिएसनले हाल जापानमा नेपाली फुटबलको विकासलाई लक्षित गरी बिभिन्न कार्यक्रम गर्न थालेको छ ।

अहिले आफुहरु नेपालको फुटबललाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा छलफलमा रहेको संयोजक खड्काले बताए । उनले चाँडै एशोसिएसनले योजनाबद्धरुपमा कार्यक्रम अघि बढाउने पनि बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १६:१७