९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

मार्क्सवादी दर्शनका व्यवहारिक पक्षहरु


-सरोजकुमार तामाङ

हाम्रो वरिपरिको जगत, यस जगतको विकासको निमयहरुको बोध गर्ने तरीकाहरुको सुसंगत दृष्टिकोणहरुको पद्धतिलाई नै मार्क्सवादी दर्शन भनिन्छ । त्यसैले मार्क्सवादी दर्शन कुनै व्यक्ति, जात, धर्म र समाज विशेषको मात्र नभएर यो सर्वाङ्गीण मानव जातिको विकासको निम्ति हो भन्ने प्रष्ट हुन्छ । मार्क्सवादी दर्शनलाई व्यक्तिको व्यवहारिक जीवनदेखी जुनसुकै ठूल्ठुला सामाजिक विकासका घटनाक्रमहरुको बोधार्थ प्रयोग गर्न सकिन्छ ।

बाँकी समाजशास्त्र, जगतको ब्याख्या र विश्लेषणमा मात्रै सिमित हुँदा मार्क्सवादी दर्शनले भने जगतको विकसित घटनाक्रमहरुको बोध मात्र होइन, त्यसलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने मूल चुरो बिषय हो । हाम्रो ब्यक्तिगत निजी जिन्दगीमै हेर्ने हो भने पनि विभिन्न घटनाक्रमहरु चलिनै रहेको हुन्छ । ती घटनाहरु हुनु को पछाडि के कारण लुकेको छ ? भावी जिन्दगीमा त्यसले के असर पुर्याउन सक्छ ? कसरी यी घटनाक्रमहरु विकसित हुँदैछ ? यसको सत्यतथ्य ज्ञान लिन र हामीले यी घटनाहरुलाई परिवर्तन गर्न सकिन्छ कि सकिदैँन भनि विचार विमर्श गर्न चाहे बुझेर होस् या नबुझेरै होस् मार्क्सवादी दर्शनको साहारा लिएकै हुन्छौं ।

जसरी व्यक्ति जुनसुकै विचारले अभिप्रेरित भएतापनि गुरुत्वाकर्षणका नियमहरु मनन गरे पनि नगरे पनि प्रयोग भएकै हुन्छ, त्यसरी नै ब्यक्ति मार्क्सवादी भएपनि नभएपनि यो हाम्रो जीवनमा लागू भएकै हुन्छ । तसर्थ, मार्क्सवादी दर्शनका नियमहरुलाई सार्वभौम नियमहरु भनेका हुन् । जिज्ञासा र कौतुहलले मानिसको सोच, विचार र चिन्तनलाई गतिशीलता प्रदान गर्दछ । त्यो गतिशीलताकै कारणले गर्दा विकासक्रमले ठाउँ लिदैँ जानु अकाट्य प्रकृतिक नियम हो ।

जसले समयको गतिसँगै विकासलाई अंगाल्न सक्दैन, उसको अन्त्य हाम्रै आँखाले हाम्रै वरिपरि जुनसुकै क्षेत्रमा हामीले देखेकै छौं । उदाहरणार्थ, हिजोका हाम्रा पुस्ता भन्दा हामी ब्यवहारिक हिसाबले भिन्न छौं र भोलीका हाम्रा पुस्ताहरु पनि क्रमिक रुपले हामी भन्दा भिन्न हुँदै जानेछ । यसरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, भाषिक र सबैखाले सामाजिक ब्यवस्थाहरु र तिनका विभेदहरुको बारेमा बुझ्न र बुझाउँनको लागि मार्क्सवादी दर्शनको साहारा लिनुको विकल्प देखिदैँन् ।

किन समाजमा विभिन्न वर्ग, धर्म, भाषा, विभेदहरु जन्मिन्छन् र यिनका कारणहरु के-के हुन सक्दछन् ? सम्पूर्ण मानव समाज कल्याणको निम्ति यी प्रतिकूल सामाजिक व्यवस्थाहरुलाई बदल्न सकिन्छ कि सकिदैँन भनि घनीभूत तवरले छलफल र बहस चलाउने थलो नै मार्क्सवादी दर्शन हो । मानिसका असिमित चाहानाहरु पूर्ति गर्नाका निमित्त मानिस अवसरको खोजीमा सदैव भौतारी रहेको हुन्छ । वास्तवमा ब्यक्तिमा होइन, अवसर सामूहिकतामा निहित हुन्छ ।

त्यो भनेकै सामाजिक जीवन हो । त्यसैले, समाजमा छरिएर रहेका तर, विचार र सिद्धान्तले मेलखानेहरु आफ्ना व्यक्तिगत स्वार्थ पूर्तिको निम्ति एकत्रित हुन थाल्दछन् । यसले संगठनको रुप लिन्छ । त्यो नै संगठनको जन्म हो । मानव समाज कल्याणको निम्ति गरिएका सामाजिक व्यवस्थाहरु परिवर्तनमा सदैव बहुसंख्यक जनताले अल्पसंख्यक जनता पराजित गर्दै अघि बढेको सामाजिक जीवन इतिहासले प्रमाणित गरेको देखिन्छ । जब समाजमा बहुसंख्यक मानिसको असिमित चाहानाहरुलाई पूर्ति गर्न राज्यको सिमित स्रोत र साधनहरुको परिचालन अव्यवस्थित ढंगले हुन थाल्दछ, त्यहाँ असमानता, शोषण, दमन, उत्पीडन, अन्याय र अत्याचार प्रष्टसँग देखा पर्दछ ।

यसको मतलब राज्यको सिमित स्रोतसाधनमाथि पहुँच पुगेकाहरुले आफ्नो मुठ्ठीमा लिदाँ बहुसंख्यक जनता गरिबी, किसान, मजदुर, सर्वहारा र श्रमजीवीवर्गको रुपमा देखा पर्दछ । त्यसैले, त्यहाँ हुँनेखाने र हुँदाखानेबीचको अन्तरद्धन्द्धले जन्म लिन्छ र परिवर्तनको निम्ति वाताबरण तय हुँदै जान्छ । अहिलेको हाम्रो समाज पनि त्यही अवस्थामा रहेको पाइन्छ किनकि यहाँ पनि मुठ्ठीभर हुँनेखानेहरुले राज्यको स्रोतसाधनमाथि आफ्नो स्वार्थीय हक जमाउँदै बहुसंख्यक जनतालाई शोषण, दमन र उत्पीडन गरेकै छन् ।

हामीले हिजोका सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्यव्यवस्था त परिवर्तन गरेऔं तर, अझैंपनि हाम्रो सोच-विचारहरुमा त्यही सामन्ती प्रथाको आधार र अवशेषहरु जिवित्तै राखेका छौं । जबसम्म हामीले ‘सबैको लागि सम्पूर्ण’ समाज भन्ने मानसिकताको अवधारणा पैदा गर्न सक्दैनौं तबसम्म समाजको विकासक्रममा अवरुद्ध हुँदै जानेछ । र, त्यहाँ वर्गसंघर्षका कार्यक्रमहरु एकपछि अर्को गर्दै बुलन्द हुँदै जानेछ ।

तसर्थ, हामीले अपनाएका सामाजिक व्यवस्थाभित्र शासक र शासितको वैचारिक र सैद्धान्तिक मुक्कामुक्की अन्त्य गर्न मार्क्सवादी दर्शनशास्त्रले भन्ने गरेको वैज्ञानिक समाजवादको प्रादूर्भाव हुनु जरुरी देखिन्छ । विश्व सर्वहारावर्ग आन्दोलनको व्यवहारिक उदेश्य भनेको वर्गरहित समाजको निर्माण गर्न वैज्ञानिक समाजवादको उदय अनिवार्य छ भन्नु हो । तर, प्रत्येक मुलुकको वर्गीय समाजले आ-आफ्नै विशेषता बोकेको हुँदा मार्क्सवादी दर्शनले भने झैं आफ्नो मुलुकको सामाजिक वर्गीय चरित्रको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्नु नितान्त आवश्यक रहन्छ ।

त्यसैलाई मध्येनजर गर्दै नेपाली वर्गीय समाजको चरित्रको ठोस विश्लेषण गर्दै जननेता मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’को अवधारणा प्रस्तुत गर्नु भयो । यो नै मार्क्सवाद-लेनिनवादको वैज्ञानिक समाजवादलाई सचित्र नेपाली समाजको विशिष्ट परिस्थितिमा उतार्ने एक मात्र शक्तिशाली कार्यक्रम हो । कार्यक्रम भनेको कार्यनीति र रणनीतिको योगफल हो ।

हिजो २०४६ साल ताका मौलिक मानव अधिकार, बोल्न-लेख्न-संगठित हुन पाउने हक र अधिकार प्रजातन्त्र प्राप्ति पश्चात स्थापित गर्नुपर्ने हाम्रा कार्यनीतिहरु थिए भने, त्यो बेला जबजले भन्ने गरेको गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता लगायत आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्ति रणनीति थिए । र, आज आएर गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता हाम्रा कार्यनीति भए भने आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्ति रणनीतिहरु हुन् ।

यी तीन जनमुद्दाहरुलाई लक्षित गर्दै हाम्रा रणनीतिहरु तय हुन सकिएन भने जबजले उद्घोष गरेको जनवादी राज्यसत्ता घोषणा टाढिदैँ जानु हो । त्यसैले जनताको निर्णायक शक्तिको रुपमा नेपाली सुनौंलो राजनीतिक क्षितिजमा उदाएको नेकपा एमालेले दलाल संसदीय व्यवस्थाको अस्थायी सत्ताको संघर्षमा दिलोज्यान दिनुको सट्टा श्रमजीवीवर्गको आस्थाको केन्द्रको रुपमा रहेको पार्टीलाई जिवन्त तुल्याउन जनताको बहुदलीय जनवादमा भनिएको बाँकी कार्यभारहरु पूरा गर्न दत्तचित्त भएर आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्तिका रणनीतिक कार्यक्रमहरु जतिसक्दोँ घोषणा गर्दै ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकांक्षलाई पूरा गर्न तर्फ अग्रसर हौं !!

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ११:०२