१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउने गिरोहका थप अर्का व्यक्ति पक्राउ


२९ चैत, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर विदेश पठाउन खोज्ने समूहका थप एक सदस्य पक्राउ परेका छन् । शक्ति र पहुँचको आडमा नक्कली शरणार्थी बनाएर मोटो रकम असुल्न खोज्ने गिरोहका अर्का एक सदस्य सन्देश शर्मा पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख एसएसपी डाक्टर मनोज कुमार केसीले भने ‘यो घटनाको अनुसन्धान जारी छ । आज थप एक जनालाई पक्राउ गरिएको छ । उसलाई कानूनी कारबाहीका लागि बुझाउँछौं । अनुसन्धानकै क्रममा यो घटनासंग जोडिएका अन्यको पनि खोजि भै रहेको छ ।’ नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लगायत बिभिन्न मुलुकमा पठाउने घटनामा सन्देश शर्माको पनि महत्वपूर्ण भूमिका रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले यस प्रकरणमा संलग्न रहेका केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरिसकेको छ । यो गिरोहका सदस्यहरुले देशका बिभिन्न जिल्लाका व्यक्तिहरुलाई भूटानी शरणार्थी बनाइदिने प्रलोभन देखाएर ५ देखि ४५ लाखसम्म असुलेका थिए । यसरी उठाएको रकम करोडौंै रहेको प्रहरीको भनाइ छ ।

तर रकम ठगिएको महसुस भएपछि ठगिएकाहरुले प्रहरीमा उजुरी गरेपछि यस प्रकरणमा अनुसन्धान सुरु भएको थियो । २०७६ सालमा गृह मन्त्रालयले छुटेका भूटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।

यही अवसरबाट गिरोहका सदस्यहरुले लाभ लिने प्रयास गरेका थिए । जसमा पहुँचवाला नेताको नजिक रहेका नातेदार र सहयोगीहरुको नै हात रहेको आशंका प्रहरीले गरेकाे छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १६:५९