१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय


धुलिखेल, २९  काठमाडौँ  । विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी भए पनि कुन–कुन कार्यक्रम बन्द गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी अभावका कारण सञ्चालनमा समस्या भएको बताउँदै आगामी दिनमा प्रभावकारी र विद्यार्थीको आकर्षण बमोजिमका कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको उहाँको भनाइ थियो ।

विश्वविद्यालयले हाल दुई सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमध्येका करिब ३० प्रतिशत कार्यक्रम विद्यार्थी अभावका कारण प्रभावकारीरुपमा सञ्चालन हुन सकेका छैनन् । उपकुलपति थापाका अनुसार ब्याचलर अफ सोसल वर्क (बिएसडब्लु)को २४ कोटामध्ये २२ सिट रिक्त छन् भने ब्याचलर अफ म्यानेजमेन्ट(बिएमएस)मा ३० सिटमा २२ जना भर्ना भएका छन् । मास्टर्स अफ म्यानेजमेन्ट(एमएमएस)मा २० सिटमध्ये १२ सिट रिक्त छन् भने ब्याचलर अफ बुद्धिष्ट स्टडिजमा ३० सिट भए पनि चारजना मात्र विद्यार्थी भर्ना भएका छन् । उहाँले पिजिडी इन म्यानेजमेन्टका ३० सिटमध्ये १६ सिट, एकवर्षे एमएड इन इटलीका १५ सिटमध्ये १२ सिट रिक्त रहेको जानकारी दिनुभयो । ब्याचलर अफ बिजनेस स्टडिज(बिबिए)मा एक सय २० सिटमध्ये ७८ जना भर्ना भएका छन् ।

गुणस्तरीय शैक्षिक कार्यक्रम समय अनुकूल सञ्चालन गरे पनि विद्यार्थी अभाव हुने गरेको उपकुलपति थापाले बताउनुभयो । विश्वविद्यालयले समयानुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि सम्बन्धित निकायको न्यून चासो, प्रोत्साहनको कमी, प्रचारप्रसार नहुनु जस्ता कारणले विद्यार्थीको कमी हुने गरेको विश्वविद्यालयका सहनिर्देशक ब्रजेश मिश्रले बताउनुभयो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १४:५५