६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग


काठमाडौँ, २९ चैत । निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गर्नुभएको हो । “देशव्यापीरुपमा ठाउँ–ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस् । ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्याङ्कन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाइनुपर्छ”, उहाँले भन्नुभयो ।

लतिलपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टका कारण सिर्जित समस्याबारे पनि कार्कीले संसद्का कुरा उठाउनुभएको छ । “नक्शापास र वातावरणीय प्रभाव मूल्याङ्कनबिनै सम्बन्धित स्थानीय तहको स्वीकृतिसमेत नलिइ १८ रोपनी जग्गामा १६ तले अपार्टमेन्ट बनाइरहँदा वरपरका घर चर्किने भासिने भएका छन् । स्थानीयले पटक-पटक उजुरी दिए पनि काम रोकिएको छैन”, डा कार्कीले भन्नुभयो ।” संसद्को अघिल्लो बैठकमा समेत यो कुरा उठेको भए पनि कारबाहीको लागि वैधानिक प्रक्रिया अघि नबढेको उहाँको भनाइ छ ।

उक्त अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरमा क्षति भएकोमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने पनि उहाँको माग छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १४:३९