७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मुलुकमा देखिएको व्यापार घाटा सरकारले मात्रै पूर्ति गर्न सक्दैनः शेखर गोल्छा


२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालेसरकारएक्लैले व्यापार घाटा पूर्ति गर्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उनले, आयात र निर्यात बीचको व्यापार घाटा फराकिलो भएको भन्दै सचेत बन्न आग्रह गरे । हाल देखिएको व्यापार घाटालाई हल्का रुपमा नलिन तथा सचेतता अपनाउन उनको सरकारलाई आग्रह छ ।

रेमिट्यान्समै निर्भर अर्थतन्त्रले मुलुकको अर्थतन्त्र सुधार गर्न नसक्ने उनले बताए । ‘प्रधानमन्त्री ज्यु यो मुलुकको ठूलो जोखिम हो भन्ने कुरा बुझेर यसमा अब काम गर्न सुरु गर्नुपर्छ । व्यापार घाटा सरकारले पूर्ति गर्न सक्दैन ।’ गोल्छाले भने । नेपालको आर्थिक विकासमा निजि क्षेत्रको योगदान ठूलो रहेको स्मरण गर्दै उनले सरकार एक्लैले अहिले देखिएको समस्या समाधान गर्न कठिन हुने बताए ।

हाल देखिएको आर्थिक खाडल पुर्न निजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताए। नेपाल विश्व व्यापार संगठनकोसदस्य बनेको १८ वर्षमा निर्यात ३ प्रतिशतले बढ्दा आयात ९ गुणाले बढेको भन्दै उनले बाह्य प्रभावलाई नजरअन्दाज गर्न नहुने तर्क गरे । गतवर्षको तथ्याङ्क अनुसार नेपालको रेमिट्यान्स भन्दा व्यापार घाटा आठ खर्बले बढी छ । उनले भने यो वर्ष रेमिट्यान्स केही बढेपनि, आयातमा गरिएको प्रतिवन्धले केही राहत दिएपनि व्यापार घाटा तुलनात्मक रुपमा सुधार नभएको तर्फ उनले सचेत गराए ।

सरकारले निर्यात बढाएर विदेशी लगानी जुटाउनुपर्ने तथा प्रभावकारी वैदेशीक सहायता परिचालन गर्नु पर्नेबताएका उनले हाल देखिएको मुलुकको ठूलो जोखिमलाई नजरअन्दाज नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।  सो अवसरमा ‘अर्थतन्त्रमा निजि क्षेत्रको योगदान’ नामक पुस्तक पनि सार्वजनिक गरिएको छ। कितावमा निजि क्षेत्रको योगदान ,निजि क्षेत्रले भोग्नुपरेको समस्या र समाधानको उपाए समेटिएको छ । तथ्याङ्क अनुसार नेपालको अर्थतन्त्रमा निजि क्षेत्रको योगदान कुल ग्रार्हस्थ उत्पादनको ८१ प्रतिशत रहेको उल्लेख छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायत पदका लागि बुधबार निर्वाचन हुनेछ ।नयाँ वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १३:३५