६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

देश संकटमा पर्दा प्रधानमन्त्री सत्ताको फोहोरी खेलमा आनन्द लिइरहेका छन्ः सांसद गिरि


२७ चैत, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरिले देश आर्थिक संकटमा पर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सत्ताको फोहोरी खेल खेल्दै आनन्द लिईरहेको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बठैकमा सांसद गिरिले प्रधानमन्त्री प्रचण्डलाई पद सत्ता बाहेक अन्य कुनै पनि विषयको चिन्ता नभएको जिकिर गरे ।

‘देशमा आर्थिक मन्दी छाईरहेको छ । मुलुकको यस्तो नाजुक अवस्थामा प्रधानमन्त्री बालुवाटारमा बसेर सत्ताको फोहोरी खेल खेल्दै आनन्द लिइरहनु भएको छ । उहाँलाई त्यहाँ भन्दा बाहिर कुनै कुराको चासो छैन् । देशमा आइपरेको आर्थिक मन्दीको विषयमा संसदमा प्रधानमन्त्री किन बोल्नुहुन्न ?किन अर्थमन्त्रीले आएर बोल्नुहुन्न ?भन्दै सांसद गिरिले स्पष्टीकरण पेश गर्नु पर्ने माग समेत गरे ।

‘प्रधानमन्त्री ज्युले सदनमा आएर सदनप्रति जवाफदेही भएर मुलुकको यो अवस्था के कारणले आयो भनेर र मुलुकको यो समस्यालाई समाधान गर्न सरकारले के के विकल्प सोचिरहेको छ भन्ने कुरामा संसदलाई आस्वस्थ पार्न सक्नु पर्छ ।’ सरकारले मुलुकको संकटग्रस्त अवस्थालाई प्राथमिकतामा नदिएको र सदनमा आएर प्रधानमन्त्री प्रचण्डले संसदहरुलाई यो विषयमा स्पष्ट पार्न नसकेको उनको आरोप छ ।

‘उपप्रधानमन्त्री पश्चिम जानुभयो ,माटोमा ढोग्नु पनि भयो हामीले हेर्यौं । अनि उहाँले भन्नु भएको छ देशको अर्थतन्त्र भयावह अवस्थामा छ, संकटग्रस्त अवस्थामा छ । बैशाखबाट कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनु पर्ने स्थिति आएको छ । तर त्यही कुरा आज संसदमा प्रधानमन्त्री किन बोल्नुहुन्न ? किन अर्थमन्त्रीले आएर बोल्नुहुन्न ?’ एमाले सरकारमा रहुँञ्जेलसम्म मुलुकको अर्थतन्त्र राम्रो अवस्थामा रहेको दावी गर्दै सांसद गिरिले भने – अहिलेको नेतृत्वको सरकारले त्यसलाई सिध्याउन खोजिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १६:०९