१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ढाका श्रेष्ठ प्रकरणमा रास्वपाका सांसद सन्तोष परियारले संसदमा मागे माफी


२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सन्तोष परियारले आफ्नो दलका प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको अडियो सार्वजनिक भएको प्रकरणका लागि संघीय संसदमा माफी मागेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति माफी मागेका हुन् । उनले उक्त घटनाबाट पार्टी विचलित नहुने पनि बताउँदै राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्ने टिप्पणी गरे ।

‘प्रतिनिधिसभा सदस्यहरुलाई हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत घटेको घटनाले तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं । संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं भन्ने जानकारी गराउँन चाहन्छु । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

परियारले यस्तो घटना पहिलो पटक नभएकाले विगतमा भएका सबै घट्नाको सत्यतथ्य छानविन गर्न सुझाव समेत दिए ।
रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भएकोले सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १४:५४