१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बालेनले दिए सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्ने १४ कारण


२७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सिंहदरवारभित्रको फोहर नठाउनुको १४ कारण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत १४ कारण सार्वजनिक गर्दै सिंहदरवारले महानगरपालिकालाई पटक–पटक वेवास्ता गरेको दाबी गरेका छन् । त्यसो हुँदा फोहर नउठाउने महानगरको निर्णय लहडमा नगरिएको उनको भनाई छ ।

उनले फेसबुकमा लेखेका छन्,‘केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन । बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको हो ।’

सिंहदरवार महानगरपालिकाभन्दा ५ सय मिटरको दुरीमा भएपनि सिंहदरवारभित्र बसेको सरकारसम्म महानगरपालिका पुग्न धेरै कसरत गर्नु परेको मेयर बालेनले भनेका छन् । यसअघि सिंहदरबारको फोहोर व्यवस्थापन गर्नुपूर्व सिंहदरबारका नेताहरूलाइ सिसडोलमा डम्प गर्नुपर्छ भनेर सार्वजनिक रूपमा टिप्पणी गरेका बालेनले सोमबार भने समाजिक सञ्जाल मार्फत डम्प गर्नुपर्ने कारण दिएका छन ।

उनले लेखेका छन्,‘सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ, महानगरको कार्यालयबाट ५ सय मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ । संघीय सरकारकारुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न ।’

५ सय मिटरको दुरीमा रहेको काठमाडौं महानगरपालिका नै वेवास्तामा पर्छ भने दुरदराजका समस्या सिंहदरवारले कहिल्यै नसुन्ने मेयर बालेनको दाबी छ । उनले लेखेका छन्,‘ ५ सय मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका मुद्दा त अगाडि बढ्दैनन् भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्वोधनको अवस्था कस्तो होला ?’

यस्ता छन् मेयर बालेनले सार्वजनिक गरेको १४ स्पष्टिकरण

–गृह मन्त्रालयः अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरीको सम्वन्ध्मा ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

–परराष्ट्र मन्त्रालयः विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार ।

–शिक्षा मन्त्रालयः सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

–स्वास्थ्य मन्त्रालयः सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापनका लागि दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

–पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयः एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

–अर्थ मन्त्रालयः ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने २ मन्त्रीसँग पटक–पटक पहल ।

–सहरी विकाश मन्त्रालयः खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न ४ मन्त्रीसँग पटक–पटक पहल ।

–भौतिक यातायात मन्त्रालयः रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन गर्न २ मन्त्रीहरूसँग पटक–पटक पहल ।

–सूचना तथा सञ्चार मन्त्रालयः आईपिएस र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न २ मन्त्रीसँग पहल ।

–ऊर्जा मन्त्रालयः सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग गर्न २ मन्त्रीसँग पहल ।

–खानेपानी मन्त्रालयः मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापनमा पहल गर्न २ मन्त्रीसँग छलफल ।

–भूमिसुधार मन्त्रालयः सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण गर्न मन्त्रीसँग पटक–पटक पहल

–संघीय मामिला मन्त्रालयः तिनकुने विवाद पहल, कर्मचारी सरुवा गर्न दुई मन्त्रीसँग पटक–पटक पहल ।

–कृषि मन्त्रालयः मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण गर्न मन्त्रीसँग पटक–पटक पहल ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ०९:५२