१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कर्मचारीलाई तलब खुवाउन ऋण गर्नुपरेपछि सामाजिक सुरक्षा भत्तामा कैँची हान्ने तयारी


२७ फागुन, काठमाडौँ । सरकारले कर्मचारीलाई  तलब खुवाउनका लागि समेत आन्तरिक रूपमा ऋण उठाउनु परेपछि समाजिक सुरक्षा भत्तामा कैँची लगाउने तयारी गरेको छ । राजस्व कम उठेर कर्मचारीलाई  तलब खुवाउनकै लागि ऋण गर्नुपरेपछि सामाजिक सुरक्षा भत्तमा कैँची चलाउने तयारी गरिएको हो । आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको सरकारले यसको संकेत समेत दिएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) सँगको भेटमा राजस्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताए । उनले अहिले समाजिक सुरक्षा भत्ता खुवाउन सक्नेगरी राजस्व उठ्न नसकेको बताए । यद्यपी मन्त्री महतले यसबारे बाँकी कुरा बजेटबाटै जानकारी हुने बताए ।

उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताए । मन्त्री महतले भने, “अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रीत रहेको छ । अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्न आवश्यक छ । मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजस्व सङ्कलन कम भएको छ ।’

मन्त्री महतले मुलुकको राजस्व सङ्कलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताए । उनले साधारण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चिति र अर्थतन्त्रका अन्य सूचकहरु सकारात्मक रहेकाको बताउँदै अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने तयारी भैरहेको पनि बताए ।

अर्थमन्त्री डा महतले बजेटको प्रभावकारिता कार्यान्वयन गर्ने र उत्पादनशील क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारले ध्यान केन्द्रित गरेको भन्दै उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि, वैदेशिक तथा आन्तरिक लगानी प्रवर्द्धनमामा मुख्य जोड रहने बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ०९:४२