१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी


२६ चैत, काठमाडौं । सेना र प्रहरीमा जागिर लगाइ दिने भन्दै ४८ लाख ठगी भएको खुलासा भएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिका ३ की लक्ष्मी सुनारले, प्रहरीमा जागिर लगाइदिने तथा शान्ति सेनामा पठाइदिने आश्वासन दिँदै आफूबाट करिब ४८ लाख ठगेको बताएकी हुन् ।

काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पीडितले, जाजरकोट स्थायी ठेगाना बताउने किरण शाही ठकुरीले आफूसहित १८ जनाको ४८ लाख रुपैयाँ गठी गरेको बताइन् । शाहीले, आफ्नो श्रीमान् सहित अन्य पाँच जनालाई शान्ति सेनामा पठाउने भन्दै प्रति व्यक्ति तीन लाखको दरले पैसा लिएर फरार भएको पीडित सुनारले बताइन् ।

उनले भनिन् ‘ मेरो पसलमा आउँदा किरण शाही ठकुरीसँग मेरो सामान्य चिनजान मात्र थियो । गतवर्ष पुस २८ गते उहाँले तपाईँहरूको कोही आफन्त छ भने शान्ति सेना पठाइदिन्छु भन्नुभयो । तपाईँको नागरिताहरु केही पाउ न भनेको हुन्छ भन्नुभयो र शान्ति सेना जाने मान्छेको पैसा तयार गर्नु भयो । मेरो श्रीमान् लगायत पाँच जनाबाट तीन/तीन लाख पैसा शान्ति सेना पठाउँछु भनेर उठाउनुभयो । उहाँले अर्को सर रामकृष्ण थापासँग कुरा गराउनुभयो । पैसा लिएर आउन भन्नुभयो । पैसा दिए लिएर गएपछि एक वर्षपछि मात्रै पालो आउँछ भन्नुभयो ।’

सुनारले, आफूले बीचमा कामबारे सोध्दा किरणले हुदैँछ भनेर आश्वासन दिएको बताइन्। विश्वासमा परेर सेना र प्रहरीमा भर्ती खुलेको बेला जागिर लगाइने आश्वासन दिएकाले थप रकम दिएको उनको भनाई छ ।

पीडित सुनारका अनुसार मङ्सिरसम्म सबै काम हुन्छ भनेका शाही अहिलेसम्म सम्पर्कमा नआएपछि आफू ठगिएछु भन्ने पत्तो लागेको उनको गुनासो छ । उनले भनिन्, ‘फेरी बिचमा आर्मी पुलिसमा फर्म खुलेको छ । सेनामा भर्ती हुने कोहीभए पठाउनुस् भन्नुभयो पैसा पठाइदिए ।

त्यसपछि ७ महिनासम्म चुनाव आयो भन्दै के के भन्दै झुलाएर राख्नु भयो फेरी मङ्सिर १ गतेसम्म कुर्नु भन्नुभयो । त्यसपछि बिस्तारै हामीबाट टाढा हुन खोजेको जस्तो महसुस भयो । सुरु देखि मसँग सम्पर्क हुने नम्बर परिवर्तन गर्नु भयो अहिले सम्पर्कमा हुनु हुन्न फोन पनि लाग्दैन ।’

उनीहरूले नौ लाखको चेक समेत दिएर पैसा नहाल्दीएको पनि उनले बताइन् । पीडित सुनारकै मध्यस्थतामा उक्त गिरोहले सेनामा भर्ना गरिदिने भन्दै सुनिल बिक, सन्देश सुनुवार, मोहन घर्ती, अर्जुन बुढा, दीपक नेपाली, रेशम नेपालीलाई सेनामा भर्ती गरिदिने भन्दै प्रतिव्यक्ति ३ लाख रुपैयाँ असुलेको उनले बताइन् ।

त्यस्तै प्रहरी जवानमा भर्ती गरिदिने भन्दै शान्ति परियार, समीर खत्री, सुदीप बिक, नवीन बिक, सुरज यादवलगायतका व्यक्तिहरुसँग समेत शाहिले पैसा लिएको पीडितले बताएकी छिन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १२:१६