१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो, ८ महिना नेपालबाट ४० करोड ६१ लाखकाे भारत निकासी


२६ चैत, झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।

गत आव २०७८/७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट रु १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने रु ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

यसैगरी चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने रु चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो ।

मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९÷८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु एक अर्ब १० करोड ९१ लाख मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

उक्त आवको १२ महिनामा भने रु १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार ११:३६