१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

वरिष्ठ नेता मुकुन्द न्यौपानेले छाडे एकीकृत समाजवादी, एमालेमै फर्कने


२५ चैत, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनले नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनको दलदलमा फसेको बताए । उनले पार्टी नेतृत्व पार्टीका बैठकमा नभई कोठेराजनीतिमा संलग्न भएको आरोप समेत लगाए ।

‘भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि महत्त्वपूर्ण कुरा हो’ भन्दै आफूले साधारण सदस्यको जिम्मेवारीबाट समेत बाहिरिएको उनले बताए ।

नेता न्यौपानेले एमालेसँग अलग भएपछि पार्टी एकीकरणको मुद्दा उठाउँदै आएका  थिए । अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उनीमाथि स्पष्टीकरण सोधिएको थियो ।

उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १५:२१