६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

उजेली दिदीहरूको आशाः पर्यटक बढ्लान र गाउँले फर्केलान


२३ चैत, गण्डकी । माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ । उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जीप । उक्त घलेल गाउँ भने सुनसान जस्तै छ । माछापुच्छ्रे गाउँपालिका–८ र ९ मा पर्ने घलेल गाउँ पोखरा–बागलुङ राजमार्गको हेम्जाबाट करिब १७ किलोमिटर दूरीमा रहेको छ ।

पोखराको टुँडिखेलस्थित हरिचोकबाट हेम्जाहुँदै मर्दिपुल, खानेपानी, भेडाबारी, खोरामुख, लुम्ब्रे हुँदै करिब डेढ घन्टामा घलेल गाउँ पुग्न सकिन्छ । लुम्ब्रेसम्म बाटो कालोपत्र भइसकेको छ । गाउँमा चार सय घर भएकाले पहिला यो गाउँलाई ‘चार सय घलेल’ भन्ने गरिन्थ्योे । पछिल्लो समय शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहर पस्नेको सङ्ख्या बढ्न थालेपछि अहिले गाउँमा २० देखि २५ प्रतिशत मानिस मात्रै बस्ने गरेका छन् ।

मर्दी हिमाल जाने पदमार्ग यही गाउँ भएर जाने भएकाले पर्यटकीय सम्भावना देखेर यहाँका बासिन्दाले विसं २०६७ देखि घलेल सामुदायिक होमस्टे (घरवास) सञ्चालन गर्दै आएका हुन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याए पनि पर्यटकको अभावले गर्दा गाउँ पछि परेको होमस्टे (२ नं घर) की सञ्चालिका उजेली गुरुङले बताइन् ।

उजेली दिदीका नामले परिचित उनको घर गाउँको सिरानमा छ । उनले दुई कोठासहित चार खाट पर्यटककै लागि छुट्याईएकी छिन । खाटमा ओछ्याइएका सिरक, डसना तथा सोफा छन् । घरको मझेरीदेखि पिँढी, आगन सफा र चिटिक्क पारिएकोे छ । होमस्टेमा फाट्टफुट आउने पाहुनालाई सञ्चालक समितिको व्यवस्थाअनुसार घरघरमा बाँडेर राख्ने गरिएको उजेलीले बताईन । गाउँका नौ घरमा घरवास सञ्चालन गरिएको छ ।

उनले छिमेकी ल्वाङ गाउँ र घलेलमा सँगै घरवास सञ्चालनमा आएको बताईन । “सँगै घरवास सुरु भएको ल्वाङमा पर्यटकको आवागमन बढी छ । त्यहाँ त्यस्तो चहलपहल हुँदा यहाँ भने सुनसान छ”, उजेलीले गुनासो गरिन । गाउँमा अधिकांश दसवर्ष मुनिका र ४५ वर्ष माथिका नागरिक बढी छन् । युवा जनशक्तिको अभावका कारण पनि पर्यटकको आगमन बढाउन नसकिएको उनको भनाइ थियो ।

गाउँमा आउने पर्यटकले यामअनुसार लेकतिर हुने टुसादेखि निउरो, कोदो, मकै, फापरको ढिँडो रोटी आदिको स्वाद चाख्न पाउँछन् । एकै दिनमा ५० देखि ६० जनासम्म पर्यटकलाई राख्न सकिने यहाँका घरवासमा प्याकेजमा एक रातका लागि रू एक हजारमा खाजा, खाना र बासको व्यवस्था मिलाइएको छ ।

घरवासमा भित्रिएका पाहुनालाई बाजागाजाका साथ टीका र माला लगाएर स्वागत गर्दै बास बस्न घरघर पठाइन्छ । बेलुकाको बास र खाना छुट्याइएका घरमा व्यवस्था भए पनि स्थानीयवासीले पर्यटकको मागअनुसार बेलुका समाज घरमा सामूहिक विभिन्न साँस्कृतिक कार्यक्रम पनि देखाउने गर्दछन् । बिहान उठेपछि पाहुनालाई मकै, अण्डा, चियासहितको खाजा खुवाउने गरिन्छ । बिहान पर्यटक गाउँबाट झण्डै एक घण्टा ठाडो उकालो सिँढी उक्लेर महागुरु गुफा र बीचको तारे बराहसम्म हाइकिङमा जाने गर्दछन् ।

महागुरु गुफा र तारे बराह यहाँको धार्मिक तीर्थस्थल रहेको स्थानीय हितकाजी गुरुङले बताए । घलेल गाउँलाई धार्मिक पर्यटनसँग पनि जोड्ने उद्देश्यका साथ गुफा तथा बराह मन्दिरलाई थप व्यवस्थित गर्न गाउँपालिका र प्रदेश सरकारले चासो दिएको उनको भनाइ छ । “गुफालाई व्यवस्थित गर्न पालिकाले रू नौ लाख विनियोजन गरेको छ भने तारे बराह मन्दिरका लागि गण्डकी प्रदेश सरकारले रू १० लाख विनियोजन गरेको छ”, गुरुङले बताए । गुफा र मन्दिर निर्माण भइरहेको छ ।

मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा उक्त मन्दिरलाई लिइने उनले बताए । प्रत्येक वर्ष वैशाख पूर्णिमा र दशैँमा बलिपूजासहित यहाँ पूजा गरिन्छ । बराहले गाउँ र स्थानीयवासीलाई संरक्षण गरेको जनविश्वास छ । विगतमा पानी, बत्ती, सडकलगायत आधारभूत पूर्वाधारको समस्या रहे पनि अहिले भने सबै सुविधा गाउँघरमा पुगेका छन् ।

सूचना प्रविधिको बढ्दो विकाससँगै गाउँका घरमा इन्टरनेटको पहुँच पुगेको सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङले बताए । बसाइँसराइका कारण पनि गाउँमा युवावर्ग नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती देखिएको उनको भनाइ थियोे । “सँगै स्थापना भइ सञ्चालनमा आए पनि ल्वाङवासीलाई पर्यटक भित्राउन भ्याइनभ्याइ छ । यहाँको बाटोमा बस तथा जीप हेरेर टोलाउनु परेको छ”, उनको गुनासो थियो । गाउँ छोडेर बसाइँ सर्ने क्रम कम भएमा गाउँमा प्रचारप्रसार गर्न सकिने तथा पर्यटक पनि बढदै जाने उनले बताए ।

माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहरतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएकाले गाउँमा बालबालिका, वृद्धवृद्धा र आर्थिक अवस्था कमजोर भएका वर्ग मात्रै बसोबास गर्दै आएको बताए । घलेल चलचित्र छायाङ्कनका लागि पनि उपयुक्त गन्तव्य हुने भन्दै उहाँले प्रचारप्रसारको अभावमा यस गाउँले विकासमा अपेक्षित फड्को मार्न सकेको छैन भने ।

गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले घलेल हुँदै दैनिक करिब चार सयदेखि पाँच सय पर्यटक मर्दी हिमाल तथा खुमै पदयात्राका लागि जाने गरेपनि उनीलाई यहाँ बसाउन नसकिएको बताए । “मर्दी पदयात्रामा जाने पर्यटकलाई एक रात घलेलमा बस्ने वातावरण बनाउन सके यहाँको पर्यटन प्रवर्द्धन हुने थियो”, उनले भने, “यसको प्रचारप्रसारसँगै गाउँलाई चलचित्र छायाङ्कनको आकर्षक गन्तव्यका रूपमा पनि विकास गर्न सकिने सम्भावना छन् ।”

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १४:४७