१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेपाल प्रहरी र सनराइज बैंकबीच समझदारीपत्रमा हस्ताक्षर


२२ चैत, काठमाडाैं । नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान–प्रदान गरेका थिए ।

उक्त समझदारीपत्रमा नेपाल प्रहरीका तर्फबाट प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रबिनकुमार नेपालले हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताका लागि सनराइज बैंकलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम कारवाहीलगायत अन्य कल्याणकारी कार्यक्रममा सहजीकरण र सबलीकरण गर्ने प्रयासमा सनराइज बैंकले गरेको समन्वय प्रशंसनीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान–प्रदान हुने अपेक्षा लिइएको बताए ।

यसैगरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले नेपाल प्रहरीले आमनागरिकलाई सुरक्षित जिवनयापन र सुरक्षाको प्रत्याभूती दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताए ।

उक्त सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सनराइज बैंकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने शर्माले विश्वास व्यक्त गरे ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौं, सुनसरीको धरान, रौतहटको गरूडा, चितवनको शान्तिपुर, तनहुँको बेलचौतारा, दाङको घोराही, सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीस्थित आठ नेपाल पुलिस स्कुलहरुका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ विद्यार्थीलाई नौँ वर्षसम्मको अध्ययनका लागि छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ ।

छात्रवृत्ति कार्यक्रमबाट अमर/शहीद एवम् अशक्त प्रहरी कर्मचारीका सन्तति र वहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका सन्ततीमध्ये जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइने बताइएको छ । जेहेन्दार छात्र–छात्रालाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्चसमेत गरी एकमुष्ठ छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ ।

यसैगरी नेपाल पुलिस स्कुलको शैक्षिक शुल्क वृद्धि भएमा निर्धारित शुल्कको अधिकतम् १५ प्रतिशतसम्मको वृद्धि रकम सनराइज बैंकबाट प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १६:१०