७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विश्वकप छनोट खेल्ने ९ टोली तयः आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक टोलीको टुङ्गो लाग्न बाँकी


२२ चैत, काठमाडौं । जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागेको छ। आगामी जुन १८ तारिखबाट सुरु हुने विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् ।

श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर लिगबाट पुछारमा रहँदै सोझै विश्वकप खेल्ने अवसर गुमाएका छन् । यी चार टोलीले अब विश्वकप खेल्न छनोट प्रतियोगिता खेल्नु पर्नेछ ।

अब सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन् । सुपर लिगमा रहेका आयोजक भारतसहित शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाएका छन् । अब दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टोली सोझै विश्वकपमा पुग्दा एक टोलीले छनोट खेल्नु पर्नेछ ।

सुपर लिगमा नेदरल्यान्डसहित १२ टेस्ट राष्ट्र गरि १३,लिग टू मा ७ र विश्वकप छनोट प्लेअफमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । सुपर लिगमा दक्षिण अफ्रिका २१ खेलमा ९ मा जित र १० मा हारसहित ९८ अंकका साथ आठौं स्थानमा छ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंकका साथ ११ औं स्थानमा छ ।

आईसीसी विश्वकप लिग टू बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । छनोट प्लेअफबाट अमेरिका शीर्ष र युएई दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । युएईले आज जर्सीविरुद्ध खेल्दैछ सो खेल युएईले जितेमा अमेरिका र युएईको अंक समान ८/८ हुनेछ । हेड टु हेडमा अमेरिका युएईभन्दा अघि रहेकाले अमेरिका शीर्ष स्थानमा रहने छ ।

युएईलाई अमेरिकाले ५ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, लिग टू का शीर्ष तीन र छनोट प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोलीले खेल्नेछन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १४:०९