८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रुडेन्सियलसँगको मर्जर प्रक्रिया स्वीकृति गर्दै आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न


२२ चैत, काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको सभा आज चैत २२ गते बुधबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ। विशेष साधारणसभाले सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष हेमराज ढकालद्वारा राखिएको प्रुडेन्सियल इन्स्योरेन्ससँगको मर्जर प्रक्रियासम्बन्धी प्रस्ताव पारित भएकाे हो ।

सभामा अध्यक्ष ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्तापुँजीसम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरसम्बन्धी अन्तिम सम्झौता भई सोहीबमोजिम आजको विशेष साधारणसभा बोलाइएको जानकारी गराए।

अध्यक्ष ढकालले दुवै कम्पनीको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्र तथा डीडीए रिपोर्टसमेतका आधारमा सेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिएपश्चात बन्ने ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’को चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९ रुपैयाँ हुने र कम्पनी गाभिएपश्चात हुने कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतालाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा सञ्जाललगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु आपसमा गाभिने निर्णय गरिएको जानकारी गराए। नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे।

कम्पनीहरु गाभिएपश्चात बन्ने कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्तापुँजी ३ अर्ब २ करोड, शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने र व्यवसाय करिब ४ अर्ब हुने जानकारी अध्यक्ष ढकालले दिए। नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पुँजीका आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुनेसमेत उनले बताए।

संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ । जसले संस्थाको वित्तीय जग बलियो हुने, शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १३:५२