६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पाहुना आउँछन् जान्छन्, यहाँको विकास गर्नेलाई मत दिनुस्ः गोविन्द भट्टराई


२२ चैत, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमै हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि आफूले विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताएका छन् ।

डुम्रेमा चुनावी प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले पदमै नरहेर पनि जिल्लाको मिलुंंगदेखि धरमपानी अनि छिम्केश्वरीदेखि रुपाकोटसम्म विकासका काममा खटिरहेको भन्दै आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताए । उनले यहाँको माटो नै नचिनेका व्यक्तिहरु उम्मेदवारका रुपमा आएका भन्दै उनले उनीहरु छाडेर जाने भए पनि आफू भने यहीं विकासमा लागि पर्ने भन्दै आफूलाई मत दिन आग्रह गरे ।

कतिपय उम्मेदवार पैसा बाँडेर चुनाव जित्ने योजनामा रहेको भन्दै उनले सोधे पैसालाई भोट दिनुहुन्छ कि निष्ठानवानलाई ? आफूसँग जिल्लाको विकासदेखि राष्ट्रिय र अर्थतन्त्र बलियो बनाउने योजना रहेको उनले सुनाए । भट्टराइले आफूले पार्टीमा देखिएका समस्या समाधान गरेर सुधार गर्ने भन्दै भने, म घरको फोहोर सफा बनाएर राम्रो बनाएर बस्छु, अर्काको घरमा बास बस्न जाने काम गर्दिनँ ।

डुम्रेमा स्थापित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्रीय सभापति श्याम मौरती, स्थानीय नेताहरु रामचन्द्र अधिकारी, रेशम गुरुंग लगायत उपस्थित थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ०८:३८