१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

२८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै


२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ४ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुनेछ ।

९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १९ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ५३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज १६ गते परिपक्व हुनेछ । ३६४ दिनको लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत २० गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ११:१८