१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन अर्थमन्त्रीलाई उद्योग वाणिज्य महासंघको सुझाव


१९ चैत, काठमाडाैँ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले सिंहदरवारमा बधाई भेटवार्ता गरेको छ । डा. महत शुक्रवारमात्र देशको अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिए । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनि गरे ।

भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उनको थियो ।

सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले सो अवसरमा जोड दिए । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनको आग्रह थियो ।

नवनियुक्त अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १५:१२