१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बैंकप्रति लगानीकर्ता निराशः संस्थापक सेयर बेच्ने बढे, किन्ने भेटिनै मुस्किल


-प्रतिमा मुडभरी 

२० चैत, काठमाडौं । हाल संस्थापक सेयर बिक्री गर्नेहरुको संख्या बढ्दो छ ।  दैनिकजसो बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेका सूचनाहरू जारी गरिरहेका छन । संस्थापक सेयरधनीहरूले दिनहुँजसो आफ्नो नाममा रहेको लाखौं कित्तासम्म संस्थापक सेयर बिक्री खुला गरिदिन कम्पनीमा निवेदन दिएको हुनाले सेयरहरू बिक्रीमा ल्याएको भन्दै संस्थाहरूले सूचना जारी गरिरहेको देखिन्छ ।

संस्थापक सेयरधनी भनेका बैंकका वास्तविक लगानीकर्ताहरू हुन । तर पछिल्लो समय बैंक तथा बित्तिय संस्थाहरूको बारेमा भएका नाकारात्मक टिप्पणी र प्रतिफल कम हुने डरले उनीहरूले लगानी अन्तै सिफ्ट गर्न खोजेको देखिन्छ । बैंकका लगानीकर्तामा देखिएको निराशामा सम्बन्धित सरोकारवालाहरूले भने खासै चासो दिएको पाइदैन । बैंकका संस्थापक लगानीकर्तामा बैंकप्रति नै वितृष्णा देखिनुको मुख्य कारण भनेको लगानीकै जोखिम रहेको बैंक तथा वित्तिय संस्थाका जानकारहरू बताउँछन ।

बैंकले संस्थापक सेयर बिक्रीमा राख्छ तर पहिलो प्राथमिकतामा पर्ने संस्थापकहरू नै उक्त सेयर खरिदका निम्ति इच्छुक देखिदैनन् । पछिल्लो पटक संस्थापक सेयर बिक्रीमा राखेका संस्थाहरूको सेयर संस्थापकहरूले नै किनेको देखिदैन । दोस्रो बजारमा सहजै कारोबार गर्न नमिल्ने भएर पनि बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर किन्न उत्साह नदेखिएको बैंकका जानकाहरु बताउँछन् । संस्थापक  सेयर कागजी सम्पति मात्र रहेको कतिपय जानकाहरुको दाबी छ ।

राष्ट्र बैंकको नियम अनुसार संस्थापक सेयरधनीले पहिला विद्यमान संस्थापकलाई सेयर बिक्री खुला गर्नुपर्ने हुन्छ । उक्त सेयर तोकिएको समयभित्र बिक्री नभएमा पछि अन्य व्यक्तिले समेत खरिद गर्न मिल्ने गरी बिक्री खुला गरिन्छ । तर कसैले पनि निवेदन नदिए कम्पनीले गैर संस्थापक व्यक्तिलाई संस्थापक सेयर खरिद गर्न अनुमति दिन्छ । तर अहिले अन्य व्यक्तिले समेत उक्त सेयर खरिद गरेको देखिदैन ।

संंस्थापक सेयर किन्न लगानीकर्ता नभेटिएको विषयमा बैंकिङ विषयका विज्ञ ज्ञानेन्द्र अधिकारी बिक्री गर्नेको संख्या बढी भएकोले समस्या आएको बताउँछन । अधिकारी अहिले संस्थापक सेयर बिक्री गर्नेको संख्या बढ्नुको मुख्य तिन कारण रहेको बताउँछन ।

अधिकारी अनुसार हाम्रो देशमा अहिले आर्थिक रूपमा लगानी गर्ने अवस्था नरहेका कारणले लगानीकर्ताहरूले आफ्नो लगानी निकालेर बाहिरिन चाहेकाले पनि बढी मात्रामा संस्थापक सेयरहरू बिक्रीमा आएको बताउँछन । कतिपय लगानीकर्ताहरूले आफूले अरू कुनै ठाउँमा लगानी गर्नका लागि पनि संस्थापक सेयर बिक्री गरेर बाहिरिन खोजेको उनले बताए । उनले अन्त्यमा लगानीकर्ताले जोखिम बढी देखेर बैंकबाट बाहिरिएर अरू क्षेत्रमा लगानी गर्न पनि संस्थाकहरू सेयर बिक्रीमा लागेको बताए ।

संस्थापक सेयधनीहरू आफ्नो लगानी निकाल्न चाहिँरहेका छन्, नयाँ लगानीकर्ता भित्र छिर्न चाहिँरहेका छैनन् यसले गर्दा पनि अहिलेको अवस्था आएको अधिकारी बताउँछन । ‘अहिले लगानीयोग्य वातावरण नभएका कारणले कसैले पनि लगानी गर्न चाहिँरहेका छैनन्’, उनले भने ′अहिले बैंकमा पैसा राखेर ढुक्क हुने स्थिति नभएका कारण लगानीकर्ताले भएको पैसा पनि निकालेर घरमा नै राख्ने गरेकाले पनि यस्तो अवस्था आएको हो ।’

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ११:३३