१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ब्रम्हायणी र अप्पर ब्रम्हायणी जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित


१८ चैत, काठमाडाैँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा निर्माण हुने ब्रम्हायणी (३५.४७ मेगावाट) र अप्पर ब्रम्हायणी (१५.१५ मेगावाट) जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित भएको छ। इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले निर्माण गर्ने दुबै आयोजनामा सानिमा, सिद्धार्थ, कुमारी, लक्ष्मी, प्रभु बैंक र मञ्जुश्री फाइनान्सले ऋण लगानी गर्ने भएका हुन्। ति बैंक तथा वित्तीय संस्था र इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालबीच लगानी सम्झौतासम्बन्धि सहमति-पत्रमा हस्ताक्षर भएको छ।

ललितपुरको हिमालय होटलमा हिजो आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष भरतप्रसाद पराजुली र ति बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले सम्झौतासम्बन्धि सहमति-पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ब्रम्हायणी आयोजनामा सानिमाले २४.७८, सिद्धार्थले १८.५८, कुमारीले १५.०४, लक्ष्मीले १४.१६, प्रभुले १०.६२ र मञ्जुश्री फाइनान्सले ३.५४ प्रतिशत ऋण लगानी गर्न लागेका हुन्। यो आयोजनामा हाडड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले ८.८५ प्रतिशत लगानी गर्नेछ।

त्यस्तै, अप्पर ब्रम्हायणी आयोजनामा सानिमाले २४.७०, सिद्धार्थले २९.२९, कुमारीले १२.५५, लक्ष्मीले १२.५५ प्रभुले ८.३७ र मञ्जुश्री फाइनान्सले १.१८ प्रतिशत ऋण लगानी गर्ने छन्।

बैंक तथा वित्तीय संस्था र प्रवर्धकको सहित ब्रम्हायणीमा ७,३४०,११६,००० र अपर ब्रम्हायणीमा ३,१२४,१६२,००० रुपैयाँ लगानी हुनेछ।

दुबै आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ र प्रतिशत सेयरधनी प्रवर्धकले २५ प्रतिशत लगानी गर्नेछन्। आयोजनाबाट विद्युत उत्पादन भएपछि स्थानीय तथा सर्वसाधारणका लागि शेयर जारी गरिने इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिनुभयो।

हाल आयोजनास्थल पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ। अध्यक्ष पराजुलीले २०८२ कात्तिक मसान्तसम्म आयोजना सम्पन्न हुने लक्ष्य राखिएको जानकारी पनि दिनुभयो। दुबै आयोजनाबाट उत्पादित विद्युत जुगल गाउँपालिकामा निर्माणाधिन पाङताङ सव-स्टेशनमा जोडिनेछ।

दुबै आयोजनाको निर्माणपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अति विकट क्षेत्रका रुपमा परिचित तेम्बाथान, तेगा, दीपु र साङलिङलगायत ठाउँका स्थानीयको जीवनस्तरमा सुधार आउने इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालको अपेक्षा रहेको लगानी सम्झौता कार्यक्रममा अध्यक्ष पराजुलीले जानकारी दिनुभयो।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार २०:३६