१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पत्रकार महासंघ भ्रष्टाचारको दलदलमा, पारदर्शिता नभएपछि दातृ संस्थाको सहयोग रोकियो


-प्रतिमा मुडभरी

१७ चैत, काठमाडौँ । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । गलत नेतृत्वका कारण पत्रकार महासंघको अवस्था थप नाजुक बनेको हो । राजनीतिक दलका कार्यालयमा तयार हुने विज्ञप्ति महासंघको लेटरप्याडमा छापेर विवादित र बदनाम बनेको महासंघले श्रमजीवीको समस्यामा भने खासै ध्यान नदिएको भन्दै आलोचना भैरहेको छ । तीन लाखमा महासंघ नै बेचिएकोदेखि लेखनवृत्तिका नाममा लोगो बेचिएको विषयमा समेत महासंघको सार्वजनिक रूपमै आलोचना भैरहेको छ ।

सभामुख देवराज घिमिरेले नेपालका पत्रकार बिक्रीमा छन भन्ने कुरा गर्दा उक्त अभिव्यक्ति अस्वीकार गरेर विज्ञप्ति निकाल्ने महासंघले जर्मन राजदूतले नेपाली पत्रकार बेइजिङमा तयार भएको समाचार छापेर उतैको तलब खान्छन भन्ने आपत्तिजनक अभिव्यक्ति दिँदा भने चुँ पनि बोलेको छैन । यसको विषयमा पनि महासंघको नेतृत्वको चर्को आलोचना भैरहेको छ । यिनै आलोचनाकै बीच पत्रकार महासंघ भ्रष्टाचारको दलदलमा फसेको सूचना चुहिएको छ । अध्यक्ष विपुल पोखरेल र कोषाध्यक्ष कलेन्द्र सेजुवालका कारण महासंघ पछिल्लो समय वद्नाम बन्न पुगेको महासंघकै पदाधिकारीले चियापसलमा सुनाउन थालेका छन ।

पत्रकार विराट अनुपमले महासंघको बारेमा गरेको टिप्पणी ।

अनियमितताको आरोपमा अध्यक्ष पोखरेलमाथि कारबाही

महासंघका अध्यक्ष विपुल पोखरेलको प्रत्यक्ष संलग्नतामा ड्रिम हाइ नेपाललाई तीन लाखमा महासंघ नै बेचिएको घटनामा केन्द्रीय कमिटीले अध्यक्षमाथि नै कारबाही गर्यो । महासंघ तीन लाखमा बेचिएको घटनाको विषय नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष माधवप्रसाद तिवारीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै नेतृत्वमाथि गम्भीर प्रश्न गरेका थिए । त्यसपछि महासंघका केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, मणि दाहाल, विकास कार्की लगायतले नै अवार्ड बहिष्कार गर्दै महासंघका अध्यक्षमाथि कारबाहीको माग गरेका थिए ।

उनीहरूले कपिलवस्तुमा भएको पत्रकार महासंघको बैठकमा यही अनियमितताको विषय चर्को रूपमा उठाएपछि अध्यक्ष विपुल पोखरेललाई ढोका बाहिर राखेर वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा महासंघको केन्द्रीय समिति बैठक बसेर महासंघ बेचिएको घटनाका सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको थियो । पोखरेलको गलत काम छानविनका लागि गठन गरिएको उक्त समितिमा महासंघका पूर्व अध्यक्षहरू सुरेश आचार्य, ध्रमेन्द्र झा र शिव गाउँले सदस्य रहेका थिए ।

पत्रकार महासंघ बेचिएको र महासचिवको कीर्ते हस्ताक्षर गरेर चन्दा संकलन गरेर कुम्ल्याइएको विषय प्रमाणित गर्ने वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीको सामाजिक सञ्जालको टिप्पणी ।

तीन सदस्यीय उक्त समितिले अहिलेसम्म जिम्मेवारी तोकिएको पत्रसमेत नपाएको स्रोतले दैनिकीलाई जानकारी दिएको छ । यद्यपी अनियमितताको आरोपमा छानविनमा परेका अध्यक्ष विपुल पोखरेल जो स्वतः निलम्बित हुनपर्ने थियो उनैको अध्यक्षतामा फेरि महासंघको बैठकहरू धमाधम चलिरहेको छ ।अहिलेसम्म त्यस बैठकपछि भएको तीन वटा बैठकमा केन्द्रीय सदस्यहरूले छानविन समितिको प्रतिवेदन माग गरे पनि कसैले प्रतिवेदन त परै जाओस्, जवाफ समेत पाउन सकेका छैनन् । यस विषय कुनै फोरममा उठिहाल्यो भने छानविन समितिका एक जना सदस्य सुरेश आचार्य कार्यक्रमबाट फुत्त उठेर हिड्ने गरेका छन ।

केही दिनअघि महासंघकै एक विभागले केन्द्रीय कार्यालयमा गरेको अन्तरक्रियामा सो विषय उठेपछि आचार्य जवाफ दिनुपर्ने डरले फुत्त निस्केर हिडेँका थिए । छानविन समितिले अध्यक्ष पोखरेलमाथि अवार्ड प्रकरणमा महासंघका महासचिव रोशन पुरीको हस्ताक्षर कीर्ते गराइ अनियमितताका लागि सहयोग गरेको, प्रेस काउन्सिलमा अवैद्य सिफारिस गरेको लगायतका विषयमा गम्भीर अनुसन्धान गरेर प्रतिवेदन दिनुपर्ने हो तर समितिका सदस्यले अहिलेसम्म पत्र समेत नपाउनु लज्जाको विषय हो । विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार, अन्याय अत्याचार विरुद्ध कलम चलाउने पत्रकारहरूको नेता संगठनको नेतृत्व नै अनियिमितामा मुछिएपछि महासंघ थप वद्नाम बनेको छ ।

पारदर्शितामा प्रश्न उठाउँदै आइएफजेले रोक्यो साझेदारी कार्यक्रम

महासंघ भित्रको अनियमितताका कारण अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले नेपाल पत्रकार महासंघसँग साझेदारी गरेर वार्षिक रूपमा गर्दै आएको कार्यक्रम स्थगित गरेको छ । अन्तरिक लेखा परिक्षण नभएको भन्दै अनियमितताको आशंकामा आइएफजेले सन् २०२३ मा हुने सबै कार्यक्रम रद्द गरेको महासंघका एक पदाधिकारीले दैनिकीलाई जानकारी दिए । उसले इमेल मार्फत महासंघको नेतृत्वको गतिबिधि र आन्तरिक लेखा परीक्षण समेत नभएको विषयमा गम्भीर सवाल जवाफ गरिरहेको छ ।

यद्यपी यस विषय लुकाउन महासंघका पदाधिकारीले अनेक हत्कण्डा अपनाइरहेका छन । आइएफजेले सोधेको प्रश्न र अन्य संस्थाहरूले समेत परियोजना रद्द गरेको विषय बाहिर निस्कने डर र कोषाध्यक्ष सेजुवालसँगको विवादका कारण केही साताअघि महासंघको परियोजनाबारे अलि बढी जानकारी भएका एक कर्मचारी समेत निकालिएका छन । निकालिएका कर्मचारीसँग दैनिकीले प्रतिक्रियाका लागि सम्पर्क गरे पनि उनले फोन रिसिभ गरेनन् ।

सिएसम्यापको नाममा अमेरिकी दूतावसले दिने बजेटमा भारी कटौती

महासंघको नेतृत्वले नेपालमा बन्ने सञ्चार कानुनका बारेमा अबैधानिक ढंगले विदेशीदूत त्यसमा पनि अमेरिकी दूतावास र त्यसका कर्मचारीसँग सल्लाह र परामर्श गरिरहेको छ । यही बीचमा दूतावासले भने सिएसम्यापको नाममा दिने परियोजना अर्कै संस्थामा पुर्याएको छ । उसले समयमा कार्यक्रम नभएको, भुक्तानीमा पारदर्शिता नभएको लगायतको सवाल गम्भीर ढंगले उठाएको छ । दूतावासले महासंघलाई दिइरहेको कार्यक्रमको बजेट द एसिया फाउण्डेसनमा डाइभर्ट गरेको महासंघकै पदाधिकारी बताउँछन । महासंघको नेतृत्वले भने यस्तो विषयलाई अझै लुकाउन हरप्रयत्न गरिरहेको छ । द एशिया फाउण्डेसन समक्ष महासंघले परियोजनामा सहभागी गराउन अनुनयविनय गरे पनि उसले अस्वीकार गरेको छ ।

युरोपियन युनियनको बजेटमा पनि कटौती

नागरिक अधिकारको नाममा काम गर्न भनेर नेपाल पत्रकार महासंघलाई सहयोग गर्दै आएको युरोपियन युनियनले पनि बजेट कटौती गरेको छ । उसले पनि पारदर्शिता र लेखा परीक्षणमा प्रश्न उठाउँदै बजेट कटौती गरेको महासंघका नेताहरूले बताएका छन । युरोपियन युनियनले पनि समयमा कार्यक्रम नभएको, २५० थान बुकलेट छापेर ५०० थानको बिल बनाएको, पत्रकारका लागि दिइएको फेलोसिप सम्बन्धितसम्म प्रभावकारी ढंगले नपुर्याएको विषय गम्भीर ढंगले उठाएको स्राेतले जनाएको छ ।

आइफेक्स सदस्यता निलम्बन

नेपाल पत्रकार महासंघले समयमै लेबी नतिरेको भन्दै आइफेक्सले सदस्यता निलम्बन गरेको छ । महासंघ पनि आइफेक्सको सदस्य संस्था हो । आइफेक्स भनेको स्वतन्त्र गैर-सरकारी संस्थाहरूको विश्वव्यापी नेटवर्क हो जसले मानव अधिकारको रूपमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्न स्थानीय, राष्ट्रिय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय रमा काम गर्ने गरेको छ ।

कमजोरी भएका छन छुट्टै फोरममा छलफल हुन्छः अध्यक्ष पोखरेल

महासंघ अध्यक्षले यी समग्र विषयमा पत्रकार महासंघ र नेतृत्वको हिसाबमा आफ्नो कमजोरी भएको स्वीकार गर्दै यस विषयमा छुट्टै फोरममा छलफल गर्ने बताएका छन । केहीदिनअघि महासंघको केन्द्रीय कार्यालयमा भएको प्राज्ञिक विभागको कार्यक्रममा पत्रकारिता विकास समाजका अध्यक्ष तिवारीले उठाएको प्रश्नमा उनले कमजोरीका बारेमा जवाफ दिने यो उपयुक्त फोरम नभएको भन्दै अर्को फोरममा छलफल गर्ने बताए । यद्यपी उनले त्यो फोरक कुन र कस्तो हुने भन्ने केही खुलाएनन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार २२:४८