८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आन्तरिक पर्यटन मजबुद बनाउन पूर्वाधार विकास गरौँ


अहिले नेपालको अर्थतन्त्र शिथिल अवस्थामा रहेको छ । यसको प्रभावका कारण सबैजसो व्यवसायमा एक प्रकारले संकट उत्पन्न भई व्यवसाय र लगानी दुवै पलायनको खतरा समेत बढेको छ । बैंक तथा वित्तीय संस्थाले एकोहोरो रुपमा ब्याजदरमा वृद्धि गरेर ऋण असुलीका लागि भन्दा बढी ताकेता गर्दा कतिपय व्यवसायी आत्महत्या गर्न बाध्य भएका खबरहरु समेत आइरहेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदरको सबैभन्दा बढी मारमा होटल व्यावसय परेका गुनासोहरु सुनिएका छन् । होटल व्यावसायका समस्या, नेपालमा पर्यटन उद्योगको सम्भावना र आन्तरिक पर्यटन प्रवर्द्धनमा के गर्न सकिन्छ भनेर दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारीले बुढानीलकण्ठ पर्यटन बोर्डका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी अर्जुन पाण्डेसँग गरेको प्रश्नोत्तरको सम्पादित अंशः

आजका दिनमा अर्थतन्त्रमा जसरी मन्दी देखिएको छ र यसले सबैभन्दा बढी मारमा होटल व्यवसाय छन् भन्ने सुनिन्छ । खास कुरा के हो ?

अर्थतन्त्रबाट मारमा परेको होटल व्यवसाय पनि हो तर होटल व्यवसाय मात्र होइन, समग्र पर्यटन क्षेत्र नै परेको छ । कोभिड १९ को समयमा जब प्रकोप सुरु भयो, जब लकडाउन भयो त्यो लकडाउनपछिका दिनदेखि यो पर्यटन क्षेत्र राम्ररी उठ्न सकेको छैन । होटलहरु बन्द हुने, ट्राभल एजेन्सीहरु बन्द हुने, ट्रान्सपोर्टका संस्थाहरु बन्द हुने आदि कारणले गर्दा पर्यटन क्षेत्र तहसनहसै भयो ।
गत दशैंदेखि यता विस्तारै यस व्यवसायले लय लिन थालेको छ । अझै यो फुलफेजमा गैसकेको छैन । अहिलेको आँकलन अनुसार समग्र पर्यटन व्यवसाय तीसदेखि चालसि प्रतिशतको हाराहारीमा अगाडि बढिरहेको छ । यसले फुलस्वीङ लिन अझै सकिरहेको छैन ।

होटल व्यवसायमा गेष्ट नआएर समस्या हो कि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर त्यसको दबाबमा परेको समस्या भएको हो ?

हाम्रो व्यवसायबाटै पैसा लिएर त्यही पैसा व्यवसायमै खर्च हुन्छ । कर्मचारीलाई त्यहीँबाट तलब दिइन्छ, बैकलाई दिने ब्याज त्यहीबाट दिइन्छ, अन्य खर्चहरु त्यहीबाट हुन्छ । यसमा पर्यटक भन्ने नै नभए पछि र अकुपेन्सी नै नभएपछि हाम्रो त आम्दानी नै हुँदैन । आम्दानी नै नभएपछि कर्मचारी कटौटी गर्ने, व्यवसाय बन्द गर्नुपर्ने अवस्था भयो । अझै बैंकको ब्याज तिर्नुपयो । बैंकको ब्याज त निरन्तर चलिरहन्छ । यसमा हामीलाई कुनै राहात पनि छैन अरु कुनै व्यवस्था पनि छैन । बैंकको ब्याज लाई अलिकति पर सार्ने रिसेड्युअलको काम चाहीँ भएको छ । यो समस्यालाई देखेर सरकारले राहतको कुरा गरेको त छ तर खासै राहात आइसकेको छैन ।

युएनडिपिको प्रोजेक्ट लिएर पर्यटन बोर्डले नै पर्यटन मजदुर, पर्यटन व्यवसाय सहभागी गरेर पर्यटन पुनःउत्थान कार्यक्रम गर्दा यस्तो खालको कार्यक्रमले तपाईहरुलाई केही पनि भएन ?

त्यो कार्यक्रम धेरै सानो हो । त्यो कार्यक्रम काठमाडौँको टोखा नगरपालिकामा पनि आएको थियो । त्यो काम पन्ध्र दिनको सिमित काम थियो । होटल व्यवसायमा संलग्न भएका कर्मचारीहरु जबलेस अवस्थामा रहँदा उनीहरुलाई पनि हुने र पर्यटन पूर्वाधारहरु बढाउने, कुनै ठाउँमा सिँढीहरु बनाउने, कुनै ठाउँमा मन्दिरहरु सफा गर्ने यो खालका कार्यक्रमहरु भएको तर त्यो पन्ध्र दिनको भएको थियो । एउटा क्षेत्रमा पन्ध्र दिनको प्रोगाम त्यो पनि सबै क्षेत्रमा सबैलाई भएन । त्यो प्रोग्राम सानो थियो र राम्रो पनि थियो । त्यस्तो प्रोग्रामहरु लार्ज स्केलमा भए हामी सँगै हाम्रो स्टाफहरु जो अहिले जबलेसको अवस्थामा छन् उनीहरुलाई पनि राम्रो हुन्थ्यो ।

तत्काल होटल व्यवसायमा राहात दिनका लागि होटल बन्द हुनबाट बचाउनका लागि गर्नुपर्ने के के हो त ?

यस्तो छ, हाम्रो नजरमा पर्यटन भन्ने बित्तिकै विदेशी ल्याउने, उनीहरुलाई घुमाउने अनि पैसा लिने भन्ने बुझिन्छ । यही कुरा हामीले बुझ्यौं । जब यो पेन्डामिक भयो त्यसपछि विदेशीहरु आउन ठ्याप्पै बन्द भयो । पर्यटक बन्द भयो तर हाम्रो होटल व्यवसाय त बन्द भएको छैन । यातायात बन्द भएको छैन । त्यो चलायमान गर्नको लागि पनि आन्तरिक पर्यटक चलायमान गर्नै पर्छ । यसको मुल सोलुसोन भनेको आन्तरिक पर्यटक प्रवद्र्धन नै हो । यो आन्तरिक पर्यटक प्रवद्र्धन गर्नको लागि पनि धेरै कुराहरु मिलाउनुपर्छ । जस्तै आथिक मन्दी भयो । त्यसमा पनि राज्यले राहत दिन सक्छ । विदेशमा हामीले देख्छौं राज्यले नागरिकहरुलाई कुपनहरु बाँड्छ । कतै अनिवार्य ट्राभल गर भनेर कुपन बाँडेको छ । हामीलाई पनि कतै न कतै त्यस्तो प्याकेजहरु भैदियो भने नेपालीहरुलाई आन्तरिक पर्यटनमा समावेश गर्यो भने नेपाली पर्यटक पनि चलायमान हुन्छ । हामी पनि बाँच्छौं । र नेपालीहरुले पनि एक ठाउँबाट अर्को ठाउँ जाँदा केही ज्ञानहरु प्राप्त गर्थे । यस्ता धेरै कुराहरु गर्नको लागि पनि आन्तरिक पर्यटकहरु बढाउनैपर्छ । आन्तरिक पर्यटक बढाउनको लागि हामीले भन्ने गरेको छौं, हप्तामा दुई दिन बिदा दिउँ र सक्छ भने सरकारले कर्मचारीहरुलाई वर्षमा एकैचोटी एकहप्ता जति घुम्न जाने व्यवस्था मिलाइदेओयोस् । हप्ताको दुई दिन छुट्टी दिने कुरा सुरु भएको हो । तर राज्यले त्यसलाई निरन्तरता दिन सकेन । तर त्यो गरिदिएको भए अलिकति चलायमान हुन्थ्यो ।

आजको दिनमा हजारौं नेपालीहरु थाइल्याण्ड, सिङ्गापुर, मलेसिया, कम्बोडिया जस्ता देशहरुमा भिजिट भिसामा प्याकेजमा घुम्न गइराखेका छन् । उनीहरुलाई आन्तरिक पर्यटक बनाउने हो कि वा विदेशको जस्तो वातावरण यहाँ बनाउने हो ?

पर्यटनको विकास भनेको देशकै विकास हो । जस्तो मलाई रोल्पा, डोल्पा वा देशको अरु विभिन्न ठाउँमा घुम्न जान मन छ । त्यो ठाउँमा विकासका पूर्वधारहरु अत्यन्तै कमजोर छन् । आज पनि धेरै व्यक्तिहरु घुम्न जान चाहन्छन् । पूर्वाधारहरु कमजोर भए पनि गइरहेका छन् । कोही मलेसिया, थाइल्यान्ड गइरहेका छन् । उनीहरु नयाँ टेस्ट लिनको लागि पनि गइरहेको छन् । र नेपालमा आन्तरिक पर्यटनलाई चलायमान गर्ने हो भने पूर्वाधारहरुलाई विकास गर्नुपर्ने हुन्छ । जस्तो भनौं काठमाडौंबाट सौराहासम्म एक सय पैंतालिस किलो मिटरको दूरी पर्छ । सौराहासम्म पुग्नको लागि छ, सात घण्टा लाग्छ । यदि २÷३ घण्टामा पुग्ने भएको भए सजिलैसँग हाम्रा देशमा नागरिक आवतजावत गर्न सक्थे । यसबाट मूलत देशका विकासका साथै पर्यटनको विकास पनि हुन्थ्योे ।

यो गन्तव्यको आधारमा जसरी तपाईँले विदेशी पर्यटकलाई ल्याउनुभयो, त्यसैगरी प्याकेज बनाएर स्वदेशी पर्यटकलाई तान्न सक्नुहुन्न ?

त्यसरी प्याकेज सिर्जना गर्न सकिन्छ र गरिरहेका पनि छौं । अहिलेको अवस्था फरक छ । आजभन्दा बीस वर्ष अगाडी होमस्टे भनेको थाहा नै थिएन । आजको समयमा विभिन्न जिल्लामा होमस्टेको कन्सेप्ट छ । आन्तरिक पर्यटकहरु त्यो होमस्टेमा बसेका छन् । प्रतिस्पर्धाको रुपमा होटलभन्दा होमस्टे राम्रो छ । सामान्यतः होमस्टेमा जानेहरुसँग कुरा गर्ने एउटा राम्रो वातावरण बनेको छ । देशको विभिन्न ठाउँमा जाँदा फरक कल्चरहरु हुन्छन् । त्यो फरक कल्चरहरुमा घुलमिल हुन्छन् । नयाँ कुराहरु थाहा पाउँछन् । अहिले त्यस्तो ठाउँहरुमा हेर्नुहुन्छ भने पर्यटकहरु एकदमै धेरै छन् । तर त्यतिले पर्याप्त हुँदैन । यसमा हामीले समयमै विचार पुर्याउनु पर्छ ।

नेपाली होटलहरुमा विभिन्न समस्याहरु हुन्छन्, जसकारण नेपाली पर्यटक विदेश जान्छन् त्यसकारण उनीहरुले यहाँ खर्च गर्ने अर्बौं पैसा विदेशमा खर्च गर्छन् । त्यस्ता समस्या हटाउने हो भने वर्षेनी बाहिर जाने पैसा नेपालमै बस्छ होइन र ?

यसमा म सहमत छैन । किन छैन भन्दा यस्तो समस्याले पर्यटकहरु बाहिर गएको मलाई थाहा छैन । कुनै होटल व्यवसायले गेष्टको विवरण लिनु स्वभाविक कुरा हो । त्यो उसले गर्नै पर्छ । त्यसमा उसको सेक्युरिटिको कुरा हुन्छ । पेमेन्टको कुराहरु हुन्छ । धेरै कुराहरुले गर्दा त्यो अनिवार्य गर्नै पर्छ । अरु झमेलाहरु अरु देशमा भन्दा नेपाल मै कम छ जस्तो मलाई लाग्छ । होटल व्यवसायीहरुले होटलमा चेक इन र चेक आउट सहज बनाएको छ जस्तो मलाई लाग्छ । जस्तो तपाईँ मलेसियाको होटलमा जानुभयो भने होटलबाट चेक आउट गरेर सकुसल निस्किन कति गाह्रो छ जबकि नेपालमा त्यस्तो छैन । त्यसकारण सहजताको हिसाबले नेपालकै होटलहरु सजिलो जस्तो मलाई लाग्छ ।

अहिले चितवनको सौराहाको होटल व्यवसायको अवस्था कस्तो छ ?

गत वर्ष नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन त्यहाँ भएको हुनाले एक महिना जति राम्रो चहलपहल भयो र महाधिवेशनको एक दुई हप्ता जति सबै होटलहरु प्याक भए । त्यसले खडेरीमा पानी परेको जस्तो फिल हामीले गर्यौ । किनभने त्यो पेण्डामिकको अवस्था थियो । र त्यो जिरो अवस्था पनि थियो । जिरो अवस्थामा राहत जस्तो भएको थियो । त्यो समयमा धेरै मान्छेहरुमा सौराहाको धेरै प्रचारप्रसार भयो । अनन्तरिक पर्यटकको लागि एकदम राम्रो माइलेज दियो । अरु पनि साना तिना सभा सम्मेलनहरु हुने गरेका छन् । प्रायः सबै होटलहरुले एउटा एउटा होटलमा सभा सममेलनहरु राखिरहेका छन् । चितवनमा आउँदा पूर्व पश्चिम जताबाट पनि बाटो पर्ने भएकोले सभा सम्मेलन सौराहामा बढी भइरहेको छ । राज्यले पनि एउटा ठूलो हल बनाइरहेको छ । यी कुराहरुले आन्तरिक पर्यटकहरुको प्रचार भैरहेको छ ।

तीन तहको सरकारले ठूलो रकम पर्यटनका लागि भनेर पहिचान र प्रवद्र्धन भनेर खर्च गरिरहेको छ । तर यसको सदुपयोग भएको छ ?

तपाईँले एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो । हामी पनि त्यही चाहन्थौं । तीन तहको सरकारले पर्यटनलाई फोकस गरेर लाग्ने हो भने हामी निकै माथि उठ्न सक्थौं । पर्यटन एउटा यस्तो व्यवसाय हो । जहाँ यातायातको मान्छे जोडिन्छ, जहाँ कृषिको मान्छे जोडिन्छ, जहाँ डेरीको मान्छे जोडिन्छ । त्यहाँ सबै क्षेत्रका मान्छेहरु हुन्छन् । तीन तहको सरकारले पर्यटन क्षेत्रमा अझ बढी ठोस प्रोगाम गर्दिए राम्रो हुन्छ । अलिअलि गर्न खोजेको जस्तो पनि देखिन्छ । तर सम्बन्धित सेन्टरहरुसँग मिलेर गर्नु पर्ने ठोस प्रोगामहरु गर्दिए अझ फलदायी हुन्थ्यो तर यहाँ सरकारसँग बजेट छ तर उनीहरुको सोचाइ अनुसारको अलिअलि प्रोगामहरु भैराछ । जस्तै सौराहामा बाटो बनाउने भनेर बाटो बनाइएको छ । त्यो बाटो अप्ठारो किसिमले हिड्न नमिल्ने किसिमले बनाएको छ । अब त्यो स्थानीय निकायसँग पनि समन्वय छैन, हामी होटल व्यवसायीहरुसँग पनि समन्वय छैन, यो कहाँबाट भैरहेको छ भन्ने पनि थाहा छैन । एउटा टिम आएर काम गरिरहेको छ । त्यसले गर्दा सरकारको खर्च भैरहेको छ । पानी पर्दा हिड्न नसकेर समस्या भैरहेको छ । यसले गर्दा तीन तहको सरकारको समन्यव नहुँदा जनता मारमा परिराछन् । खासमा त्यहाँको स्थानीय स्टेकहोल्डहरुसँग बसेर सल्लहा गरेर काम सुरु गर्नुपथ्र्यो । तर उनीहरुले आफैँ गरेको हुनाले पुरानै तरिकाले काम भैरहेको छ । जसले गर्दा जनताले जति सुविधा पाउनुपर्ने थियो त्यो भैरहेको छैन । त्यो बाटो बनिसकेपछि राम्रो होला तर अहिलेको अवस्था हेर्दा राम्रो देखिएन ।

बाहिरबाट हेर्दा सौराहा पर्यटनको हब भन्ने छ । त्यहाँको हस्पिटालिटी र सरसफाइमा के सुधार गर्नुपर्ने छ ?

यसमा हामीले भेरै कुराहरु सुधार्नुपर्ने देखेको छौं । वेस्ट म्यानेजमेन्टको धेरै मोडेलहरु छन् । त्यो वेस्ट म्यानेजमेन्टको समस्या विश्वभर छ । जहाँ जहाँ अगनाइजेसन छ । जहाँ विकास भैरहेको छ त्याहाँ झनै धेरै समस्याहरु छ । र त्यो समस्या सौराहामा पनि विस्तारै भैरहेको छ । त्यसमा एक किसिमले सानो सानो संस्थाहरुले एक किसिमले काम गरिरा छन । तर त्यो सौराहाको ठूलो प्रोगाम हुन सकेको भए सौराहा मात्र होइन त्यो पुरै रत्ननगर नगरपालिकाको लागि राम्रो हुन्थ्यो । त्यो जरुरी पनि छ । र सौराहामा अर्को कमी भनेको सौराहामा इफिसेन्ट म्यानपावरको कमी छ । किन कमी छ भने त्यो सहरबाट अलि टाढा पनि छ । त्यसले गर्दा त्यहाँ डाइभर्स किसिमको अवसरहरु पनि छैन । थोरै मान्छेहरु मात्र त्यहाँ जान्छन् । स्थानीय मान्छेहरुमा धेरै स्किलहरु डेवलपहरु भैसकेको छैन र त्यहाँको असी प्रतिशत स्टाफहरु लोकल छन् । त्यसकारण हामीले भने जतिको क्वालिटी ल्याउन सकेका छैनौ । तर हामी र सरकारले यो क्षेत्रमा काम गर्न अझै धेरै बाँकी छ ।

अहिले कति त्यहाँ होटलमा कतिजनाले रोजगार पाएका छन् ?

अहिले हामीसँग एक सय दश एघार जति होटलहरु छन् । प्रत्येक होटलमा तीस देखि साठी जनासम्म स्टाफहरु छन् ।

जसरी हामीले गन्तव्यहरुको पहिचान गरेर अगाडी बढ्नुपर्ने हो त्यो हुन नसक्नुको कारण के हो ?

हामीहरुको देशमा गन्तव्यको कमी छैन । जुन ठाउँ हेर्यो त्यही नै सुन्दर छ । गन्तव्यको कुरा गर्नै पर्दैन । गन्तव्य नै गन्तव्य छ । तर गन्तव्य मात्र भएर हुँदैन । त्यहाँ जाने माध्यम चाहियो । त्यहाँ गएर बस्ने ठाउँ चाहियो । बस्नको लागि पनि खलि सुविधा भएको ठाउँ होटल, रिसोर्टहरु चाहियो । विदेशमा एउटा सानो ठाउँलाई विकास गरेर राम्रो बनाइएको छ भने हामी सँग त्यस्ता हजारौं ठाउँहरु छन । जस्तै हामीले काठमाडौंलाई हेर्यो भने काठमाडौंको वरिपरी डाँडाको बिचमा खली जग्गाहरु धेरै छन् । त्यो जग्गाहरु अलिअलि नेपाल सरकारको नाममा होला अरु यस्तो व्यक्तिगत मान्छेको नाममा छ, जसले न अरुलाई बेच्दैन । आफु पनि प्रयोग गर्दैन । यदि विदेशको मोडल हेर्ने हो भने राज्यले एउटा एरिया तोक्दिन्छ । यस्तो किसिमको यस्तो मोडेलमा होटल बनाउ भन्छ । पचास वर्ष, साठी वर्षको लागि बनाउ भन्छ । पूर्वाधारहरु राज्यले बनाइदिन्छ अनि व्यवसायीहरु जान्छन् होटल बनाउँछौ । त्यो मोडेल हाम्रो सरकारले कहिले लागू गरेको छैन । जस्तो धरानको कुरा गरौँ, त्यहाँ जे जति भएको छ । त्यहाँको जनताले गरेर भएको हो । त्यो भन्दामाथि डाँडाहरु पनि छन् । त्यो ठाउँमा चाहीँ सरकारले बनाइदिएको भए त्यहाँ होटल व्यवसायीहरु पनि जान्थे । अब नुवाकोटको सूइरेचौरलाई हेर्नुस् शिवपुरीको डाँडामा पर्छ । त्यहाँबाट उता लाङटाङ देखिन्छ । उता अन्नपूर्ण देखिन्छ । त्यस्तो ठाउँलाई झन्डै झन्डै नगरकोटको रुपमा विकास गर्न सकिन्छ । त्यो जग्गा कस्को त भन्दा त्यहीँका राजनितिक तहका मान्छेको छ । उनीहरुले पनि त्यो ठाउमा केही गर्दैनन् । अरु मान्छे पनि त्यहाँ गएर त्यत्रो जग्गा किनेर बस्न सक्दैनन् । यदि राज्यले तिमीले यो ठाउँमा यसरी गर भनेको भए त्यो दोस्रो नगरकोट हुन्थ्यो । नगरकोटभन्दा छिटो पुग्न सकिन्छ । ककनी पनि एउटा राम्रो ठाउँ हो । यतिकै बिग्रेर गइराछ । यस्ता धेरै ठाउँहरु छन् । यस्ता ठाउँहरुमा हामी पूर्वाधरकै कारणले पछि परिराछौं ।

बुढानीलकण्ठमा तपाईँहरुले नयाँ ढंगले पर्यटन व्यवसाय गर्दै हुनुहुन्छ के फरक छ पहिले र अहिलेमा ?

हुन त प्रत्येक नगरपालिककाहरुले कृषि विकास समिति, शिक्षा विकास समिति र पर्यटन विकास समिति बनाईराखेका छन् । अझै यसलाई हामी गहन तरिकाले लैजाने आज भन्दा चार, पाँच वर्ष अगाडिको सोच हो । बुढानीलकण्ठभित्र झण्डै चालिस पचास वटा होटलहरु छन् । अझै पनि ठूलो ठूलो रिर्सोटहरु बन्दै छन । महानगरपाकिा पछि धेरै होटल रिसोर्ट बुढानीलकण्ठ नगरपालिमा हुने देखिन्छ । बुढानीलकण्ठ आफैंमा महत्वपूर्ण छ । एउटा नारायणको मन्दिर, अर्को शिवपुरीडाँडा त्यो हिसाबले अहिले आन्तरिक पर्यटकको व्यापक चहलपहल बढिरहेको छ । यसलाई व्यवस्थित र निरन्तरता गर्न स्थानीय जनताले पनि केही गर्नुपर्छ भन्ने सोच राखेर एउटा नगरपालिका अन्तर्गत रहेर नगरपालिकाको एउटा पर्यटन बोर्ड बनाउँ भनेर बनाएका छौं । त्यहाँ विभिन्न पर्यटनका विज्ञहरु, जनप्रतिनिधिहरु र व्यवसायीहरु सबैको एउटा टिम छ त्यो टिमले पर्यटन क्षेत्रभित्र पर्यटनको लागि केही गर्नुपर्ने हो त्यो गर्छन् । नियमहरुमा केही परिवर्तन गर्नुपर्ने हो कि, नीतिगत रुपमा मात्रै काम गर्न सकिन्छ कि । अरु काम गर्न किन सकिदैँन भने हामी छुट्टै बजेट भएको संस्था होइन । हामी जे गछौं नगरपालिका कै माध्यमबाट गछौं ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १३:०९