१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ


१५ चैत, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताउनुभएको छ ।

प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले एक÷दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताउनुभयो । महासचिव गुरुङले स्वास्थ्य, शिक्षा, रोजगार, आवासजस्ता जनताका मौलिक हक अधिकार पूरा गर्नुपर्ने दायित्व राज्यको भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “मौलिक हकको कार्यान्वयनका लागि मुद्दामा समानता हुने दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्ने गरी मोर्चाबन्दी गरेका छौँ । वर्तमान सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने गरी सरकारले काम गर्छ ।” महासचिव गुरुङले सहमति र सहकार्यको मोडलमा जानुपर्दछ भन्ने देशभक्त र राष्ट्रवादी शक्तिहरुको कार्यनीति रहेपनि साम्राज्यवादीले राष्ट्रिय सहमति हुन नदिने गरेको बताउनुभयो ।

“देशभक्त र राष्ट्रवादीको कार्यनीति सहमति र सहकार्य रहेको छ तर साम्राज्यवादी राष्ट्रिय सहमति हुन नदिने र एक दलले अर्को दललाई विस्थापित गर्ने नीतिका साथ अघि बढेका छन्, सत्ता पक्ष र विपक्षमा लैजान खोजिएको छ”, गुरुङले भन्नुभयो ।

माओवादी केन्द्रले राष्ट्रिय राजनीतिमा सहकार्यको नीति लिएको र मतभेद भए पनि सहमति भएको कुरा लागू गर्ने र मतभेद भएको थाति राख्ने गरी अघि बढेको उहाँले उल्लेख गर्नुभयो । महासचिव गुरुङले स्वास्थ्यको हक जनताको मौलिक हक रहेकाले निःशुल्क स्वास्थ्य उपचार सेवाको विस्तारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य यशोशदा सुवेदी, पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य विभागका फ्याक्सन इन्चार्ज कल्पना धमला, माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव अर्याल, प्रगतिशील चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा कृष्णसागर शर्मा, केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या विभागका सदस्य डा गुणराज लोहनी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा वुद्धिबहादुर थापा लगायतले चिकित्सकको हक अधिकारसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १९:२०