१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

‘पार्टीभित्रको अन्यायबारे बोल्नुपर्छ तर फुटमा लाग्नु हुँदैन’


नेपाली पत्रकारिताका भीष्पपितामह भनेर चिनिने वरिष्ठ पत्रकार गोपाल थपलिया स्वास्थ्यमा देखिएको समस्यापछि पछिल्लो समय आराम गरेर घरमै बसेका छन । केही बाहेक सार्वजनिक कार्यक्रममा समेत खासै देखिदैनन् । २०२१ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका थपलिया २०३८ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएका छन । तत्कालीन कम्युनिष्ट पार्टी हालको एमालेको प्रचार संगठनको बलियो खम्बाकाे रूपमा काम गरेका थपलिया आफूलाई पत्रकार भन्दा बढी राजनीतिक कार्यकर्ता भन्न रूचाउछन । थपलिया पछिल्लो समय साहित्यका विभिन्न आयाममा पनि जोडिएका छन । उनले देशको अवस्था चित्रण हुनेगरी गीतहरू समेत लेखिरहेका छन । पत्रकारिताको माध्यमबाट कम्युनिष्ट राजनीति गरेका थपलियासँग दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारीले पत्रकारिता, राजनीति र साहित्यका बारेमा केही प्रश्न गरेका छन । प्रस्तुत छ थपलियासँगको प्रश्नोत्तरको सम्मादित अंशः

तपाईँ २०२१ सालदेखि कम्युष्टि आन्दोलनमा लागेर २०२३ सालमा तत्कालीन कम्युनिष्ट पार्टी दोलखाको संस्थापक सचिव हुँदै पञ्चायतकालमा पत्रकारिताका माध्यमबाट आम जनताका आवाज बन्नुभएको छ । खासमा राजनीतिक जागरणका थालनी दिनहरु सम्झनुपर्दा कसरी सम्झनुहुन्छ ?

वास्तवमा कतिलाई काटेर त्यहीँ मारे पनि अन्यायको महसुुस हुँदैन । जब जागरण आउँछ, अन्याय गलत हो भनेर मानिसले त्यसको विरुद्धमा लाग्नुपर्छ भन्ने भित्री तनमनदेखि थाहा पाउँछ । जब त्यो परिस्थिति, त्यो विचार जागृत भएर आउँछ तब तपाई चुप बस्न सक्नु हुन्न । अन्याय सहेर बाँच्नुभन्दा अन्यायविरुद्ध लडेर बाँच्नुपर्छ । धार्मिक मान्यतालाई बढी विश्वास गरिने त्यसबेलाको स्थिति थियो । मानिसहरु त्यही संस्कारमा हुर्केका थिए । त्यसबेला दोलखाको सुक्ष्पाक्षमावती माविमा २०२१ सालमा शिक्षक भएर मेघनाथ लम्साल जानुभयो । मेघनाथ सर गएको एक वर्षपछि अर्का एकजना राजनीतिकक कार्यकर्ता बुलन्द भन्ने साथी राजनीतिक संगठन गर्न गएका थिए । उहाँहरुले यस्तो तर्क गर्नुहुन्थ्यो—धनी भनेको को हो ? ठूलाबडा भनेको के हो ? बहस गर्नुहुन्थ्यो । जब धनी धनी मिल्छन् । गरिबलाई माइनस गर्छन् भन्नुहुन्थ्यो । माइनस माइनस ऋणात्मक हुन्छ । माइनस इन्टु माइनस प्लस हुन्छ । गरिब गरिब एक भयो भने त्यो प्लस हुन्छ । गरिब गरिब प्लस भयो भने त्यो धनी हुन्छ । त्यसैले अर्कालाई ठगेर खाने, जसले अरुको परिश्रम खान्छ त्यसलाई बाठो भनिन्छ । जसले धेरै कमाउँछ त्यो बाठा होे । जसले चाकरी, चाप्लुसी गरेर जसरी पैसा कमाउँछ त्यो बाठो हो भनिन्थ्यो । यस्तो किसिमको संस्कार, संस्कृति अहिले पनि पाइन्छ ।
उहाँको कुराहरु सुन्दा हामी अन्धविश्वासमा जकडिएका रहेछौँ भन्ने थाहा भयो । चलिआएको धर्म शोषकहरुका लागि रहेछ, गरीबका लागि रहनेछ, यो वैज्ञानिक कुरा रहनेछ भन्ने स्पष्ट भयो । म त्यसबेला कक्षा ९ मा पढ्दै गरेको विद्यार्थीमा यो राजनीतिक चेत बस्यो । त्यसपछि म राजनीतिक क्षेत्रमा अग्रसर भएँ । म राजनितिक मान्छे हुन थालेँ ।

के तपाई पत्रकारितामा आउनुभन्दा अगाडि नेपाल विद्युत प्राधिकरणको जागिरे हुनुहुन्थ्यो ?

तपाईँले जागिरको गर्नुभयो । जागिर खाने भनेको क्षमताको आधारमा खाने हो । योग्यताको आधारमा खाने हो । म जागिर पनि खान्थेँ । पढाउँथे पनि तर जहाँ जहाँ म जान्थेँ त्यो कम्युनिष्टको प्रयोगशाला हुन्थ्यो । जागिर खान गए पनि त्यहाँ पनि अन्याय हुन्थ्यो । मास्टरी गर्न गएँ त्यहाँ पनि अन्याय हुन्थ्यो । जहाँ गयो त्यहीँ अन्याय हुन्थ्यो । जताततै मैले अन्याय देख्थेँ । एकदिन अञ्चलाधीशसँग विवाद हुँदा मेरो जागिर गयो । जागिर कसरी गयो भने मैले राजालाई मान्छे भनेर कविता लेखे बापत् जागिर गयो । त्यो कविता यस्तो थियो । मलाई अहिले अलिअलि मात्र आउँछ ।

राजा तिमी पनि मान्छे होऊ यदि तिमीले आफूलाई मान्छे भन्दैनौ भने मान्छे भएर हेर । तिमीले भोका, नाङ्गा जनतामा मेरो जिम्मेवारी छ भनेर भन्थ्यौँ । यस्तो राज्याभिषेकमा धेरै पैसा कमाएर भोका जनताको मुख मार्नु भन्दा ती सबै खर्चहरु भोका जनताको नाममा खर्च गरेको भए धेरै राम्रो हुन्थ्यो । राजा तिमी पनि मान्छे होऊ । किनभने तिमीले भनेका छौँ— भोका जनता पनि मान्छे हो । त्यसको एक महिनापछि राजालाई मान्छे हो भनेर अञ्चलाधीशले मलाई भन्यो । राजालाई के भन्ने त, एउटा देशलाई सञ्चालन गर्ने मान्छे । एउटा सम्पन्न शासक । उहाँ पनि मान्छे हो । मान्छेले मान्छेलाई शासन गर्नु हुन्न त्यसकारण म राजालाई मान्छे भन्छु भन्दा राजालाई मान्छे भन्ने हो त? राजालाई मान्छे भन्ने हो धत् ? अझै पनि थाहा छैन राजालाई के भन्नुपर्छ भन्ने ? बुझ पचाउँछस् ? राजालाई विष्णुको अवतार भनिन्छ बुझिस् ? राजालाई मान्छे भनिस् तेरो जागिर गयो । म त जागिर खाने आठ घन्टा हो । बाँकी समय जे सुकै गरौँ भन्ने मेरो कुरा थियो । जागिरको समय सकिएपछि म राजनिति गरौं कि, लेख्यौं कि, पढ्यौं कि, देउसी खेल्न जाउँ कि मेरो स्वतन्त्रता हो नि । त्यहाँ त राजनीति चाइँदैनन । यो देशमा अन्याय छ, अत्याचार छ । आम मान्छे शोषणमा परेका छन् । यही भावले म लागिरहेको हुन्थेँ ।

मलाई जागिर निकाला गर्दा कम्युनिष्टमा लागेकै कारणले निकालिएको हो । मत बच्चा बेलादेखि कम्युनिष्ट विचार भएको मान्छे । बेलाबेलामा विद्यार्थी उठाउने र व्यवस्थाविरुद्ध काम गर्ने गरियो । जागिर खाए पनि पुरानै विचारले काम गर्ने हुँदा जागिर निकाला उपयुक्त लाग्यो । राजाको पनि विरुद्धमा गइयो । त्यतिबेला के भयो भन्दा विश्वकान्त मैनाली अहिले यहीँ हुनुहुन्छ, शम्भु थापा पनि यहीँ हुनुहुन्छ । न उसले भष्टाचार गरेको छ, न केही गरेको छ । उसलाई जागिर निकाला गर्नुको कारण के त ? राजकाज मुद्धा लगाइयो । न्यायालयमामा जाँदा पनि सत्ताकै पक्षमा फैसला भयो । विसं. २०४६ सालको आन्दोलन सकिएपछि गृहमन्त्री योगप्रसाद उपाध्ययलाई मैले भनेँ यसरी मेरो जागिर गएको छ, मेरो कुनै कारण छैन यसरी जागिर जानमा भनियो ।

म विद्यार्थीकालदेखि नै व्यवस्थाको विरोधी भएर हिडेको । विचारमा परिवर्तन नभएर निस्काशन गरेको छ । त्यही भएर न्यायाधीश डराएर मेरो पक्षमा नबोलेको कुरा मलाई पछि थाहा भयो । अब यसको कारण के हो भन्दा सन्सारमा दुई खालको मान्छे हुन्छ । एउटा शोषक हुन्छ अर्को शासक हुन्छ । शोषकले आफ्नो सुविधा हेर्छ । जब शोषकले आफ्नो सुविधा हेर्छ जनताको सुख मार्छ, जनताको स्वतन्त्रता मार्छ, जनताको न्याय मार्छ । त्यसकारण मैले स्वतन्त्रताको बारेमा लेखेको थिएँ—कुराकानी होस्, बनावटी नहोस्, स्वतन्त्रता होस् अश्लीलता नहोस्, विद्वतापूर्ण होस्, दम्भयुक्त नहोस् । अनौठो होस्, असत्य नहोस् । मेरा यस्ता अभिव्यक्तिहरु छन् । अन्यायको विरुद्ध अन्याय कसैलाई गर्नु हुँदैन । अन्यायको विरुद्ध लड्नुपर्छ । जनतालाई आन्याय नपरोस् भनेर न्यायाशीश राखिएको छ । त्यही न्यायाधीशले पञ्चायतकालमा सबै पञ्चायतलाई जिताउने रे, राजालाई जिताउने रे, शासकलाई जिताउने रे ।

अहिले पनि जसले जागिर ख्वायो उसैलाई जिताउँछन् नि ? त्यो बेलामा तपाईले जुन मिसन पत्रकारिता भनेर गर्नुभयो, त्यही पत्रकारिता अहिले व्यवसाय भएर बिग्रिएको भन्ने आवाजहरु पनि आउँछन् त्यसबेला र अहिलेको पत्रकारिताको भिन्नता के हो ?

पत्रकारितामा अहिले पनि संघर्ष नै छ । जनताले सुख, सुविधा पाएका छैनन् । पार्टीका नेता र त्यसका कार्यकर्ताले बोल्न र सुख, सुविधा पाएका छन् । जबसम्म जनताले सुख, सुविधा प्राप्त गर्दैनन् तबसम्म मिसन नै हुन्छ पत्रकारिता । तर पञ्चायतकालमा चाहीँ के थियो भने मिडिया हाउसहरु खोल्न पाउदैन थिए । किन खोल्न पाइदैन थिए भन्ने आँट पञ्चायतकालमा कसैले पनि गर्न सक्दैन थिए । त्यतिबेला पत्रिका चल्थ्यो । आफ्नै लगानीमा चल्थ्यो । पत्रिका निकाल्नेको धन, सम्पति जान्थ्यो । हामीले त कसरी पत्रिका चलाएका थियौं भने आफैँ लेख्ने, आफैं बोल्ने, आफैं विचार विमर्श गर्ने सकेसम्म आफैं कम्पोज गर्ने । अरु मान्छेले चलाउन सक्दैन थियो । पार्टीबिना केही पनि चल्दैन थियो । पार्टीले पुस गरेन भने पत्रिका पनि चल्दैन थियो । पञ्चायतको विरुद्धमा लेख्यो, जनताको पक्षमा लेख्यो भने त्यो सम्पादकलाई निकाल्दिने, ब्याण्ड गर्ने, जेलमा लैजाने, पत्रिका पढ्ने मान्छेलाई पनि जेल लैजाने त्यो हामीले भोगेका छौं ।

मेरो पत्रिका पढ्ने मान्छे, पाँचजना मान्छे पत्रिका पढे बापत जेल गएको छ । राजा र व्यवस्था विरोधी भनेर । पैसा भएका पनि पत्रिका निकाल्न डराउँथे । डुब्छ भन्थे । तर हामी जनताको लागि ज्यान दिएर लाग्यौं । हाम्रो उद्देश्य थियो जनताका सुख, सुविधा र समृद्धिका लागि देशको विकासको लागि र जबसम्म आउँदैन तबसम्म गरिरहने अन्यायको विरुद्ध आवाज उठाउने । वास्तवमा पत्रकार भनेको योद्धा हुन् । पञ्चायतविरुद्धका योद्धा हुन् । ती पत्रकारहरु जिउँदा सहिद हुन् । पार्टीहरु भूमिगत थिए । नेताहरुले पनि दुःख पाएका थिए । तर पत्रकारले जति दुःख कसैले पाएका थिएनन् । किनकि उनीहरुले जनताका मुद्धा बोक्नुपथ्र्याे, पैसा, खाने कुरा र बस्ने डेरा केही हुँदैन थियो । डेरामा बस्ने निश्चित हुँदैन थियो । कति बेला जेल जानुपथ्र्यो थाहा हुन्नथ्यो । धेरै पञ्चायतविरोधी पत्रकारको यस्तै अवस्था थियो । पञ्चायतभित्रै पनि पत्रकारहरु थिए । उनीहरुले पञ्चायतको विरोध नगरे पनि गोली खाए । जस्तो पदम ठकुरी । त्यस्तो स्थिति थियो । हामीले सत्यको पक्षमा लेख्न पाउनुपर्छ, अन्यायको विरुद्धमा लेख्न पाउनुपर्छ, जनताको पक्षमा लेख्न पाउनुपर्छ र त्यो लेखेबापत कसैलाई जेल हाल्न पाइदैन, मुद्धा हाल्न पाइदैन । त्यसोभन्दा हामी जेल पथ्र्यौँं । हामीलाई राजकाज मुद्धा लाइन्थो, पिटिन्थो, कुटिन्थो । मलाई साँचै भन्नुहुन्छ भने पिस्कर काण्डमा जनताको आन्दोलनमा गए, पञ्चायतविरुद्ध गए । ठूलो आन्दोलन भयो । भटाभट मान्छे मार्न थाले । त्यसको विरुद्धमा लेख्न थाले । मैले छलफल पत्रिकामा के लेख्याथेँ भने उनीहरुले आफ्नो अधिकारको लागि लड्दा उनी हरुलाई उग्रभए भनेर गोली हान्न पार्इँदैन । त्यसपछि मलाई जेल लगियो र जेलमा तीन महिनासम्म कुटपिट गरेर थिलथिलो बनाइयो । सुरुमा म ४५ किलोको थिएँ । जेलमा बस्दा मेरो शरिर सुन्निएर १०० किलो जति भएको थियो ।

सत्यको लागि सबै थोक छोड्न सकिन्छ तर ज्यानका लागि सत्यता छोड्न सकिदैन । सत्यता के थियो भने पञ्चायत व्यवस्थाले राम्रो गरेको थिएन । हामीले बोल्नुपथ्र्याे, त्यो के को लागि भने सत्यको लागि ।
आन्दोलनको बलमा लोकतन्त्र आयो । जब सत्य बोल्ने बेला आयो तब पत्रपत्रिकाहरु असत्य लेख्न थाले । कोही पत्रपत्रिकाले यस पेसालाई जिविका बलाउन थाले । व्यवसाय भनेको जिविकोपार्जन, जिविकोपार्जनको लागि जे पनि गर्न थाल्यो । जनताको सुखसुविधा छैन, जनताको विकास पनि छैन् । जनताले बोल्न पाएको छैन । पार्टीको कार्यकर्ताले बोल्न पाएका छैन । तर जति जनता दबिएको छ । त्यति नै पार्टीको कुशल कार्यकर्ता पनि दबिएको छ । उनीहरु सबै डराउँछन् । सबै पत्रकारलाई म आदर गर्छु । सम्मान गर्छु । तर उनीहरुले कु गरेर बेलुका भए पछि महँगा महँगा ठाउँमा गएर रक्सी खाएर देश विकास हुँदैन । अझै पनि पत्रकारिताभित्र अश्लिलता छ । तर के छ भने हिजोको जस्तो जेल जानु पर्दैन ।

के अहिले पत्रकारिताले सत्य गुमाउँदै गएको हो ?

सबैजनाको यही भनाइ छ । नभएको कुरा नगर्नुपर्यो । यथार्थलाई समात्नु पर्यो । पत्रकारिताको धर्म के हो भने सत्य नदब्नु पर्यो । किनभने हिजो पञ्चायतबाट पार्टी जोगाउनुपथ्र्यो अहिले पर्दैन । अहिले नेता र कार्यकर्तादेखि चाहीँ पार्टी जोगाउनुपर्छ । पत्रकारितालाई पनि असत्य नेताबाट जोगाउनुपर्ने भएको छ । देश नेताले चलाउने हो नि । गणतन्त्र भनेको गणले चलाउने हो नि । जहाँ राजाको राज हुँदैन । गणतन्त्रमा प्रत्येक काममा जनताको हस्ताक्षेप हुन्छ । यो देशलाई कता लाने त जनताले हो नि । पत्रकारलाई कहाँ राख्नु पर्छ । यो जनताले भन्ने हो ।

तपाईहरुले त्यो समयमा बोल्नकै लागि पत्रकारीता गर्नुभयो त्यस बापत् अहिल् के पाउनुभयो त ?

मैले व्यक्तिगत रुपमा के पाउनु छ र ? मैले सत्तामा गएर केही पाउनु पर्छ भन्ने पनि छैन । जनताको सुख, समृद्धि हुनुपर्याे । नेताहरुमा विवेक हुनुपर्यो । अब के पाउनु भयो भन्दा देश र जनताले स्वतन्त्रता पाए । स्वतन्त्रतापूर्वक चेतना आयो । तर सबैले न्याय पाउनुपर्छ भन्ने त मेरो पालाको मैले सुरु गरेको हो । तपाईले तपाईको पालाको सुरु गर्नु भयो होला । जसले सुरुवात गर्छ त्यही अगुवा हो । पत्रपत्रिका भनेको त जनताको विश्वविध्यालय हो । हजारौं सेना भन्दा चार वटा विरोधी पत्रकारको शक्ति ठूलो हुन्छ ।

अर्को कुरा तपाई लडाईमा पर्दाखेरी लडाईँ सकेपछि सिपाहीहरु ब्यारेकमा जान्छन् । र पत्रकारहरु यस्तो सिपाहीहरु हुन् र जो कहिले ब्यारेकमा फर्किदैनन् । सँधै फिल्डमा हुन्छन् । त्यसकारण देश कहिले पुरानो हुदैन, नेता कहिले तुच्छ हुदैन । हामीले नेताको जयजयाकार होइन जनताको जयजयकार गर्ने हो ।

आजको दिनमा कम्युनिष्टहरु धेरै बिक्री र बिकाउ भएका देखिन्छन् । सत्ताका निम्ति, मन्त्री बन्नको निम्ति पार्टी फुटाउनु भनेको विदेशी शक्तिको इसारामा नाचेको जस्तो देखिन्छ तपाईले यसलाई कसरी हेरिरहनु भएको छ ?

मेरो विचारमा कम्युनिष्टहरु कोही बिगे्रको छैन । कम्युनिष्टहरु कहिल्यै पनि बिग्रँदैनन् । सच्चा कम्युनिष्टहरु सत्ता नपाउँदा बिग्रदैनन् । कम्युनिष्टहरु सँधै देह र न्यायको पक्षमा न्याय र हितमा उभिन्छन् । कम्युनिष्टहरुको नाममा गलत काम गर्नेहरुलाई कम्युनिष्टले वावा भन्दैन् । म व्यक्तिगत कुरा गर्दिनँ । सिद्धान्त र नीतिका कुरा गर्छु । खास कम्युनिष्टहरुको जे छ त्यो ठिक छ । कम्युनिष्टहरुको नाममा लप्पन छप्पन गर्नेहरु चाँही म मान्न सक्दिन । आफूलाई केन्द्रमा राख्नेहरु कम्युनिष्ट होइनन् । अब म कस्तो छु त्यो तपाई पत्रकारहरुले भन्नुस् । विश्लेषकहरुले भन्नुस् ।
एउटा कमिलो मान्छेको अगाडि शक्तिहीन छ । तर पछाडि गएर अलिकति छोइदियो भने त्यहाँ विद्रोह हुन्छ । कम्युनिष्ट पार्टीभित्र हरेक मान्छेको अस्तित्व हुन्छ । नेता कार्यकर्ताबाट चुनिन्छ ।

एमालेभित्रै र त्यसपछि एमाले फुट र त्यसबाट बनेको नेकपा एकीकृत समाजवादीभित्र पनि हाम्रो अस्तित्व स्वीकारिएन । र, हामीले बोल्न पाएन, व्यक्तिको मात्रै निर्णय भयो भनेर व्यापक समाचारहरु आउँछ त ?

त्यो कुराहरु उनीहरुलाई सोध्नुस् । म त त्यहाँ छैन । म त त्यहाँबाट बिरामी भएर बसेको छु । मर्का परेको पनि हुन सक्छ, नपरेको पनि हुन सक्छ ।

पछिल्लो समयमा नेकपा (एमाले) पछिल्लो पटक नफुटोस् भनेर कुनै पहल गर्नुभएन ?

मैले एकअर्कालाई गालिगलौंज नगर्नुुस्, नीति सिद्धान्तलाई अगाडि राख्नुस्, कसका काम, कति काम भए त्यो आत्मालोचना गर्नुस् । त्यो आत्मालोचना र आलोचना फरक कुरा हो । आत्मालोचना र आलोचनालाई छोड्दिनु किनभने त्यो कम्युनिष्ट होइन । हरेक मान्छेले मेरो गल्ती के हो भनेर महसुस गर्नुपर्छ । मेरा स्वार्थले असल कार्यकता बिग्रन्छ कि, मेरा स्वार्थले पार्टीमा खराब मान्छे भित्रिए कि, मेरो स्वार्थले कुनै बिचौलिया, भ्रष्टहरुलाई बढ्वा दियो कि । इमान्दारहरु पछि परे कि । त्यो त नेतृत्वले जान्ने कुराहरु हो । नेतृत्वले नदेखे अरुले दुख पाउँछ नि । त्यसैले गलत गरिस् भनेर कमिटीमा ध्यान पाउनुपर्यो । मान्छेले बोल्नै नपाउने भन्ने त हुँदैन नि । पार्टी मन परेन, राम्रो लागेन भने उसले पार्टी छोड्न पाउँछ तर विभाजन गर्नु हुँदैन । त्यसो भन्दैमा पार्टीभित्रको अन्यायविरुद्ध बोल्न छोड्नुहुन्न ।

यहाँले सल्लाह दिनुभयो तर पार्टीको विभाजन भयो त्यसपछि पार्टीको शीर्ष नेताहरुसँग कुराकानी भयो कि भएन ?

मेरो अधिकांश नेताहरुसँग कुराकानी भयो तर केपी ओलीसँग मेरो भेट भएको छैन । अरु सबै नेताहरुले आफैँ भेट्न आउनुभयो । मैले केपी ओलीसँग नभेटेको नौ वर्ष भयो । कम्युनिष्ट आन्दोलनमा उहाँहरु भन्दा म अगाडि लागेको हो । उहाँ नेता हुनुभयो । म यहीँ छु ।

माधव नेपालसँग भेट हुँदा तपाईहरुले किन यस्तो गर्नुभयो भन्दा के भन्नु भयो त ?

केपी ओलीले टिक्न दिनुभएन, उहाँको व्यक्तिगत अहं आयो भन्नुभयो । पार्टी उहाँले बनाएको होइन । त्यति बेला ओली जेलमा हुनुहुन्थ्यो । पार्टी हामीले बनाएको हो । उहाँले गुट बनाउनु भएको हो । उहाँ उद्देश्यकै लागि जेलमा जानु भएको थियो । यदि हामीले पार्टी संरचना नबनाएको भए उहाँ जेलमै हुनुहुन्थ्यो भन्नुभयो ।

पछिल्लो जनआन्दोलनमा जनताको लागि लड्नुभयो र लामो समयसम्म अस्पतालमा बस्नुभयो अहिले स्वाथ्यस्थिति कस्तो छ ?

यस्तो हो, मेरो जीवनमा एउटा खुट्टा जेलमा र अर्को अुट्टा बाहिर भयो । २०६२—२०६३ सालमा म अलि अलि घाइते भएँ । तर २०६९ मा चाहीँ नसासम्बन्धी रोगले सताउन थाल्यो । शरीरको धेरै ठाउँमा चिर्नुपर्यो । तर हड्डी टुटेको थाहा भएन । पछि थाहा भयो हाड्डी टुटेको रहेछ भनेर । त्यसपछि उपचारतिर लागियो । नेपालमा उपचार हुँदैन भनेपछि बाहिर गएँ । अहिले पनि राम्रोसँग निको भएको छैन । तर मेरो एउटा सामथ्र्य छ । मेरो व्यक्तिगत केही असन्तुष्टि छैन । कसैकसैले के प्रचार गर्छन् भने म असन्तुष्ट छु भन्छन् । तर मेरो असन्तुष्टिको कुरा के हो भने आलोचना र आत्मालोचनाका कुरा गर्छन् त्यो चाहीँ मेरो असन्तुष्टि हो । मैले आन्दोलन गरेबापत मैले यो लिनुपर्छ भन्ने पनि मेरो मान्यता होइन । किनभन्दा म आफ्नै खुसीले लागेको हो । कुनै स्वार्थको लागि लागेको होइन ।

मैले अघि नै भनेँ एउटा राजनीतिमा लागेको मान्छे जस्तो गएको हो त्यस्तै आउनुपर्छ । त्यहाँ घुस खाने, भष्टाचार गर्ने, आफ्ना मान्छे राख्ने । आफ्नो स्वार्थको लागि काम गर्न हुँदै हुँदैन । एउटै कमिटिमा बसेको मान्छे कत्ति घरबार जोडेको छ । कत्ति जग्गा जोडेको छ ? शान गरेर हिँडेको छ । अरुको व्यक्तिगत कुरो मलाई चाख् लाग्दैन । एउटा सीमा हुन्छ त्यो सीमाभित्र नेता र कार्यकर्ता बस्नुपर्छ । हामी त जनताबाट सियो धागो पनि लिन हुँदैन भनेर लागेको मान्छे । झुटो नबोल्ने, श्रममा विश्वास राख्ने, श्रम गर्नुपर्छ भन्ने मान्यता राखेको मान्छे । दुईवटा कुरा जीवनमा हुनुपर्छ । एउटा इच्छा र अर्को आवश्यकता । आवश्यकता भनेको बाँच्नको लागि भात त खानु पर्यो । त्यो आवश्यकता हो । तर भात खाने पैसा छैन तर गाडी चढ्यो भने त्यो इच्छा भयो । आवश्यकता सँधै नहुन पनि सक्छ । दैनिक जीवन पद्धति कतिको गार्हो छ त्यो हामी सबैलाई थाहा छ । कोही शान्दार भएर बसेको छ । यो हो त कम्युनिष्ट पद्धति । कम्युनिष्ट त जनताको लागि लडेको हो नि त । सबै आफ्नो सुख, सुविधा पाएन भने पार्टी फुटाउने, विदेशको चाकरी गर्ने, देश उल्टाउने यो परिस्थिति पत्रपत्रिकामा पढ्न पाएको छु मैले । तर के छ ? त्यो अनुसन्धान गरेको छैन मैले ।

अहिले मैले साहित्य क्षेत्रमा साहित्य सिर्जना गरेको छु । जब स्वच्छ दिमाग हुन्छ तब सोचेको कुरा त लेख्छ नि मान्छेले जे छ त्यही लेखेँ । केटाकेटीले जे देख्छ त्यही बोल्छ तर म केटाकेटी भन्दा अलिकति विवेक पूर्ण छु ।साहित्य सिर्जना लेखेको छु । पाँच छ ओटा किताब लेखेको छु । सो कारण मैले अहिले बजारमा किताबहरु राम्रो छ भनेर जे पाएको छु त्यसमा म खुसी छु ।

तपाईंले पत्रकारिताको नाममा जसरी राजनीति गर्नुभयो । साहित्य सिर्जनामा लागेर जनताको भावहरु साहित्य मार्फत बाहिर ल्याउनु भयो । खुसी तपाई के मा हुनुहुन्छ ?

यसमा सन्तुष्टि र असन्तुसष्टि छैन । तर मलाई केमा खुसी लाग्छ भने यो देश नराम्रो नहोस, जनताले सुख पाउन, अन्यायमा नपरुन्, कार्यकताहरुले आफ्नो स्वाभिमानमा अडियोस् । मैले एउटा कथा लेखेको छु । त्यो कथा लेखेर पुरस्कार पनि पाएँ । त्यो कथामा मैले दाजु बहिनीको बारेमा लेखेको छु ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १३:३७