१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

कर्मचारीको पञ्चायतकालिन काम गर्ने शैली परिवर्तन भएनः उमेशलाल श्रेष्ठ


११ चैत, कैलाली । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकाक्षी उमेशलाल श्रेष्ठले सरकारले निजीक्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने बताए । ‘अहिले तीन वटै तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग छ तर निजी क्षेत्रलाई कुनै सम्मान गरिँदैन,’ सुदूर पश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भने, ‘सम्मान भन्नाले हामीलाई राज्यले फुलमाला लगाईराख्न पर्दैन तर काम गर्ने वातावरण त बनाईदिन पर्यो नि ।’

उदाहरणका लागि एउटा कम्पनी दर्ता गर्न करिव ३ दर्जन सरकारी निकायमा पुगेर हात जोड्दै हिड्नुपर्ने अवस्था रहेको उनको भनाई थियो । ‘हामीले आन्दोलनमार्फत विभिन्न राजनीतिक व्यवस्था बदल्यौं तर राजनीति र कर्मचारी तन्त्रमा परिवर्तन आएन,’ उनले भने, ‘हामी पञ्चायत हुँदै गणतन्त्रसम्म आईपुग्यौं तर हाम्रो कर्मचारीतन्त्रको काम गर्ने शैली पञ्चायतकालिन नै छ ।’ कुनै पनि मुलुकमा राजनीतिक क्रान्ति हुँदा आर्थिक व्यवस्थाका साथै सरकार र कर्मचारी तन्त्रको कार्यशैली बदलिने भन्दै तर नेपालमा कुनै पनि कार्यशैलीमा परिवर्तन नआएको उनको गुनासो थियो ।

उद्योगी व्यवसायीले अहिले पनि राजा महेन्द्रको पालाको २०१९ सालको कानूनको अधिनमा रहेर व्यापार व्यवसाय गर्नुपरेको भन्दै कालाबजारी ऐनजस्ता झण्झटिला कानूनहरु तत्काल परिवर्तन गरिनुपर्ने उनको तर्क थियो । ‘हामील अहिले बैंक विरुद्ध आन्दोलनमा छौं तर हाम्रा लागि त्यो भन्दा ठूलो समस्या नीति नियममा देखिएका समस्या हुन्,’ उनले भने, ‘अहिले नियामक निकायले बैंकहरुलाई विना लगाम छाडिदिँदा समस्या आएको छ त्यसमा सरकार र राष्ट्र बैंक निजी क्षेत्रमैत्री हुनु जरुरी छ ।’ सरकार र राष्ट्र बैंकले चाहेको खण्डमा अहिले देखिएको उच्च व्याजदर घटाउन सक्ने भन्दै त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नुपर्ने उनको तर्क थियो ।

यसैगरी सरकारले देशको आर्थिक स्थिती सुधार गर्न कम्तीमा एक दशकसम्म एउटै आर्थिक नीति लिनुपर्ने उनको भनाई थियो । ‘जबसम्म सरकारले निजी क्षेत्रलाई सम्मान गरेर देशका ठूला पूर्वाधार विकाशमा लगानी गर्न आब्हान गर्नु हुन्न तबसम्म देश आर्थिक रुपमा अघि बढ्न सक्दैन,’ उनले भने, ‘अहिले सरकारले हामी निजी क्षेत्रलाई निचोरेर भएपनि कर उठाउने काम गरेको भन्दै यसतर्फ सरकारले विशेष ध्यानदिनु आवश्यक छ ।’

राजनीतिक घरनामा जन्मिए पनि आफ्नो एउटै मुलमन्त्र उद्योग व्यवसाय संचालन गर्दै देशलाई आर्थिक रुपमा सक्षम बनाउने भएको भन्दै व्यवसायीका समस्या समाधान गर्न पुनः महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा अघि बढेको जानकारी दिए । ‘अहिले महासंघ केन्द्र र जिल्ला नगरबीच त्यतिधेरै समन्वय भएको देख्दिन भने जिल्लाका समस्यालाई केन्द्रले चासो नदिएको आभास भएको छ,’ उनले भने, ‘महासंघलाई सबै तहका उद्योगी व्यवसायी पुर्याएर राज्यसँग लविङ गरेर व्यवसायीको मसस्या समाधान गर्न मेरो ध्यान केन्द्रित हुनेछ ।’ साथै अहिलेको विषम परिस्थितीमा महासंघको नेतृत्व लिन आएको भन्दै अब हुने वरिष्ठ उपाध्यक्षको लागि आफुलाई मत दिएर निर्वाचित गराउन समेत श्रेष्ठले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १८:५५