७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

‘बेलैमा पैसा सेभिङ र इन्भेष्ट गर्न जानेमात्रै तपाईंको भविष्य सुनिश्चित हुन्छ’


युवा र बालबालिकामा समेत बित्तिय चेतना जगाउनका लागि हरेक वर्ष २० देखि २६ मार्चसम्म ग्लोबल मनि विक मनाइने गरेको छ । नेपालले पनि पछिल्लो वर्षहरूमा सप्ताहव्यापी यस अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको छ । अर्गनाइजेसन अफ इकनमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनमा हुने यस अभियानले पैसा कसरी कमाउने, कसरी त्यसलाई सदुपयोग गर्ने सेभिङमा कसरी कन्भर्ट गर्ने, सेभिङबाट कसरी त्यसलाई लगानीमा लैजाने लगायतमा विषयमा जानकारी गराउने उद्देश्य बोकेको हुन्छ । ग्लोबल मनि विक र नेपालमा बित्तिय साक्षरताको अवस्थाका विषयमा हामीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीसँग दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारीले केही प्रश्न गरेका छन । ज्ञवालीसँगको प्रश्नोत्तरको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकोछ ।

ग्लोबल मनी विक भनेको के हो ? नेपालमा कसरी आयो ?

-यो ग्लोबल मनी विक अर्गनाइजेसन अफ इकनमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनमा २०१२ बाट युवाहरुलाई लक्षित गरेर वित्तिय क्षेत्र, वित्तिय साक्षरता आदिलाई समेटेर साताव्यापी रूपमा मनाउन थालिएको हो । यसको स्थायी नारा अर्न, लर्न, सेभ एण्ड इन्भेष्ट रहेको छ । यो नारा अहिलेसम्म १०९ मुलुकमा स्थापित भएको छ । फिजिकल्ली र डिजिटल्ली गरेर १७० ओटा देशमा अभियान सञ्चालन हुँदै आएको छ । यस अभियानमा युवाहरुलाई वित्तिय साक्षरताको आधारमा र वित्तिय जागरणको आधारमा संलग्न गराई पैसा कसरी कमाउने, कसरी त्यसलाई सदुपयोग गर्ने भन्नेबारे सचेतना दिइन्छ ।

अभियानबाट सेभिङमा कसरी कन्भर्ट गर्ने, सेभिङबाट कसरी त्यसलाई लगानीमा लैजाने त्यसबाट उनीहरुले आफ्नो फ्युचरलाई सेफ राख्न सक्छ भनेर युवाहरूमा सचेतना दिइन्सछ । ‘प्लान योर फ्युचर’ भन्ने नाराका साथ यो २०२३ को ग्लोबल मनि विक पनि मनइदै छ । वित्तिय साक्षरताको विश्वव्यापी अभियानको नेपालमा पनि नेपाल राष्ट्र बैंकले संयोजन गरिरहेको छ । नेपाल राष्ट्र बैंकले संयोजन गरेर वित्तिय साक्षरता, वित्तिय सचेतनाको कार्यक्रमहरू गरिरहेको छ । त्यस्तै धितोपत्र बोर्ड र नियमन प्रधिकरणसँग पनि संयोजन गरेर विभिन्न कलेज, स्कूल, मिडिया सबैतिर वित्तिय साक्षरताको बारेमा जानकारी गराउने काम भैरहेको छ । यही बीचमा साताव्यापी रूपमा कतै र्याली, कतै विभिन्न प्रतियोगिता, कतै अन्तरक्रिया र मिडियाबाट अन्तरवार्ता मार्फत वित्तिय साक्षरता र चेतनाका लागि काम गरिरहेका छौँ ।

साक्षरता र वित्तिय साक्षरतामा केही फरक छ ? 

-वित्तिय साक्षरता र साक्षरतामा अलिकति फरक छ । साक्षरता भन्ने वित्तिकै पढ्न लेख्न सकियो वित्तिय साक्षरता भनेको पैसासँग सम्बन्धित रहेर पैसा आयो भने कसरी जानकारी राख्ने ? पैसालाई कसरी बचत गर्ने ? पैसालाई प्लान गर्ने, लगानीमा परिर्वन गर्ने र यसबाट मुनाफा आर्जन गरेर आफ्नो नेटवर्थलाई कसरी वृद्धि गर्न सक्छौँ ? भन्ने कुराको जानकारी वित्तिय साक्षरताले दिन्छ ।

विश्वव्यापी वित्तिय साक्षरता अभियानको नेपालमा कार्यान्वयनको अवस्था कस्तो छ ? 

-वित्तिय साक्षरताको कुरा नेपाल राष्ट्र बैंकले प्राथमिकताको रुपमा राखेको छ । सामाजिक सुरक्षा कोष अन्तर्गत रहने पैसाको केही प्रतिशत वित्तिय साक्षरतामै जानेगरि निर्देशन समेत जारी गरेको छ । हामीले सातैवटा प्रदेशमा कार्यक्रम लगेका छाैँ । धेरै बैंक वित्तिय संस्था राष्ट्र बैंकले पनि यसलाई प्रवर्द्धन गरिरहेका छन । वित्तिय साक्षरताको अभावमा धेरै चिजहरुको समस्या हुन्छ भन्नुको मतलव मान्छेहरुसँग पैसा हुन्छ त्यो पैसा घरमा राख्नु भन्दा बैंकमा राख्नु धेरै सुरक्षित हुन्छ । पैसा बचत हुन्छ त्यसबाट तपाईले रिटर्न पाउनु हुन्छ त्यो पैसा तपाईलेमात्र नभए अरुले पनि उत्पादनमा प्रयोग गर्न सक्छ भन्ने कुराको एउटा चेतना जान्छ । अहिले त डिजिटल फाइनन्स लिट्रेसिको कुरा पनि सँगै जोडिएको छ । तपाईले डिजिटल पेमेन्टस्हरूदेखि लिएर डिजिटल इन्स्टुमेन्ट प्रयोग गरेर गर्न सक्ने वित्तिय कारोकारका कुराहरू छन । त्यस्तै शेयर बजारको जानकारी हुन सक्छ, बीमाको जानकारी हुन सक्छ, यसले तपाईलाई बीमा हुँदा के हुन सक्छ ? शेयर कारोबार गर्दा के हुन सक्छ ? कस्तोमा लगानी गर्ने, कस्तोमा लगानी नगर्ने ? कसरी अगाडी बढ्ने भन्ने कुराहरू साक्षरता मार्फत जानकारी दिइन्छ । जसका कारण पहिलेको भन्दा अहिले उपभोक्तामा सावधानी बढेको छ ।

हामी विश्वव्यापी युवा लक्षित वित्तिय साक्षरताको कुरा गरिरहेका छाैँ तर बैंक सञ्चालकहरू नै बैंकले ठग्यो भन्दै प्ले कार्ड बोकेर सडमा निस्किइरहेका छन यसलाई कसरी बुझ्ने ?

-अहिले देशको अवस्था कस्तो छ भने अलिकति नकरात्मक कुरा भयो भने त्यसको पछि लाग्ने । कसैले नकारात्मक कुरा गर्यो भने उसैको कुरा धेरै शेयर हुने अर्थात नकरात्मकता चाहिँ बढी चलिरहेको छ ।  तपाईले पनि मिडियामा कसैको बारेमा नकरात्मक न्युज लेख्नुभयो, नकरात्मक बोल्नुभयो वा हुनेनहुने गाली गर्नुभयो भने पनि वाहीवाही हुन्छ ।

केही कुराहरू तपाईले भनेको पनि साँचो हो । किनभने बैंक तथा वित्तिय संस्थाहरूमाथि जसरी आक्रमण गरियो र मान्छेहरूले अहिले जस्तो धारणा बनाएका छन त्यो गतल छ । किनभने, हामीले अहिले बुझ्नु पर्ने कुराहरू धेरै छन । बैंकको ४ करोड ८०/८५ लाख खाताहरूमा ५४/५५ खर्ब रुपैयाँ छ । यसमा पब्लिकको पैसा छ । बैंकको आफ्नो पैसा कति लगानी भएको छ ? यदि इन्भेष्टरको कुरा गर्नुहुन्छ भने साँढे छ करोडको पैसा छ तर त्ययसको नाै गुणा भन्गुदा बढी पब्लिकको डिपोजिट छ । त्यस कारण बैंक डुब्यो भने पब्लिकको डिपोजिट डुब्छ ।

हामी जसको विरुद्धमा आन्दोलन गरिहेकाछौँ । हामी आफ्नै पैसा डुबाउने कुरा गरिरहेकाछौँ । बैंक तथा वित्तिय संस्था भएन भने पछि वित्तिय कारोबार हुँदैन । जनताको लगानी डुब्छ । पक्कै पनि इकोनोमिमा समस्याहरू छन । समस्याको सम्पूर्ण कारण बैंकको बढ्दो ब्याजदर भन्नेहरूले नबुझेर त्यस्ता कुरा गरिरहेका छन । उनीहरूले तथ्य तथ्याङ्क नबुझेर प्रचारबाजी गर्ने गरिरहेका छन । म  मिडियालाई पनि के भन्न चाहन्छु भने भने जे बिक्छ, जे चल्छ त्यो हाल्ने हो कि सही र गलतको तथ्य पनि जाँच्नने हो ? मिडियाले तथ्य जाँचेर गलत कुरामा सेल्फ सेन्सर गर्नुपर्छ । मिडियाले पनि सत्य कुरा गर्यो भने सत्य कुरा बाहिर आउछ र हल्लै हल्लाको पछि लाग्यो भने मान्छेले यसलाई फलो गर्छ । अब मान्छेले फलो गर्छ भनेर जस्तो पनि न्युज नबनाउन म आग्रह गर्छु । हो बैंकहरूमा खबरदारी गर्नुपर्छ । कुनै बैंक म्यानेजरले गलत गर्यो भने आवाज उठाउनु पनि पर्छ तर समग्रतामा बैंकमाथि आक्रमण गर्नुहुन्न । एउटा विषयलाई लिएर जथाभावी हिट गर्यो भने यसले समग्र अर्थतन्त्रलाई हित गर्दैन ।

बैंकको सम्पूर्ण सर्त पढ्ने हो भने कसैले ऋण नै लिँदैन भन्ने भनाइहरू व्यापक सुनिन्छ, यसमा सत्यता छ ?

-ग्राहकले त्यो अफर लेटर अथवा बैंकले राखेका सर्तहरू पढेपछि ऋण लिन जान्छ कि जान्न भन्नु हुन्छ भने, मलाई लाग्छ ८० प्रतिशत ग्राहको साइन गरिसकेपछि खातामा पैसा आयो कि आएनमात्र हेर्नुहुन्छ । त्यो सत्य हो । तेही भएर नेपाल राष्ट्र बैंकले अफर लेटर पहिला अंग्रेजीमामात्र भएकोमा अहिले नेपालीमा पनि अनिवार्य गर्न लगाएको छ । त्यो सबैले पढ्न सकुन भनेर हो ।

ऋणको सर्त पढीसकेपछि स्वीकार्न सक्दैन भन्ने कुरा गलत हो । त्यस्तो खालको अफर लेटरहरू अस्वीकार हुन्छ भन्ने कुरा गलत हो । किनभने बैंकले त्यस्तोखालको काम गर्न पाउदैन । बैंक यस्तो सेक्टर हो जहा पूर्णतः पारदर्शीता हुन्छ । एक-एक पैसाको हिसाब पारदर्शी हुन्छ । राष्ट्र बैंक जस्तो सक्षम नियमकले निरन्तर रुपमा मनिटरिङ गरिरहेको हुन्छ । त्यसकारण त्यो कुरा गलत हो । तर कहिलेकाहीँ ब्याज बढाउने क्रममा बदमासी हुनसक्छन । गत एक वर्षमा बैंकहरुले ब्यालेन्ससिट बढाएकै को, नाफा बढाएकै हो म त्यो स्वीकार गर्छु । जुन कर्जा हामीले दिएको थियौँ उक्त कर्जा सहि ठाउँमा प्रयोग भयो कि भएन भनेर हेर्नमा हामी चुकेको हौँ । त्यस्तो अवस्थाका बारेमा पनि अहिले केन्द्रीय बैंक र हामी बैंकरहरू सचेत भैसक्यौँ । अफवाह भैलाएजस्तो बैंकले दायाँबायाँ गर्दैन किनकी बैंक सबैभन्दा पारदर्शी संस्था हो । हामीले फाइनान्सियल रिपोर्टहरू सार्वजनिक रूपमा बाँडिरहेको हुन्छौँ । जसका कारण बैंकले कति कमायो भन्ने सबैले थाहा पाउँछन । सर्भिसको सेक्टरमा सबैभन्दा राम्रो सेक्टर हो बैंक । जहाँ तपाईले लागत थाहा पाउन सक्नुहुन्छ, नाफा थाहा पाउन सक्नुहुन्छ । बैंकहरू राष्ट्र बैंकको निर्देशन र उसैको निगरानीमा बसेर काम गरिरहेका हुन्छन । बैंकहरुले जम्मा गरेको पैसा देख्नुहुन्छ, त्यसको पछाडी विश्वास छ । अहिले त्यही पैसा लगेर उद्योग, व्यवसाय गरिरहेका छन । उनी तीनै उद्योगी व्यवसायी मध्येका केहीले आन्दोलन गरेर बैंक डुब्छ भनिरहेका छन । म ढुक्कका साथ भन्छु बैंक डुब्दैन । उहाँहरूमा शिक्षाको कमी भएको हो । यो पनि समयक्रममा ठीक भैहाल्छ ।

ऋण लिएको मन्छेले आत्माहत्या गर्यो कि बैंकको विरूद्धमा गालीको वर्षा नै हुन्छ, त्यस्तो अवस्थामा कस्तो महशुष हुन्छ ? 

-त्यसलाई म विश्वास गर्दिन । एउटा ३५ वर्षको मान्छेले एक वर्षमा ३५०० जम्मा गर्न सक्दैन भने त मान्छेले घाँटी हेरेर हाड निल्नु पर्छ नि त । एउटा मान्छेको आफ्नो सारा टेन्सनहरू सइड लगाएर बैंकको टेन्सनले मात्रै सुसाइड गरेको हो भन्नु त गलत हो । बैंक पारदर्शी छ । बैंक भनेको पब्लिकको पैसा हो । ऋणीले जथाभावी गर्नखोजेको पैसा हामीले जम्मा गरेनौं भने पब्लिकको पैसा डुब्छ । पब्लिकको पैसा नासो हो । नासो फिर्ता गर्नुपर्छ त्यही भएर बैंकले रिकभरीको एक्सन लिने हो । यत्रो जनता भएको ठाउँमा एक दुई जनाको त्यस्तो समस्याहरू थियो त्यसमाथि लोन पनि थियो भने पछि बैंकले गर्यो भनेर बैंकलाईदोष दिन मिल्दैन ।

यदि त्यस्ता केशलाई हेर्ने हो भने बैंकको कति समस्या थियो ? व्यवसायको कति समस्या थियो ? घर परिवारको कति समस्या थियो ? सबै कुराहरु हेर्ने हो भने बैंकको समस्या ५ प्रतिशत भन्दा बढी हुँदैन। व्यवसाय, उद्यमी साथीहरूसँग हामी पनि साथमा छौँ । व्यवसाय, उद्यम नै डुब्ने हामी चाहि उत्रने भन्ने हुँदैन । यहाँ हामी सबै एउटै अवस्थामा छौँ । सरकारको अवस्था हेर्नुस्, ऋण पत्र जारी गरेर तलब खुवाउनुपर्ने अवस्था छ ।

व्यापारीले राम्रो गर्न सक्नु भएन भने कर तिर्न सक्नुहुन्न अनि हामीलाई पनि तिर्न सक्नुहुन्न । हामी पनि नोक्सानमा छौं यसरी त सरकारको आय नै हुँदैन । यसकारण सरकार, बैँक, नियमक निकाय सबैको समस्या साझा हो । हामी एकआर्कामा धैर्यता राख्नु पर्छ । एकअर्कालाई दोष दिएर समस्या समाधान हुँदैन । सबैले आ-आफ्नो क्षेत्रमा न्याय गर्नुपर्छ होइन यो बैंकिङ क्षत्रको समस्या हो भन्नुहुन्छ भने गलत हुन्छ । अहिलेको समस्यालाई मैले चार रूपमा वर्गिकरण गरेको छु । पहिलो समस्या २० प्रतिशत देखिमाथि विभिन्न क्षेत्रको करोबार घटेको छ, बिक्रि घटेको छ तर फिक्स कस्टहरु लागिरहेकै छ । त्यसैले उहाँहरु मारमा हुनुहुन्छ । दोस्रो इन्फ्लेसन बढ्यो । यो विश्वभरी नै हो । अमेरिकामा ४० वर्षको इतिहासमा सबैभन्दा बढी भयो । अरु देशको तुलनामा अझै हाम्रोमा कम छ । इन्फ्लेसनले गर्दा पनि मर्कामा पर्नु भएको छ । तेस्रो रिकभर उहाँहरुको छैन । पहिला उधारोमा दिनुहुन्थ्यो कारोबार हुन्थ्यो । अहिले उधारो दिने अवस्था छैन । पहिला लिएको उधारो तिर्न सक्दैनन्, नयाँ उधारो दिन सक्ने अवस्था छैन । भनेको उहाँहरु लक हुनुभएको छ । चाैँथो पहिला घर जग्गाको कारोबार हुन्थ्यो । एउटाले बेच्थ्यो अर्कोले किन्थ्यो । अलिअलि नाफा हुन्थ्यो अहिले त्यो पनि छैन । जसको कारणले उद्योगिहरुलाई गाह्रो छ म मान्छु तर त्यो सबै कुरालाई साइड लगाएर बैंकको ब्यजदर बढ्यो त्यही भएर हामी मारमा छौँ भन्दा यसले समस्याको समाधान गर्दैन । त्यसैले समस्याको सहि पहिचान हुनुपर्यो, त्यो समस्याको चर्चा परिचर्चा हुनुपर्यो यति भयो भने हामी सहि ठाउँमा पुग्छाैँ ।

कुनै समय बैक तथा वित्तिय संस्थाहरुको सुसाशनको अनुसरको कुरा हुन्थ्यो अहिले प्रश्न जन्मिरहेका छन किन होला ? 

-बैकिङ बिजनेश बैंकले गर्ने हो । त्यसैले हामी बैंकरहरूले पारदर्शी काम गर्नुपर्छ । त्यो काम पारदर्शी भयो कि भएन ? नियमनमा चले कि चलेनन् भनेर निगरानी गर्ने काम केन्द्रीय बैंक अर्थात नेपाल राष्ट्र बैंकको हो । केन्द्रीय बैंकले आफ्नो हिसाबले काम गरिराखेको छ, जसले काम गरे गरेनन्, जो दायाँबायाँ गरिराछन् उनीहरुलाई कारबाही पनि भैरहेको छ । बैंकहरु पूर्ण रुपमा पारदर्शी छन । हिजो पनि थिए आज पनि छन । अपारदर्शी काम बैंकहरुमा हुदैन तपाईले एउटा कुनै उदाहरण दिएर कुरा गर्नुभयो भने म त्यसमा कुरा गर्नसक्छु तर समग्रतामा सबैभन्दा बढी सुशासन र पारदर्शीता भएको बैंकिङ क्षेत्र नै हो ।

अन्त्यमा, ग्लोबल मनि विकको सन्दर्भलाई लिएर नेपाली युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

-अर्न, सेभ एण्ड अर्न ग्लोबल मनि विकको थिम धेरै नै राम्रो छ । अहिले २०२३ मा पनि प्लान योर फियुचर भन्ने नारा छ । यसैमा धेरै चिजहरु जोडिन्छ । जति पनि अर्निङ हुन्छ त्यसको बजेटिङ गर्ने, तपाईको टोटल आम्दानी र खर्चहरुको स्थिति कस्तो छ ? यसबाट कसरी बचत गर्न सक्नुहुन्छ ? यसलाई कसरी लगानी गर्न सक्नु हुन्छ ? भन्ने विषयको चेतनासँगै क्षमतको वृद्धि गर्नुपर्छ । इञ्जिनिएर, पाइलट, डाक्टर अन्य जुन पेशाको व्यक्तिले पनि पैसालाई चलाउन जान्नुपर्छ । अबको समय भनेको पैसाको समय हो । बेलैमा तपाईले पैसा सेभिङ र इन्भेष्ट गर्न जान्नुभयो भने तपाईको भविष्य सुनिश्चित हुन्छ । यसको बारेमा कुरा गर्नुस्, छलफल गर्नुस्, टक शोहरु चलाउनुस् । युवाहरू हामीले लक्षित गरेको किन भन्दा युवाहरु बेलैमा सचेत भयो भने जब तिनीहरु एउटा लेबलमा पुग्छ त्यतिबेलासम्म धेरै नै भविष्य सुरक्षित गर्न सक्ने क्षमता बनाइसकेको हुन्छ । हरेक नागरिकको भविष्य सुनिश्चित भयो भने देशको भविष्य सुनिश्चित हुन्छ । यसलाई सानो कुराहरुबाट धेरै ठूलो लक्ष प्राप्त गर्न सकिन्छ ।

प्रस्तुतीः सृर्जना खड्का/दैनिकी

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १२:५४