१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

वैदेशिक रोजगारीबाट फर्किएकाहरूको मुद्दा स्थापित गर्न रिटर्नी फेडेरेसनले काम गर्ने


-सिर्जना खड्का

८ चैत, काठमाडौँ । वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीहरूको मुद्दा स्थापित गर्न संगठन रिटर्नी फेडेरेसनले विशेष पहल गर्ने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलको आयोजना गरेर संगठनले स्थापित गर्न चाहेको मुद्दाहरूको बारेमा जानकारी दिएको छ ।

संगठनले वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप प्रविधि र अनुभवलाई नेपाली भूमिमै उपयोग गर्नका लागि सरकारले विशेष नीति लिनुपर्नेमा जोड दिएको छ । उसले आफूहरूले उठाउन लागेको एजेण्डा महाधिवेशन मार्फत थप स्थापित गर्न लागेको जनाएको छ । संगठनले यही चैत ११ र १२ गते काठमाडौँमा रिटर्नी फेडेरेसनको महाधिवेशन गर्न लागिएको जानकारी दिएको छ ।

फेडेरेसनका अध्यक्ष चन्द्रबहादुर रोकाहाले मुलुकमा राजनैतिक इच्छाशक्ति बेगर लक्ष्य प्राप्ति असम्भव प्राय रहेकाले नेकपा एमालेको जनवर्गिय संगठनको रूपमा फेडेरेशनलाई अघि बढाइएको जानकारी दिए । उनले रिटर्नी फेडेरेसन नेपाल एमालेको राजनैतिक मार्गदर्शनमा अगाडि बढेको भए पनि वैदेशिक रोजगारीबाट फर्किएका सम्पूर्ण नेपालीको साझा संस्थाको रूपमा काम अघि बढाउने जानकारी दिए ।

उनले उद्देश्यर कार्यक्रमको रूपमा फेडेरेसनको चरित्र पुरै साझा हुने बताए । अध्यक्ष रोकाहाले आर्थिक उद्यमशिलतामा मुख्य जोड दिँदै नीतिगत रूपमा धेरै विषयमा सम्बोधनका लागि काम गरिने बताए । उनले एमालेसँगको सहकार्यले पुस्तौँ पुस्तासम्म अगाडि बढाएको विदेशिनु पर्ने बाध्यतालाई अन्त्य गर्दै देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न संगठनले काम गर्ने बताए ।

उनले देशमा जाँगरिलो श्रमको जनशक्तिलाई सम्मान नगर्ने परिपाटी अन्त्य गरिनुपर्ने पनि बताए । रिटर्नी फेडेरेसन नेपालले पढाइ तथा विभिन्न कामको सिलसिलामा विदेश गएर फर्किएका नेपालीहरुलाई उनीहरुको सिपको आधारमा काम दिने वातावरण बताउने दाबी समेत गरेको छ ।

विदेशमा सिकेको सिपलाइ नेपाली व्यवसायमा भित्राउने र त्यसका लागि नीतिगत रूपमा विशेष पहल गर्ने फेडेरेसनका प्रचार विभाग प्रमुख जेपी सापकोटाले बताए । विदेशी सिपलाई नेपाली व्यवसायमा भित्राउदा व्यवसाय अझै राम्रो हुने र जागिर गर्नुपर्छ भन्ने मनोविज्ञानलाइ उद्यमी बन्नु पर्छ भन्ने मनोविज्ञानमा बदल्न सिकने संगठनको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १८:२३