१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सुनकाे मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै, हिरातर्फ बढ्याे आकर्षण


७ चैत, काठमाडाैं । नेपाली बजारमा निरन्तर सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरी रहेकाे छ । सुनको मुल्य निरन्तर बढी रहँदा बजार निकै प्रभाभित भएको व्यवसायी बताउँछन् । चैत ५ गते आइबार मात्रै सुनको मूल्य बढेर हालसम्मकै उच्च स्तरमा पुगेको थियो।  साे दिन सुनकाे मूल्य प्रतिताेला २ हजार ९ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २० हजार रुपैँया कायम भएको थियो ।

पुसयता सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो। उक्त दिन छापावाल सुन प्रतिताेला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो। साे समय पछि चैत लागेसँगै सुनकाे मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । बजारमा दैनिक सुनकाे माग ३० किलो भन्दा बढी छ तर सरकारले एक वर्ष यता देखी २० देखी १० किलो सम्म कोटा घटाएर दिएकाे छ ।

सुनको अभावले व्यवसायमा प्रत्यक्ष असर परिरहेको सुनचाँदी व्यवसायी महासंघको गुनासो छ । सुनको मूल्य निरन्तर उकालो लाग्दा हिराको कारोबार भने बढेको छ । विगतको दिनमा सुनको मूल्य कम हुँदा हिरातर्फ मानिसको आकर्षण देखिन्थ्यो । तर, पछिल्ला दिनहरुमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दा हिरातर्फ आकर्षण बढेकाे बताइएकाे छ ।

हिराको प्रयोगसँगै आयात पनि निरन्तर बढी रहेकाे  भन्सार विभागले जनाएकाे छ । चालू आर्थिक वर्षको ७ महिनामा नेपालमा १ अर्ब ३० करोड ९ लाख रुपैयाँको हिरा आयात भएको छ । गत वर्ष नेपालमा २ अर्ब ४८ करोड ७५ लाख रुपैयाँको हिरा आयात भएको थियो ।

नेपालमा अधिकांश हिरा भारतबाट आयात हुँदै आएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा पछिल्लाे सात महिनामा १ अर्ब ३० करोडको हिरा आयात हुँदा भारतबाट मात्रै १ अर्ब २२ करोड ३४ लाख ५७ हजार रुपैयाँको ३४ हजार ९१८ क्यारेट हिरा आयात भएको  भन्सार विभागको तथ्यांकले देखाएकाे छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १२:१७