१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रचण्डको सत्तासँग साटियो रविको राहदानी मुद्दा, महान्यायाधिवक्ताले गरे गम्भीर निर्णय


६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा प्रचण्डको सत्तासँग साटिएको छ । प्रचण्डलाई विश्वासको मत दिन तयार भएपछि रविलाई राहदानी मुद्दामा उनमुक्ति दिइएको छ ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका महान्यायाधिवक्ता दीनमणि पोखरेलले यस्तो निर्णय गरेका हुन् । पोखरेलले मुद्दा चलाउनका लागि आवश्यक प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेका हुन ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले फागुन ३० गते लामिछानेविरुद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । उच्च सरकारी वकिलको कार्यालयले चैत १ गते जिल्लाको प्रतिवेदनलाई सदर गर्दै महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय र सहन्यायाधिवक्ता संजिवराज रेग्मीले जिल्ला र उच्च सरकारी वकिल कार्यालयबाट आएको रायलाई सदर गर्ने भनेर दिएको रायको आधारमा निर्णय गरिएको बताएका छन । लामिछानेले दोहोरो नागरिकता र राहदानी लिएको विषय उनी स्वयंले स्वीकार गरेका थिए । तर सत्ता स्वार्थसँग जोडेर उनलाई उनमुक्ति दिइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १८:१५