७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रचण्डलाई लिङ्देनको व्यङ्ग्य : दुई महिनामा दुई पटक विश्वासको मत लिने उहाँ भाग्यमानि हो


६ चैत, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गतेको सहमति फेरेको र बाटो मोडेको कारण आफूहरू सरकारबाट बाहिरिएको बताएका छन् ।

दुई महिनामै विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भनेर उनले प्रचण्डप्रति कटाक्ष समेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै लिङ्देनले प्रधानमन्त्रीले सहमति तोडेका कारण लाचार भएर सरकार छाडेको बताएका हुन् ।

‘संसद्मा जुहारी चलाउने मन छैन, भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । दुई महिनामा विश्वासको मत लिन पाउने । वैशाख २० तिर फेरि यस्तै दिन नआओस्,’ लिङ्देनले भने ।

आफू छोटो समय सरकारमा रहँदा चार वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुला गरेको स्मरण उनले गरे । प्रधानमन्त्रीलाई राप्रपाको विश्वासको मत नचाहिएको भन्दै उनले विश्वासको मत नदिने जानकारी गराए । नयाँ यात्राका लागि उनले प्रचण्डलाई शुभकामना समेत दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १५:४९