१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

माधव नेपालको तोकादेशले नै पूरा भयो घनश्याम भुसालको रहर


५ चैत, काठमाडौँ । नेकपा एमालेमा जसरी पनि महासचिव हुने महत्वाकांक्षा बोकेका घनश्याम भुसाल गत चुनाव अघि टिकट समेत नपाएपछि पार्टी छाडेर हिडेँ । केही साताअघि एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीमा महासचिव प्राप्त गर्ने उधारोमा आश्वासमा प्रवेश गरेका थिए । अन्ततः समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुसालको महासचिव हुने रहर तोकादेशमै पूरा गरेका छन ।

पार्टीको सचिवालय बैठक बसेर समाजवादीले अध्यक्षको तोकादेशमा महासचिव वेदुराम भुसालको उपाध्यक्षमा बढुवा र सचिवालय सदस्य घनश्याम भुसालको महासचिवमा बढुवा गरेका हुन । पार्टीको विधान संशोधन बिनै समाजवादीले वेदुराम भुसालको विशेष बढुवा र घनश्याम भुसालको महासचिवमा बढुवा गरेको हो ।

उक्त कुरा आइतबार समाजवादीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले विज्ञप्ति मार्फत बैठकले उपाध्यक्ष र महासचिवको बढुवा भएको जानकारी दिएका छन । उनले कुन विधान वा कार्यविधि अनुसार भनेर विज्ञप्तिमा केही खुलाएका छैनन् ।

कुनै पनि दलको विधानमा कम्तिमा सामान्य संशोधन गर्नुपरे पनि केन्द्रीय कमिटीको बैठकबाट गर्नुपर्ने हुन्छ तर समाजवादीले अध्यक्षको तोकादेशमै महासचिव र उपाध्यक्षको जिम्मेवारी तोकिदिएको छ । दैनिकीले निर्णयका बारेमा थप जानकारीका लागि उपाध्यक्षमा बढुवा भएका पूर्वमहासचिव वेदुराम भुसाल, उपमहासचिवद्धय जगन्नाथ खतिवडा र गंगालाल तुलाधरसँग सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार २०:३९