८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो


४ चैत, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा जग्गा नापजाँच थालिएको हो । भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको जग्गा नापजाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरी वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् ।

देवचुली नगरपालिका–४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेमा आशा बढेको बताउनुभयो । “५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खालि आसमात्र दिएका छन्”, उहाँले भन्नुभयो, “यसपालि जग्गा नापजाँच सुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।” जग्गाको पुर्जा नहँुदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् ।

जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका–३ का रेवती सारुले बताउनुभयो । हुप्सेकोट गाउँपालिका–३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो ।

वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । हुप्सेकोट गाउँपालिकामा दुई हजार पाँच सय र देवचुली नगरपालिकामा चार हजार चार सय ६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरी परिवारको बसोबास छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १६:५५