१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भौतिकवादी द्धन्द्धवादका नियमहरु


-सरोजकुमार तामाङ

मार्क्सवादी द्धन्द्वावाद विकास र सार्वभौम सम्बन्धको सिद्धान्त हो । विकासको स्रोत र गतिदायी शक्तिहरुको प्रश्न नै यसको मुख्य प्रश्न हो । भौतिकवादी द्धन्द्धवादका तीन मुख्य नियमहरु छन् । ती हुन:— १) प्रतिपक्षहरुको एकत्व र संघर्षको नियम, २) परिमाणत्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा संक्रमणसम्बन्धी नियम, र ३) नकारको नकारसम्बन्धी नियम

१) प्रतिपक्षहरुको एकत्व र संघर्षको नियम

प्रतिपक्षहरुको एकत्व र संघर्षको नियम भौतिकवादी द्धन्द्धवादको सार र गुदी हो । यस नियमले व्यावहारिक क्रान्तिकारी गतिविधि, विज्ञान, समाज, चिन्तन तथा प्रकृतिको विकाससम्बन्धी द्धन्द्धवादका प्रश्नहरुको सही समाधान गर्न मद्दत गर्दछ । सामाजिक व्यवस्थाको लेन्सबाट हेर्ने हो भने पनि यो नियम शाश्वत रहेको पाइन्छ ।

दासप्रथात्मक समाजमा दास र स्वामी, सामन्तवादी समाजमा भूदास र सामन्त, र पूँजीवादी समाजमा सर्वहारा र बुर्जुवा – प्रतिपक्षहरु नै आन्तरिक पक्षहरु, प्रवृत्तिहरु र शक्तिहरु हुन् जो एक दोस्रोको अपवादका साथै एक अर्कामा आश्नित पनि हुन्छन् । त्यसैलाई नै प्रतिपक्षहरुको एकत्व भन्दछन् । प्रतिपक्षहरुले एक दोस्रोलाई निषेध मात्र गर्ने होइन, एकले अर्काको अस्थित्व अनिवार्य पनि ठान्दछ ।

एउटै वस्तु अथवा घटनामा दुवै प्रतिपक्षहरुको अस्थित्व हुन्छ र एउटा बिना अर्कोको कल्पना गर्न सकिँदैन् । परस्परविरोधी वर्गहरु जस्तै सर्वहारावर्ग र बुर्जुवावर्गबिना पूँजीवादी समाजको अस्थित्व असम्भव हुन्छ । जबसम्म पूँजीवादको अस्थित्व रहिरहन्छ, तबसम्म मजदूर पुँजीजीवी कहाँ ज्यालादारीमा काम गर्न बाध्य भइ नै रहन्छ र पूँजीजीवीले मजदूरको यथासम्भव बढि शोषण गर्ने प्रयास कायमै राखेको हुन्छ ।

वस्तुहरु र घटनाहरु प्रतिपक्षहरुका एकत्वमा हुन् भन्ने कुरा प्रष्ट भयो । तर, एकत्वमा प्रतिपक्षहरुको अस्थित्व शान्तिपूर्ण हुन्छ या संघर्षपूर्ण हुन्छ, त्यो बारेमा जानकारी लिन जरुरी देखिन्छ । हाम्रो वास्तविक जीवन या जगतका सारा वस्तुहरु तथा घटनाहरुबाट के सिद्ध भएका छन् भने वस्तुहरु तथा घटनाहरुभित्र परस्परविरोधी पक्षहरु शान्तिपूर्ण होइन संघर्षले अस्थित्वमा रहेका हुन्छन् ।

उदाहरणार्थ, अहिलेको पूँजीवादी राज्यसत्ता जिवित्तै रहन परस्परबिरोधी शक्तिहरु – सर्वहारावर्ग र बुर्जुवावर्गहरुबीचको अन्तरसंघर्षले गर्दा नै हो । त्यो नै एकत्वभित्रको अन्तरसंघर्ष हो । त्यसैले संघर्ष एक विकासको स्रोत हो किनकि बिना संघर्ष कुनैपनि वस्तु तथा घटना अस्थित्वमा रहनसक्दैन् । सारमा भन्नु पर्दा, अस्थित्वमा रहेका वस्तु तथा घटनाहरुभित्र अन्तरसंघर्ष चलेकै हुन्छ र त्यही अन्तरसंघर्षका कारण विकास हुन्छ ।

त्यो भनेको कालान्तरमा पुरानोको ठाउँ नयाँले ओगट्नु हो । तर, बुर्जुवावादी शक्तिहरुले प्रतिपक्षहरुबीचको एकत्व र संघर्षलाई सन्तुलन र समन्वय भनि ठान्छन् । यसरी बुर्जुवा सिद्धान्तकारहरु पूँजीवादी समाजलाई अजर-अमर तुल्याउने प्रयास गर्दछन् । जसले बहुसंख्यक गरिव, किसान, मजदूर, सर्वहारा र श्नमजीवीवर्गको मुक्तिको मार्गलाई शोषण, दमन, अन्याय, अत्याचार र सबैखाले उत्पीडनले ग्रसत पूँजीवादी व्यवस्थाको बचाउको निम्ति प्रयोग गरिएका बौद्धिक हतियारमा रुपान्तरण गर्न माहिर हुन्छन् ।

प्रतिपक्षहरुको एकत्व र संघर्षको आधारमै सामाजिक जीवन चलेको हुन्छ । वर्गविरोधी समाजमा शत्रुतापूर्ण वर्गहरुको संघर्षले सामाजिक क्रान्तिलाई जन्म दिन्छ र पुरानोको सट्टा नयाँ सामाजिक व्यवस्था कायम हुनजान्छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ११:२५