७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राधाको चित्कार र शून्य मानवियता भएका रमितेहरु


–तुलसी न्यौपाने
हामी सबै सामाजिक प्राणी हौ । हामी यहि समाजमा जन्म लियौँ, यहि समाजमा हुर्कियौँ, यहि समाजमा पढ्यौँ, यहि समाजमा बढ्यौँ यहि समाजबाट हामीले बिदा लिएर जानुपर्छ भोलि । हुनत् मानिसलाई सबै भन्दा सर्वश्रेष्ठ प्राणिका रुपमा चिन्ने गरिन्छ ।


सबै सजिब प्राणीहरुको बिचमा उच्च कोटीमा पर्छ मनिस । उसँग चेतना छ, बुद्धि छ, विवेक पनि छ तर, मान्छेलाई मान्छेको जस्तो व्यबहार गर्न किन जान्दैन ? एकदिन मर्नुु त अबस्य नै छ तर अजम्बरी पाएर आए जस्तो किन गर्छ ? नपत्याए हेरे हुन्छ पशुहरु कति मित्रवत व्यबहार गरेर बसेका हुन्छन । उनीहरुमा न रिस छ न राग छ । तर पनि उनीहरु खुसीले बचेका छन । मिलेर बसेका छन ।

चेतना भएको मानिस नै किन राक्षस भएको होला ? सम्झदा पनि अचम्मै लाग्छ । हाम्रो समाज, हाम्रो रुढीवादी परम्परा, शोषण, दमन अनि अत्याचारलाई देखेर । अनि यो मान्छेको सोच, विचार अनि धारणालाई देखेर । मैले सुनेकी मात्रै थिए छोरी मान्छेको हिंसा छोरी मान्छेले नै बढी गर्छन भनेर । होइन होला भन्थ्ये वास्तबमै हो रहेछ ।
एउटी कक्षा ११ मा पढ्दै गरेकी किशोरीलाई बोक्सी भन्दै समाजका अगाडी घण्टौ घण्टासम्म कुटपिट गर्ने अर्को किशोरी त्यो पनि बाबा भन्नेको भाडाको श्रीमति ! कैलालीको घोडाघोडी नगरपालिकामा राधाको चित्कार सुन्ने र रमिता हेर्नेहरुको कमी थिएन । सयौँको संख्यामा रहेका ती विवेकहीन मासिनहरुमा किन पलाएन दया ? किन देखिएन माया ? के राधा अपराधि हुन ? राधाले त्यो गाउँमा कुनै अपराध गरेकी छिन ? वा राधा त्यहाँको बिग्रिएको केटी हो ? यो सब केही होइन, त्यहाँ त राधाको चित्कारलाई रमिता मानेर हेर्नेहरुको विवेक मरेको थियो । उनीहरुले आफ्नो घर, परिवार र छोरी चेली दिदीबहिनी केही सम्झिएन बरु त्यो बाबा भनउँदो ज्यानमाराको निर्लज्ता टुलुटुलु हेरेर बसे ।

देशैभरी नारी दिवस मनाइ रहेका बेला, नारीलाई सम्मान गर्नूपर्छ भन्दै नाराबाजी गरिरहेका बेला राधा भने चरम यातना भोगिरहेकी थिइन त्यो पनि राज्य संरिक्षत गुण्डाहरुको समेत अगाडि । राधा नारीमात्रै हैन उ नेपाली नागरिक पनि हो त्यतिमात्र हैन विश्वभरका आम मानिस जस्तै उ पनि मानिस हो तर उसका अघि बोक्सी बिल्ला भिराइयो र ज्यानै लिने उद्देश्यले कुटपिट गरियो । अरु त परै जाओस त्यहाँ भएका अन्य महिलाहरुले समेत एक शब्द बोलेन बरु उनीहरु रमाइलो मानेर हेरिरहे चुपाचाप ।

सबै महिलाहरु एक जुट भएर ज्यानमारा बाबाजीलाई रोक्न सक्थे तर प्रयास नै कसैले पनि गरेन । बरु उल्टै महिला माथि महिला नै क्रुर रुपमा कुटपिटमा उत्रिएकी छिन । तर महिला नै अग्रसर भएको देखिन्छ । राधा त एउटा प्रतिनिधि पात्र मात्रै यस्ता यतना धेरै दिदिबैनीहरुले दिनहुँ भोग्दै आएका छन । यस्ता घटनाहरु घट्नुमा महिलाकै ठुलो हात देखिन्छ । यस्तो शोषणको अन्त्य गर्न सबै पुरुष तथा महिलाहरु एकजुट भएर लाग्नुपर्छ । दोषीलाई कानुनको दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गरिनुपर्छ । अझ अन्धविश्वास र कुरितामा विश्वास नगर्ने भनिएका कम्युनिष्टहरु स्थानीय, प्रदेश र केन्द्र सरकारको नेतृत्वमा छन तर उनीहरु पनि रमितै हेर्नेको सूचीमा छन । ढिलै सही घटनामा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी भएको छ ।

तर, ज्यान मार्ने उद्देश्यले भएको यस्तो हिंसामा सार्वजनिक अपराधको मुद्दामात्रको कुरा गर्दा प्रहरी प्रशासन र स्थानीय सरकारका प्रतिनिधिहरुको नालायकी पनि झल्किन्छ । म त भन्छु त्यो बाबा भनउँदो ज्यानमारा र उसकी भाडाकी श्रीमति पार्वती दुबैलाई सार्वजनिक स्थानमा राखेर गोली हानिनु पर्छ ताकी अर्को ठाउँमा यस्ता घटना हुन नपाओस र जो रमितेहरु छन तीनलाई सार्वजनिक अपराधको मुद्दा लगाएर दुई महिना जेलको सिढीँमा राख्नु पर्छ तीनले पनि आगामी दिनमा आफ्नो विवेकलाई तिलाञ्जली दिएर नबसुन । आजको दिनमा राधाले महशुस हुनेगरी न्याय पाउन सकिनन् भने यहाँ कुनै संघीयताको नाममा, समतामुलक न्ययाको नाममा नाटक मञ्चन गर्नुको कुनै अर्थ छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १७:०६