१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

मार्क्सवादी द्धन्द्धवादको विशेषता


-सरोजकुमार तामाङ

मार्क्सवादी द्धन्द्धात्मक भौतिकवाद जगतको विकास र सार्वभौमिक सम्बन्धको अति गहन एवम् व्यापक सिद्धान्त हो । यसले जगतलाई निरन्तर गतिशील, परिवर्तनीय र विकासशील रुपमा विचार गर्दछ । जगतका सबै वस्तुहरु र घटनाहरु अपरिवर्तनीय छैनन् भन्ने कुरा हाम्रो दैनिक अनुभव, विज्ञानको विकास तथा सामाजिक-ऐतिहासिक व्यवहारले पुष्टि गर्दछ ।

जगतको विकासको सामान्य चित्रको अध्ययन गर्नु नै भौतिकवादी द्धन्द्धवादको एउटा महत्वपूर्ण लक्ष्य हो । प्रकृति, मानव समाज र चिन्तनको गतिसम्बन्धी सार्वभौमिक नियमहरु बारेको यो सिद्धान्त नै जगतको बोधको वैज्ञानिक पद्धति पनि हो । तर, मार्क्सवादी द्धन्द्धवाद ज्ञानप्राप्तिको पद्धति मात्र होइन् । यो जगतको क्रान्तिकारी परिवर्तनको साधन पनि हो ।

द्धन्द्धामक भौतिकवादको सार नै आलोचनात्मक एवम् क्रान्तिकारी छ । यसले अपरिवर्तनीय, नित्य र सदासर्वदाको लागि कुनै कुरा हुनसक्दैन भन्ने स्वीकार गर्दछ । त्यसैले यो गतिशीलताको पैरवी गर्ने सिद्धान्त हो । यसले पुरानोको पतन र नयाँको प्रादूर्भावको अनन्त प्रक्रिया जनाउँदछ । परन्तु मार्क्सवादी द्धन्द्धवादले नयाँको रुपमा देखापर्ने सबै घटनाहरुलाई वास्तवमा नै नयाँ हो भन्ने ठान्दैन् ।

उदाहरणार्थ, साम्राज्यवादी शक्तिहरुले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रहरुमा आफ्नो आर्थिक विस्तारलाई नयाँ राजनीतिको रुपमा जनताहरुलाई सहयोगको रुपमा प्रस्तुत गर्न खोज्दछ । वास्तवमा चाहिँ यो उपनिवेशवादको नयाँ रुप बाहेक अरु केही होइन । यो नवउपनिवेशवाद हो । नयाँ त्यही हो जुन प्रगतिशील हुन्छ, जुन बढी सम्पूर्ण र जीवनदायी हुन्छ, जुन निरन्तर गतिशील र विकासोन्मुख हुन्छ । नयाँ भने क्रमश: बढ्दै जान्छ, विकसित हुँदै जान्छ र पुरानोको बिरुद्ध भीषण संघर्षमा विजय प्राप्त गर्दै जान्छ ।

यो सिद्धान्त अधिभौतिकवाद र प्रतिक्रियावादको कट्टर बिरोधीको रुपमा उभिदैँ आएको छ किनकि मरणोन्मुख सामाजिक व्यवस्थाको रक्षा गर्न खोज्ने, व्यक्तिगत स्वामित्व र शोषण, युद्ध र राष्ट्रिय उत्पीडनलाई अजर-अमर तुल्याउन चाहने जुनसुकै शक्तिको पनि यसले घोर बिरोध गर्दछ । सामाजिक व्यवस्थाको विकासको क्रममा पूँजीवादको अनित्य चरित्रलाई उजागर गर्दछ ताकि पूँजीवादको पतनसँगै त्यसको ठाउँमा वैज्ञानिक समाजवादको अवश्यम्भावितालाई पुष्टि गर्दछ ।

त्यसैले मार्क्सवादी भौतिकवादी द्धन्द्धवादले बुर्जुवावर्ग र यसका सिद्धान्तकारहरुमा त्रास र द्धेषको भावना उत्पन्न गर्दछ । आलोचना र क्रान्तिकारी सिद्धान्तको विशेषता बोकेको मार्क्सवादी द्धन्द्धवादले श्नमजीवीवर्ग र श्नमजीवीवर्गको नेतृत्वमा रहेको मार्क्सवादी पार्टीको क्रान्तिकारी भावना, आधुनिक युगको द्रुत र गतिशील चरित्रको पूर्ण अनुमोदन गर्दछ ।

मार्क्सवादी द्धन्द्धवादले सबैखाले साम्राज्यवादी प्रतिक्रियावादी शक्तिको बिरुद्ध विश्वशान्ति, समाजवाद र प्रगतिशील श्नमजीवीवर्गको हितार्थ अनवरत संघर्षको औचित्य प्रमाणित गर्दै पथ-प्रदर्शन गर्दछ । प्रतिगामी र मरणोन्मुख कुराहरुबाट मार्क्सवादी द्धन्द्धवादले आफ्नो विचार र सिद्धान्तलाई टाढै राख्दछ । व्यवहारमा रुढिवाद तथा सैद्धान्तिक चिन्तनमा जडता र निश्चलता यसको लागि असह्य हुन्छ ।

मार्क्सवादी भौतिकवादी द्धन्द्धवाद उज्वल भविष्यमा विश्वास राख्ने प्रगतिशील सामाजिक शक्तिहरुको विज्ञान हो । नयाँको अजेयताको अर्थ स्वत: यसको विजय हुन्छ भन्ने होइन् । यसको निम्ति परिश्नम गर्नुपर्दछ । सामाजिक जीवनमा पुरानोमाथि नयाँको विजयमा जनताको र प्रगतिशीलवर्गहरुको अग्रगामी पार्टीहरुको चेतनशील गतिविधिको निर्णायक भूमिका रहन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १०:०२