४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

मार्क्सवादी दर्शनका सार्वभौमिक सिद्धान्तहरू


-सरोजकुमार तामाङ 

सामन्तवादको ठाउँ पूँजीवादले लिएपछि उत्पादनको व्यापक विकास, प्रविधि, विज्ञान तथा संस्कृतिको द्रुत प्रगति सम्भव हुन गयो । साथसाथै पूँजीवादले यस्तो वर्गलाई पनि जन्म दियो जसले पूँजीवादी व्यवस्थालाई नष्ट गर्दै समाजवादी व्यवस्था तर्फ उन्मुख गराउँछ । त्यो वर्ग सर्वहारावर्ग नै हो । यी वर्गको उत्पत्ति पूँजीजीवीवर्गहरुद्धारा गरिएको शोषण, दमन, उत्पीडन लगायत मौलिक मानव अधिकारबाट वन्चित गरिएको परिणाम हो ।

सर्वहारावर्ग जसले श्नमको अवस्थामा सुधार, पारिश्नमिकमा वृद्धि, श्नमदिनमा कटौती आदिको माग राख्दै संघर्षका कार्यक्रमहरु बुर्जुवावर्गसँगको प्रत्यक्ष या अप्रत्यक्ष बिरोध प्रदर्शनहरुमा अभिव्यक्त गर्दछ । तर, ती सर्वहारावर्गहरुलाई आफ्नो संघर्षको अन्तिम लक्ष्य र वर्गीय शत्रुहरुको बिरुद्धको संघर्षमा सही र प्रभावकारी मार्ग तथा साधनहरुको बारेमा राम्रो ज्ञान थिएन ।

सर्वहारावर्गलाई समाजको विकासका नियमहरु थाहा पाउने, पूँजीवादको पतनमा समाजवादको उदय, पूँजीजीवीवर्गको मलामी तथा समाजवादी व्यवस्थाको निर्माताको रुपमा आफ्नो भूमिका प्रस्ट्याउने एक वैज्ञानिक सिद्धान्तको ठूलो खाँचो थियो । मार्क्स र एंगेल्सले मार्क्सवादी दर्शनको विकास गरेर त्यो पुरा गरिदिए ।

उत्पीडित सर्वहारावर्गको पक्षमा समर्थन गर्दै मार्क्स र एंगेल्सले यस्तो दर्शनको निर्माण गर्नु भयो जुन पूँजीवादी व्यवस्थाको बिरुद्धको संघर्षमा सर्वहारावर्गको बौद्धिक अस्त्र बनेको छ । यस दर्शनले एक मुठ्ठी शोषकहरुको सेवा नगरेर सबैभन्दा प्रगतिशील वर्ग (सर्वहारावर्गको हितको, इतिहासका वास्तविक निर्माता लाखौं जनताको हितको अभिव्यक्त गर्दछ । दार्शनिकहरुले विभिन्न किसिमबाट समाजको ब्याख्या गरेतापनि मार्क्सवादी दर्शनको मुख्य कुरो सामाजिक व्यवस्थालाई बदल्नु हो ।

मार्क्सवादी दर्शनको सारतत्व भनेकै सामाजिक विकासलाई अध्यात्मवादी दृष्टिकोणको इतिहासको सट्टा भौतिकवादी धारणालाई प्रस्तुत गर्नु हो । समाजको विकास मानिसहरुको विचार, इच्छा र आकांक्षाबाट होइन, भौतिक कारणहरुद्धारा निर्धारित हुन्छ भन्ने कुरा मार्क्स र एंगेल्सले अकाट्य रुपमा प्रमाणित गरिदिनु भयो ।

मार्क्सवादी दर्शनको अध्ययनले समाजको इतिहासलाई घटनाहरुको अव्यवस्थित राशिको रुपमा होइन, उत्पादनको निम्नस्तरीय पद्धतिको सट्टामा अर्को उच्चस्तरीय पद्धतिको परिवर्तनको नियमित र स्वाभाविक रुपले अनिवार्य प्रक्रियाको रुपमा बुझ्न थाल्यो ।

दर्शन निश्चित युगको, निश्चित वर्गहरुको उपज हो । दर्शनमा सधैं त्यस युगका आवश्यकताहरु प्रतिविम्बित भएका हुन्छन्, दर्शनले ती नै वर्गहरुको हितको रक्षा गर्दछ । निश्चित सामाजिक शक्तिहरुको सेवा गर्नुलाई नै दर्शनशास्त्रको पक्षधारता भन्दछन् । आफ्नो नीतिअनुरुप चल्नु र सर्वहारावर्गप्रति शत्रु भावना राख्ने शक्ति तथा वर्गहरुको तमाम नीतिको बिरुद्ध संघर्ष गर्नु मार्क्सवादी दर्शनको पक्षधारता सम्बन्धी सिद्धान्तको माग हुन्छ ।

संसारमा अस्थित्वमा रहेका दुई परस्परविरोधी विचारधाराहरु (समाजवादी र बुर्जुवा विचारधाराको बीचको अथक संघर्षमा पूँजीजीवीवर्गले अध्यात्मवादको अति सूक्ष्म रुपहरुलाई प्रयोग गरेकै हुन्छ । पूँजीपतिवर्गहरुले मात्र हैन, आधुनिक संशोधनवादीहरुले पनि मार्क्सवादी(लेनिनवादी सिद्धान्तको सारतत्वलाई बंग्याउँदछ । इतिहासले विनाशको भागी सावित गरिसकेको पूँजीवादी व्यवस्थालाई बचाउनु नै पूँजीजीवीवर्गको एक मात्र लक्ष्य हो । सर्वहारावर्ग विज्ञानको पक्षमा हुन्छ किनकि वैज्ञानिक विश्वदृष्टिकोणले मात्रै ठोस कार्यको निम्ति भरपर्दो नेतृत्व प्रदान गर्न सक्दछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ११:०९