१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नागढुंगाका प्रहरी इञ्चार्जबाहेक सबै २० प्रहरीको एकैपटक सरुवा


१७ असाेज, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरीको आन्तरिक शुद्धिकरण आवश्यक रहेको भन्दै हरेक प्रहरी कार्यालयको निगरानी सुरु गरेको छ। केही दिन अघिमात्रै कोटेश्वरका प्रहरीहरु घुससहित रंगे हात पक्राउ परेपछि आइजिपी सर्वेन्द्र खनालले काठमाडौंका एसएसपी वसन्त लामालाई प्रहरी कार्यालयको निरीक्षण नगरेको भन्दै हकारेका थिए।

नियमित निरीक्षण नगर्दा प्रहरीले आचरण विपरित काम गरेकाले प्रहरी संगठन नै बद्नाम हुन पुगेको आइजपी खनालले बताएका थिए।आइजिपीको कडा निर्देशनपछि महानगरीय प्रहरी प्रहरी परिसर, काठमाडौंले मातहतका प्रहरी कार्यालयको निरीक्षण सुरु गरेको हो। काठमाडौं परिसरका एसपी अशोक सिंह अहिले दिनको एक पटक काठमाडौंका विभिन्न प्रहरी कार्यालयको निरीक्षणमा निस्कने गरेका छन्।

निरीक्षणमा निस्किएको एसपी सिंहको टोलीले प्रहरी प्रभाग नागढुंगाका प्रहरी कर्मचारीले आचरण विपरित काम गरेको पाएपछि मंगलबार एकैपटक जवानदेखि सईसम्म गरी २० जना प्रहरीको सरुवा गरेको छ। उनीहरुलाई प्रहरी हेडक्वार्टर, आयुक्त कार्यालय लगायतमा तानिएको छ।

एसपी सिंहले भने, ‘नागढुंगा प्रभागका प्रहरी निरीक्षकभन्दा तल्लो दर्जाका प्रहरीले आचरण विपरित काम गर्ने गरेको रिपोर्ट आएपछि सरुवा गरिएको हो। अन्य ठाउँका प्रहरी कार्यालयको पनि निरीक्षण भइरहेकोले आचरण विपरित काम गरेको पाइए उनीहरुलाई कारबाही गरिन्छ।’

नागढुंगामा प्रहरी निरीक्षक केशवराज भट्ट नेतृत्वको टोली खटिएको थियो। भट्टको भने सरुवा गरिएको छैन।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १९:४३