७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गृह मन्त्रालयविरुद्ध घेरावन्दी भयोः गृहमन्त्री


१७ असोज, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो मन्त्रालयविरुद्ध घेराबन्दी भएको दाबी गरेका छन् । तस्कर, दलाल, भष्ट, गुण्डागर्दीविरुद्ध मन्त्रालयले मिसन चलाएकाले गृह मन्त्रालयविरुद्ध घेरावन्दी सुरु भएको उनले बताए ।

भरतपुरमा आयोजित लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनिकरणसम्वन्धी कार्यक्रममा गृहमन्त्री थापाले यो वा त्यो नाममा जनतालाई दुःख दिने, अपराध गर्नेहरुविरुद्ध सरकारले हमला बोलेको बताए ।


नेपाली युवालाई लागु औषधमा फसाउने को हुन् ? जग्गाको दलाल गरेर ठग्ने को हुन् ? वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अपराधीहरु को हुन् ? ढुंगा गिट्टी बालुवाको तस्कारी गर्ने को हुन् ? सुन तस्करहरु को हुन ? भन्दै उनले गृहमन्त्री बादलले भनेका छन्, ‘यस्ता अपराधीहरु राजनीतिक दल, कर्मचारी र प्रहरीकै संरक्षणमा हुर्किरहेका थिए । अब ठेगान लगाइन्छ ।’

लागू औषध र मदिरा सेवनकै कारण महिला तथा बालबालिकामाथि हिंसा र बलात्कार बढेको उनले बताए । खुल्ला मदिरा विक्री वितरणलाई रोक्ने र लागू औषधको सञ्जाल ध्वत पार्ने भन्दै उनले भने, ‘एउटा वडा वा टोलमा कतिवटासम्म मदिरा पसल खोल्ने हो, स्पष्ट व्यवस्था गरेर मात्र फ्री गर्न दिन्छौं ।’

उनले अघि भने, ‘अब ३ पुस्ते भरेर मदिरा किन्न जानेलाई लाज लाग्ने अवस्था आउँछ ।’ कतिपय स्थानीय निकायका वडामा अवैध रुपमा गाँजा खेती फस्टाउनुमा स्थानीय जनप्रतिनिधि प्रहरीको नै संरक्षण रहेको आरोप गृहमन्त्रीले लगाए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीसँग साँठगाँठ गर्ने प्रहरीको भविश्य नभएको बताए । बलात्कारका घटनामा २४ प्रतिशत घर बाहिरका र ७६ प्रतिशत आफन्त, नातागोता वा नजिकको मान्छेबाट हुने गरेको उनले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १९:०७