७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल फेस्टिवल एडिलेडलाई ऐतिहासिक बनाउँदै छौँः संयोजक रेनुका लामा


प्रवासमा नेपालीहरुको संख्या बढेसंगै नेपाललाई चिनाउने महत्वपूर्ण पर्वको रुपमा नेपाल फेस्टिवल हुँदै गएको छ । नेपाल र नेपालीलाई चिनाउन यस्ता फेस्टिवल हुँदै आएको छ । प्रवासमै हुर्कदैँ गरेको नयाँ पुस्तालाई नेपालका बिबिध पक्षको जानकारी दिने अवसरका रुपमा समेत फेस्टिवललाई लिइन्छ । अस्ट्रेलियामा नेपाल फेस्टिवलको शुरूवात सन् २००६ मा सिड्नीबाट भएको हो ।

फेस्टिवल अस्ट्रेलियाको नर्दन टेरेटोरी बाहेक अन्य राज्यमा प्रत्येक दुई वर्षमा हुँदै आएको छ । यसै क्रममा पछिल्लो समय नेपाली समूदायको उपस्थित उल्लेखनीय ढंगले बढ्दै गइरहेको साउथ अष्ट्रेलियामा आगामी मार्च १८ मा एल्डर पार्कमा नेपाल फेस्टिवललको चौँथो संस्करण आयोजना हुँदैछ । स्मरणीय रहोस् साउथ अस्ट्रेलिया फेस्टिवल २०१५ बाट गर्न थालिएको हो ।

नेपाल फेस्टिवलको सेरोफेरोमा रहेर एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामासँग दैनिकीले केही महत्वपूर्ण प्रश्नोत्तर गरेको छ । लामा हालै मात्र सम्पन्न साउथ अष्ट्रेलियाको स्थानीय निर्वाचनमा म्यारियन काउन्सिलमा काउन्सिलरमा निर्वाचित जनप्रतिनिधि समेत हुन् । उनी अष्ट्रेलियाको दोस्रो र साउथ अष्ट्रेलियाको पहिलो नेपाली मुलकी जनप्रतिनिधी हुन् । उनी एनआरएनए अष्ट्रेलियाको पहिलो निर्वाचित महिला उपाध्यक्ष तथा राज्य संयोजक समेत हुन् ।

२००८ मा नर्सिङ अध्ययनको क्रममा अष्ट्रेलिया आएकी लामा पोखरा मणिपाल अस्पतालको पहिलो व्याचकी नर्स समेत हुन् । पोखरामा जन्मेर आमाबाट प्रभावित भएर समाज सेवामा लागेको बताउने लामा एडिलेडको एशफोर्ड अस्पतालको नर्सको रुपमा कार्यरत छिन् । उनी एनआरएनए साउथ अष्ट्रेलियाको उपाध्यक्षका रुपमा २०१७मा निर्वाचित भएकी थिइन् । एनआरएनए, एडिलेड नेपाली समाज जस्ता विभिन्न सामाजिक संस्थाहरु मार्फत नेपाली समूदायको हितमा क्रियाशिल लामासँग नेपाल फेस्टिवलको तयारीका बारे दैनिकीका प्रवास संयोजक/सम्पादक बालगोपाल उपाध्यायले गरेकाे कुराकानीको सम्पादित अंशः

नेपाल फेस्टिवलको किन गर्दै हुनुहुन्छ ?

-प्रवासी नेपालीहरू पर्वको रुपमा नेपाल फेस्टिवल विकास हुँदै गएको छ । दशैँ तिहार जस्तै नेपालीहरुका लागि यो एउटा पर्वको रुपमा रहेको छ । यसमा हाम्रो मुख्य उद्देश्य नेपाल प्रवर्द्धन गर्नु हो । नेपाल र नेपालीलाई बहुसांस्कृतिक देश अष्ट्रेलियामा परिचय गराउन प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएका छौँ । यहाँ विश्व भरिबाट आएका मानिसहरुलाई हाम्रो संस्कृति र संस्कार बारेमा जानकारी दिने अधिकतम प्रयास गर्दै आएका छौँ । यसले नेपालको पर्यटन प्रवर्द्धन गर्न फेस्टिवल सहयोगी हुने विश्वास लिएका छौँ । नेपाल र नेपालीको बारेमा जानकारी दिएर उनीहरु एक पटक भए पनि नेपाल गए भने हाम्रो मातृभूमिको अर्थतन्त्रमा टेवा पुग्ने छ । प्रवासमा हुर्कदै बढ्दै गरेर नयाँ पुस्तालाई नेपाल चिनाउने पर्व पनि हो फेस्टिवल । अर्कोतर्फ नेपालीहरुले यहाँ विभिन्न व्यापार व्यवसाय गरिरहनु भएको छ । उहाँहरुको व्यापार प्रवर्द्धनका लागि यो राम्रो अवसर समेत हो ।

फेस्टिवलको तयारी कस्तो हुदै छ त ?

-तयारी अन्तिम चरणमा छ । हाम्रा १४ वटा उपसमितिहरू क्रियाशिल छन् । यो फेस्टिवल सबै नेपालीको भएकाले व्यानर मुख्य एनआरएनएको भए पनि सबै संस्थाहरू एक भएर कार्यक्रम सफल बनाउन क्रियाशिल छौँ । मार्च १८ मा विहान १० बजे नेपाली संस्कृति झल्कने झाँकीसहितको परेड हुनेछ । झाँकी सहितको परेड कार्यक्रम स्थलमा एल्डर पार्कमा पुगेपछि स्थानीय कलाकारहरूले प्रस्तुति दिने र दिनको ३ बजे साउथ अष्ट्रेलियाका प्रिमियर प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलको उप नेता जिङ ली, संसद सदस्यहरु, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशनाथ पोखरेल, विभिन्न नगरका मेयरहरुको उपस्थितिमा औपचारिक कार्यक्रम शुरु हुने कार्यक्रम रहेको छ ।

औपचारिक कार्यक्रम पछि नेपाल प्रकाश सपुत, प्रिति आले, टिका प्रसाई, देबेन्द्र बब्लु लगायतको प्रस्तुति रहनेछ । अन्तिममा आतासवाजी समेत गर्ने तयारी गरेका छौ । फेस्टिवलमा ४० बटा स्टलहरु हुने छन् । नेपाल हाउस निर्माणको तयारी तिव्र पारिएको छ । नेपाल हाउस मार्फत नेपाललाई चिनाउने प्रयास गर्दैछौ ।

अस्ट्रेलियाको जनप्रतिनिधि समेत रहेकी एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा ।

नेपालबाट आउने कलाकारहरुको भिषा टिकट सबै भैसकेको छ । हामीले कुमारी, भाक्पा, कौरा, तामाङ सेलो, थारु लगायतका हाम्रा संस्कृतिक नाचहरू मञ्चबाट प्रस्तुत गर्ने तयारी गरेका छौ । जो सुकैले पनि यस वर्षको नेपाल फेस्टिवललाई मिनि नेपालका रुपमा पाउने छ यो यहाँको नेपाली समूदायको तर्फबाट म ग्यारेन्टी गर्छु ।

विगतका फेस्टिवल भन्दा यस बर्षको फेस्टिवलमा के फरक छ ? 

-सबै फेस्टिवलका आ-आफ्ना मौलिकता नयाँपन थिए, छन् र हुने छन् पनि । विगतबाट सिक्दै नयाँ अझै राम्रो बनाउने हाम्रो प्रयास जारी छ । यस बर्ष नेपालीहरुको संख्या मात्र हैन विश्व विद्यालयको पढाई होस कि कार्य क्षेत्रको काममा नेपालीहरुले देखाएको उत्कृष्टताले यहाँको राजनितिक नेतृत्वले हामीलाई महत्व दिदै प्रिमियर कै उपस्थिति हुँदैछ ।

यस बर्ष अष्ट्रेलियन डलर २२००० सरकारबाट सहयोग पाएका छौँ । यसलाई बढाउने प्रयास जारी छ । सरकारले विस्तारै हाम्रो समूदायको रिकोकनाईज गर्दैछ । यसैगरी कार्यक्रमस्थल पनि विगत भन्दा फराकिलो ठाउ एल्डर पार्कमा गर्दैछौ । ऐतिहासिक र नेपालमा समेत दुर्लभ हुँदै गएको भाक्पा नृत्य प्रस्तुत गर्दैछौ । आतसवाजी पनि गर्दैछौ । नेपाल हाउस लगायत हाम्रा स्टलहरुमा नयाँपन दिने प्रयास गर्दैछौ ।

यस बर्षको नारा के छ ? 

_यस बर्षको नारा ‘सेलिब्रेटिङ नेशन, कनेक्टिङ जेनेरेसन’ रहेको छ । नेपाल चारजात छत्तिस वर्णको फुलवारी हो । हामी यहाँ हाम्रो नेपाल झल्कने नेपालको परिचय दिने छौँ । सानो नेपाल प्रस्तुत गर्नेछौँ भने त्यस मार्फत हाम्रो यहाँ जन्मेको हुर्केको नयाँ पुस्तालाई नेपालसँग जोडन प्रयास गर्ने छाैँ । नयाँ पुस्तालाई नेपाल साक्षात्कार गराउने छौँ । हामी विशेष परिस्थितिले यहाँ आयौँ भोलि नेपाल निर्माणमा यहाँ अध्ययन गरेर नयाँ पुस्ता जाने वातावरण बनाउने यहाँको हाम्रो नेपाली समुदायको प्रयासको एउटा पाइलो पनि हो यो नेपाल फेस्टिवल । कम्तिमा पनि भविष्यमा नेपालका लागि उनीहरुले केहि गरुन ।

अन्त्यमा दैनिकी मार्फत नेपाली समूदायका लागि केही भन्न सक्नुहुन्छ

पहिलो त कार्यक्रमको तयारीमा लाग्नु हुने सबै हाम्रो समूदायका अगुवाहरुलाई धेरै धेरै धन्यवाद । दोस्रो साउथ अष्ट्रेलियामा रहनु भएका नेपाली समूदायलाई स-परिवार कार्यक्रममा उपस्थितका लागि हार्दिक अनुरोध गर्दछौF । र आफ्नो विश्वविद्यालय, कार्यस्थलका रहेका गैर नेपालीहरुलाई समेत कार्यक्रममा निमन्त्रणा गरिदिन हुन आग्रह गर्दछु ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १९:५९