१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेपाली भूमि फिर्ता नगरेकोबारे ग्रेटर नेपालले ब्रिटेनसँग माग्यो जवाफ


२७ फागुन, काठमाडाैँ । सुगौली सन्धिमा ब्रिटेनले हस्तान्तरण गरेको नेपालको ६० हजार वर्ग किलोमिटर जमिन फिर्ता नगरेको विषयमा ग्रेटर नेपाल अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायतसँग जवाफ मागेको छ । यस सम्बन्धमा ग्रेटर नेपालले ब्रिटेन राज्यमन्त्रीलाई आधा दर्जन प्रश्न सोधेर जग्गा फिर्ता नहुने विषयमा जवाफ माग गरेको हो ।

३० अक्टोबर १९५० मा भएको नेपाल–बेलायत सन्धिको धारा ८ ले सुगौली सन्धि खारेज गरे पनि उक्त भूमि भारतको उपनिवेश रहेकोमा मोर्चाले प्रश्न उठाएको छ । शुक्रवार मोर्चाले विज्ञप्ति जारी गर्दै संयुक्त अधिराज्य ब्रिटेनकी परराष्ट्र मामिला तथा कमन वेल्थ राज्यमन्त्री अन्ने मेरी ट्रेभेल्यानलाई पाँच बुँदे पत्र पठाएको जनाएको छ ।

मोर्चाले भनेको छ, ‘ब्रिटेनले सुगौलीसन्धी हुँदै नेपाललाई हस्तान्तरण गरेको ६० हजार वर्ग किलोमिटर जमिन फिर्ता नगर्नुको कारण जान्न ग्रेटर नेपालका तर्फबाट राज्यमन्त्रीलाई आधा दर्जन प्रश्न सोधिएको छ र मोर्चाले सन्धिको शतवार्षिकीका अवसरमा नेपाल आएकी संयुक्त अधिराज्य ब्रिटेनकी परराष्ट्र मामिला तथा कमन वेल्थ राज्यमन्त्री अन्ने मेरी ट्रेभेल्यानलाई पाँच बुँदे पत्र पठाएको छ ।’

१८ जुलाई १९४७ मा ब्रिटेनले आफ्नो संसदबाट भारतीय स्वतन्त्रता ऐन पारित गर्‍यो र १४ र १५ अगस्ट १९४७ मा पाकिस्तान र भारत बनेपछि नेपाली भूमि नेपालको हुनेछ भनिएको थियो । यसबारे मोर्चाले सहमति भएको जग्गा भारतलाई छाड्ने कारण मागेको अध्यक्ष फनिन्द्र नेपालले बताएका छन् ।

विज्ञप्तिमा पाँचवटा प्रश्न सोधिएको छ, ‘सन्धिमा सही भए पनि पालना नभएको अवस्थामा सन्धि गर्नुको उद्देश्य के हो ? के बेलायतले नेपाली भूमिमा रहेको उपनिवेश १५ अगस्ट १९४७ मा भारतलाई हस्तान्तरण गरेको थियो ? के उपनिवेश हस्तान्तरण हुन्छ ? के लिखित सहमति बिना ब्रिटेनले स्वतन्त्र राष्ट्र नेपालको भूमि भारतलाई हस्तान्तरण गर्न मिल्छ ? औपनिवेशिकताको पीडा कहिलेसम्म सहने ? त्यो जमिन कहिले फिर्ता पाउने ?’

पत्रको बोधार्थ अफगानिस्तान, बंगलादेश, भुटान, भारत, चीन, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका परराष्ट्र तथा विदेशमन्त्री र सार्क सचिवालयलाई समेत पठाइएको मोर्चाले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १९:४२