८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्दै डा रेग्मी


२७ फागुन, चितवन । सामान्यतया ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्न धेरै चिकित्सक हच्किन्छन् । परिवारले पनि त्यति धेरै वृद्धावस्थामा मुटुको शल्यक्रिया गर्न महत्व दिँदैनन् तर, चितवनका एक चिकित्सक भने वृद्धवृद्धाको मुटुको जटिल शल्यक्रिया गर्दै आउनुभएको छ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मी आफूले गरेका शल्यक्रियामध्ये ३० प्रतिशत ७५ वर्षमाथिका रहेको बताउनुहुन्छ । एक दिनको शिशुदेखि ९५ वर्षका वृद्धको समेत आफूले मुटुको शल्यक्रिया गरेको उहाँको भनाइ छ । सन् २००२ देखि १० वर्ष काठमाडौैँको गङ्गालाल हृदयरोग केन्द्रमा काम गर्नुभएका डा रेग्मी विगत ११ वर्षदेखि चितवन मेडिकल कलेजमा काम गर्दै आउनुभएको छ ।

मेडिकल कलेजमा विभिन्न विभागसमेत रहेकाले वृद्धवृद्धामा देखिने अन्य समस्याको उपचार गरेर मुटुको शल्यक्रिया गर्ने गरेको उहाँको भनाइ छ । कतिपयको मुटुको शल्यक्रियापछि प्रोस्टेटलगायत अन्य रोगको शल्यक्रिया गर्ने गरेको डा रेग्मी बताउनुहुन्छ । चितवन आएर मात्रै आफ्नो नेतृत्वमा मुटुका पाँच हजार चार सय ७१ जटिल शल्यक्रिया गरेको बताउँदै उहाँले यीमध्ये ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेको बताउनुभयो । उहाँका अनुसार कोरोनरी एन्जियोग्राम तीन हजार ७४, कोरोनरी एन्जियोप्लास्टी एक हजार नौ सय ३३, पेसमेकर दुई सय ४७, पिटिएमसिन (मुटुको भल्व सानो भएको) दुई सय आठ, बिएभी दुई र बिपिभि सात वटा भएका छन् ।

यसबाहेक मुटुमा जमेको पानी तान्ने, अस्थायी ब्याट्री राख्नेलगायत साना शल्यक्रिया भएको डा रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक दिनको बच्चादेखि ९५ वर्षको वृद्धसम्मको शल्यक्रिया गरेको छु”, यस अस्पतालमा मुटुरोग विभागमा तीन जना विशेषज्ञ चिकित्सक, दुई जना डिएम विद्यार्थी, पाँच जना फेलोसिप विद्यार्थी रहेका छन् । रेग्मीले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट बिरामी आउने गरेको बताउनुभयो । सबै चिकित्सकले पाको उमेरकाको मुटुको शल्यक्रिया गर्न नचाहने भएकाले त्यस्ता बिरामी डा रेग्मीकोमा धेरै आउने गरेको उहाँको विभागमा कार्यरत अमृत काफ्लेले बताउनुभयो ।

राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति जिल्लामा नै रहेको डा रेग्मीको दावी छ । उहाँले थप्नुभयो, “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ ।” अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथ ल्याब रहेको छ । नेपाल सरकारको विपन्न नागरिक औषद्योपचार कोषमार्फत उपलब्ध एक लाख बराबरको छुटसमेत यस अस्पतालमा पाइन्छ । हिँड्दा छाती दुख्ने, छाती भारी हुने, हिँड्दा श्वास हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिनुभयो । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो । डा रेग्मी मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सकमा परिचित भएको भन्दै उहाँले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको बताउनुभयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १४:३३