८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

को हुन् नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ?


२५ फागुन, काठमाडाैं । २००१ साल असोजमा तनहुँको रिस्ती बाहुन पोखरामा जन्मिएका रामचन्द्र पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमालागेका व्यक्ति हुन् ।

अहिले ७८ वर्षपुगेका राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि १६ बर्षको उमेरमै नेपाली राजनीतिमा होमिएका हुन्।

पौडेलले कांग्रेसद्वारा २०१८ मा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाए। कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम थालेका पौडेल २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

२०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भएका उनी २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव बने भने २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य बनेका थिए ।

२०४० सालमै पार्टीले केन्द्रीय प्रचार समिति संयोजकको जिम्मेवारी दिएपछि उनी २०४४ सालमा केन्द्रीय सदस्य बनेका थिए । २०४८ को निर्वाचनमा तनहुँ १ बाट निर्वाचित उनी स्थानीय विकासमन्त्री बनेसंगै सत्ता यात्रा सुरु गरका थिए । कृषि मन्त्री समेत भएका उनी, २०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित भएपछि सभामुख बन्ने सौभाग्य प्राप्त गरे । उनले २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुखको जिम्मेवारी बहन गरेका हुन् ।

२०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित भएका उनीले २०५७ सालमा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले भने २०५९ सालमा शान्तिमन्त्री बने।

माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक बनेका उनी २०६३ सालमा शान्ति तथा पुननिर्माण मन्त्री भए । २०६२ सालमा पार्टी महामन्त्री बनेका उनी २०६४ सालमा कांग्रेस उपसभापति भए। सोही वर्ष सम्पन्न संविधान सभा चुनावमा तनहुँ—२ बाट निर्वाचित भएसंगै २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने।

२०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ—२ बाट निर्वाचित उनले २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । त्यहीवर्ष पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भएका उनले २०७४ को निर्वाचनमा समेत पराजय व्यहोरे ।

१७ पटक चुनाव लड्ने रेकर्ड

नेपाली राजनीतिमा कमै मात्र विवादित नेता पौडेल २०६७ मा १७ पटक चुनाव लडेको घटनाबाट भने सर्वाधिक आलोचित तथा चर्चित छन् ।
उनी प्रधानमन्त्री पदका लागि १७ पटक निर्वाचन लड्दा १७ पटक नै पराजित भएका थिए । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए।

आठौं प्रतिस्पर्धापछि प्रचण्डले उम्मेद्वारी फिर्ता लिएपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका थिए । निर्वाचन सम्बन्धी नियमावली परिवर्तन गरेपछि पौडेललाई खनालले पराजित गरेका थिए ।

राष्ट्रपतिमा निर्वाचित

सभापति शेर बहादुर देउवाइतरको समुहको नेतृत्वमा रहेका पौडेल यसपटक सभापतिमा एक्कासी देउवालाई सघाउने निर्णय गरेका थिए । त्यतिबेलै राष्ट्रपतिका लागि सहयोग गर्ने वचन देउवाले दिएको चर्चा चलेको थियो ।

गत मंसिरमा भएको निर्वाचनमा तनहुँ—१ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पौडेल आठ दलीय गठबन्धनको साझा उम्मेद्वारको रुपमा राष्ट्रपति पदको निर्वाचनमा सहभागी भएसंगै देशको तेस्रो राष्ट्रपति भएका हुन् । उनले एमाले उम्मेद्वार सुवास नेम्बाङलाई पराजित गरेका हुन् ।

करिब १३ वर्ष जेल जीवन बिताएका पौडेलले नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका छन्। पौडेलका तीन पुस्तक प्रकाशित छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १९:५३