७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पिठ्युँमा छोरो बोकेरै महाधिवेशनमा


मुगु सोरु गाउँपालिका निवासी स्वस्तिका शाहीको चर्चा एकाएक चुलिएको छ । यही फागुन १२–१४ गतेसम्म धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनमा भाग लिएकी उनलाई आफ्नो कलाले चर्चामा ल्याएको हो ।

मुगुबाट तीन वर्षको बच्चा बोकेर धादिङ पुगेकी शाहीले यहीँ फागुन १३ गते महाधिवेशनमा कर्णालीको प्रतिनिधिमूलक आवाज प्रस्तुत गरेकी थिइन् । हवाईजहाजको महङ्गो भाडा तिरेर केन्द्रीय महाधिवेशनमा पुगकी उनले आफूलाई राष्ट्रियस्तरका कलाकारहरुले वेवास्ता गरेको गुनासो गर्न समय मागीन् ।

“मुगु, हुम्ला, अछाम, बाजुरा, डोटीलगायत जिल्लाबाट प्रतिनिधि बोलाउने कि नबोलाउने रु तपाईको हातमा छ । हामी हरेक समय खर्चका साथै ज्यानसमेत जोखिममा राखेर आउन सक्दैनौँ”, शाहीले महाधिवेशनमा आक्रोस व्यक्त गरीन् । काठमाडौँ, पोखरालगायत शहरमा मात्र नभइ गाउँका कुना कन्दरामा पनि अधिवेशन गरेर देखाउन उनले कला क्षेत्रका नेतृत्वलाई आग्रह गरीन् ।

मुगुस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानका कोषाध्यक्षसमेत रहेकी कलाकार शाहीले धादिङ्मा आफ्ना विचार व्यक्त गर्दै कर्णालीजस्ता पिछडिएका क्षेत्रबाट आएका प्रतिभालाई प्रतिष्ठानले स्थान दिनाका साथै उनीहरुलाई अगाडि बढ्न हौसलासमेत प्रदान गर्नुपर्ने माग गरीन् ।

उनले व्यक्त गरेकाे कुराले सिङ्गो कर्णालीको प्रतिनिधित्व गरेको अधिवेशनमा सहभागीहरुले बताए । शाहीले प्रतिष्ठानका पदाधिकारी तथा राष्ट्रियस्तरका कलाकारलाई कर्णालीको वास्तविकता, दुःख र वेदनाहरुलाई गीत–सङ्गीतमार्फत उजागर गर्न अनुरोधसमेत गरीन् । कर्णालीमा गाइने देउडासँग सम्बन्धित गीत पनि गाएकी थिइन् ।

शाहीले स्वर्गीय गायिका तारादेवीको ‘सिरीरी मुरली बज्यो वनैमा’ गाउनाका साथै देउडा भाकामा ‘लामै छ हुलाकी बाटो कर्णालीपारीको, रक्षा गर्यौ भगवान् म दुराचारीको’ तथा कर्णालीको न्याउला भाकामा ‘शाही र म परेवा जोडी घुटुक्क बाडुल्की लायाँ, सँगसँगै रनु (रहनु) हो प्यारा रातिमा सपनीमा आयाँ’ भन्ने गीत गाएकी थिइन् । उनको गीतको भाकाले अधिवेशनमा सहभागी कलाकारको मन जितेको थियो ।

शाहीको प्रतिभाको कदर गर्दै कलाकार विश्वास नेपालले उहाँलाई गीत रेकर्ड तथा भिजुलाईजलगायत आवश्यक सबैमा सहयोग गर्ने प्रतिवद्धता जनाए भने सहयोग स्वरुप रू २५ हजार सङ्कलन पनि गरिएको थियो । अहिले उनी सामाजिक सञ्जाल टिकटक, युट्युब, फेसबुक, इन्स्ट्राग्राममा प्रख्यात बनेकाे छ ।

शाहीले अवसर पाउनका लागि बोल्नु पर्दोरहेछ भन्ने धादिङ महाधिवेशनबाट सिकेको राससलाई बताइन् । उनले भनीन्, “कुनैपनि कुरा प्राप्तिका लागि सङ्घर्ष आवश्यक पर्छ, सङ्घर्षलबाटै प्रतिफल सम्भव छ”, शाहीले भनीन् । पिठ्युँमा बच्चा बोकेर कर्णालीको आवाज केन्द्रीय महाधिवेशनमा घन्काउने शाही दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्ने साहसी महिला हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १८:००