९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

अनेरास्ववियुको २३ औँ महाधिवेशनमा जे देखियो…


-किरण देउजा

गत हप्ता (फागुन २–४) काठमाण्डौमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनले नया नेतृत्व मात्र चयन गर्ने कार्यभार थियो । संगठको विधान अधिवेशन गत असोज (१–२) काठमाण्डौमा सम्पन्न भैसकेको हुँदा, त्यो पाटोमा छलफलको जरुरत नै थिएन ।

यो महाधिवेशनलाई मुलत प्रविधिमैत्री महाधिवेशन भन्दा फरक नपर्ने थियो । यो महाधिवेशन बाट अन्य विभिन्न संघ संगठनले सिक्नुपर्ने केहि राम्रा पक्षहरु छन् । ति पक्षहरुलाई अरुले फलो गर्दा राम्रो नै हुन्छ ।

यो महाधिवेशनका १० मुल विषेशताहरू

१ प्रविधिको प्रयोग गरी चुनाव

प्रविधिको प्रयोग गरि निर्वाचन । अखिलले ४५ वटा विद्युतिय मेसिनको प्रयोग गरेर निर्वाचन सम्पन्न ग¥यो । निर्वाचन छिटो र सहज अनि नतिजा चाडै आयो । प्रविधिको प्रयोगले गर्दा समयको बचत समेत भयो । मत गन्न हप्तौ दिन लागेन । मत गन्दा धाँधली भयो भनेर सुन्न परेन ।

२ कागजबिना (पेपर) प्रचार प्रसार

चुनाब प्रचार प्रसार गर्नको लागि कागजको प्रयोग नै भएन । उम्मेदवारहरुले सामाजिक संजालको भरपुर प्रयोग गरेको देखियो । प्रतिनिधिहरुलाई भेटेर नै मत मागेको देखियो । जसले गर्दा महाधिवेशन स्थल फोहोर हुन बाट जोगियो ।

३ लोकतन्त्रको भरपुर अभ्यास

यो महाधिवेशनमा आन्तरिक लोकतन्त्रको भरपुर प्रयोग गरेको देखियो । लोकतान्त्रिक प्रक्रियामामा गैसकेपछि उम्मेदवारहरुलाई प्रसारप्रसार गर्न , प्रतिनिधिहरुलाई आफूले रोजेको चाहेको उम्मेदवारहरुलाई मतदान गर्न सहज वातावरण थियो ।

४ नाराबाजी कमी

पहिले–पहिले को महाधिवेशन/सम्मेलनमा फलानो प्यानल जिन्दावाद, फलानो व्यक्ति जिन्दावाद आदि जस्ता धेरै नाराबाजी हुन्थ्यो । यसपाली उक्त चिजमा ९५ प्रतिशतले कमी भएको देखियो । खासमा भन्नुपर्दा छिुटफुट बाहेक उक्त दृश्य देखिएन ।

५ सार्वभौम प्रतिनिधिको सम्मान

देशभरबाट आएका प्रतिनिधिहरुको मतको सम्मान भयो । प्रतिनिधिहरुले जसलाई जति मत दिए, कसैले पनि यो फलानो प्रतिनिधिले ढोका दियो या मत दिएन भनेनन्, किनभने सार्वभौम प्रतिनिधिहरु प्रति सम्मान थियो । मलाई मत दिइनस भने…. तलाई जानेको छु, आदि शब्द प्रयोग गरेर थर्काउने, धम्काउने हकर्त देखिएन भेटिएन, सुनिएन ।

६ प्यानल रहित व्यक्तिगत प्रतिस्पर्धा

अघिल्लो पटकको महाधिवेशनमा प्यानलमा मात्र उम्मेदवारी दर्ता गर्ने व्यवस्था थियो । जुन धेरै आलोचना समेत भएको थियो । यो पटक देखिने गरि प्यानल सहित कोहि पनि मैदानमा उत्रिएनन् । प्यानल बनाउन बन्दज थियो । न्युनतम योग्यता पुगेकाहरुलाई उम्मेदवार दर्ता गर्नको लागि बन्देज थिएन ।

७ निर्धारित समयमै सम्पन्न

यस पटकको महाधिवेशन निर्धारित समयमा नै सकियो । अघिल्लो पटकको महाधिवेशन हेर्ने हो भने तोकेको समय भन्दा हप्ता दिन बढी लागेको थियो ।

८ प्रतिनिधि व्यवस्थापन देखि परिणाम घोषणासम्म कुनै विवाद नहुनु

यसपाली प्रतिनिधि छनौट तोकेको समयमा नै भएको रहेछ । जसले गर्दा महाधिवेशन अघि प्रतिनिधि मनोनित गर्ने विषयमा लफडा भएनछ । उपत्यका बाहिर बाट आउनु भएका प्रतिनिधिहरुलाई बासको उचित प्रवन्ध भएको रहेछ । आवासमा कसैले गुनासो गरेको सुनिएन ।

९ उम्मेद्वारी फिर्ता वा अरूलाई सहयोगको लागि नेताहरूबाट कुनै दबाब नहुनु

यो महाधिवेशन मुलत नेतृत्व चुन्ने भएको हुँदा , यसपटक न्युनतम योग्यता पुगेकाहरुलाई उम्मेदवार दर्ता गर्न कुनै बन्देज थिएन । र, उमेदवार दर्ता पछि उम्मेदवार फिर्ता लिन कुनै पनि नेताहरुले दबाब या अनुरोध गरेनन् । जसले गर्दा कुनै पनि उम्मेदवारहरुलाई कसैको दबाब परेन । खुलम-खुल्ला चुन्ने चुनिने अवसर पाए ।

१० बार्गेनिङ्गका लागि उम्मेद्वारी दिने प्रथालाई निरूत्साहित

निर्वाचन हुने वातावरण तयार भएपछी केहि मान्छेहरुको मनसाय चै उम्मेदवारी दर्ता गर्ने र फलानो पद या फलानो ठाउमा मलाई सेटल गर्ने हो भने मा उम्मेदवार फिर्ता लिन्छु , नत्र लिन्न भन्ने । यस्ता प्रवृति भएकाहरु लाई नेतृत्वले वास्ता गरेन । ति बार्गेनिङ्ग टोलीको अस्तित्व यो महाधिवेशनमा नामेट भयो ।

यो महाधिवेशनका केहि रोचक दृश्यहरु

१ चर्चित लोकगायक मैदानमा

चर्चित लोकदोहोरी गायक बद्रि पंगेनी , उनको छोरी विहानी पंगेनी लाई अखिलको केस जिताउन मैदानमा हात जोड्दै प्रतिनिधिहरु संग भोट मागेको दृश्य हेर्न लायक थियो ।

२ विद्युतीय मेसिनको भाडा नै २२ लाख 

विद्युतीय मेसिन प्रयोग गरेर अखिलले निर्वाचन गरेको थियो । ४२ वटा मेसिनको भाडा मात्रै २२ लाख तिरेको थियो ।

३ उम्मेदवारहरु बाट नै उठ्यो १६ लाख ८६ हजार

अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा ६०१ जना उम्मेदवारहरुले उम्मेदवार दर्ता गर्दा शुल्क १६ लाख ८६ हजार १०० रूपैयाँ संकलन भएको थियो ।

अखिलको महाधिवेशनमा निर्वाचन हुनुमा मुख्य भुमिका ३ जनाको !

अहिले जसले जतिसुकै तर्क/कुतर्क गरे पनि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानु भक्त ढकाल, विद्यार्थी ईन्चार्ज माधव ढुङ्गेल र अध्यक्षका प्रत्यासी आरसी लामिछाने कै कारणले निर्वाचन भएक हो । यदि आरसी लामिछानेले अध्यक्षको लागि तयारी नगरी मैदान खाली गरेको भए, पदाधिकारीमा निर्वाचन नै हुने थिएन । आरसी लामिछानेले कति मत ल्याए त्यो गौण कुरा हो । नत्र ७ वर्षपछि भएको महाधिवेशनमा केही सीमित पदमा बाहेक अन्य पदमा लोकतान्त्रिक विधि अर्थात निर्वाचन हुने नै थिएन । अहिले शिरदेखि पुच्छर अर्थात अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म निर्वाचन हुनुको मुख्य कारण ढकाल, ढुंगेल र लामिछाने हुन । विद्यार्थी इन्चार्ज पनि आफू सफल देखिन लोकतान्त्रिक विधि नै अपनाउन चाहन्थे। ३ जनाको कारण नै महाधिवेशनमा निर्वाचन हुन सम्भव भएको हो।

सुनमा सुगन्ध हुन्थ्यो…

तर ७ वर्षपछि महाधिवेशन भएर होला अखिलका नेता कार्यकर्ताहरुमा उत्साह धेरै नै देखिन्थ्यो । यो अधिवेशन मुलत नेतृत्व चयन मात्र हुने भएकोले गर्दा धेरैको ध्यान नेतृत्वमा नै थियो । उद्घाटनको दिन अझ निर्वाचन मनोनय हुने बेला सम्म पनि अधिकाम्श कार्यकर्ताहरु निर्वाचन प्रक्रिया त सुरु हुने तर अध्यक्ष मण्डलले नाम टास्ने होला भन्ने भयमा देखिन्थे ।

जब निर्वाचन हुने सुनिश्चितता भयो तब कार्यकर्ताहरुमा उत्साह ह्वात्तै बढेको देखियो । १५७९ मध्ये ६०१ को उम्मेद्वार पर्नु त्यसको ज्वलन्त उदाहरण हो । अध्यक्ष मण्डलका केहि सदस्यहरु, विद्यार्थी ईञ्चार्ज लगायतका केहि नेताहरु अमुक व्यक्तिको नाम लिदै फलानोलाई जिताउनुपर्छ है भन्दै भोट मागेको दृश्य चै सार्है नमिठो थियो ।

पार्टीले नै प्यानल गर्न नदिने, गुटबन्दी गर्न नपाउने, जो जित्छ त्यही आधिकारिक हो भनेको अवस्था थियो । तर त्यसको विपरित स्ववियु निर्वाचनमा विद्यार्थीहरुलाई क्याम्पसको कुना-कुनामा लगेर कान फुक्दै भोट मागे जस्तै झल्को दिने गरी अध्यक्ष मण्डलका केहि सदस्यहरुले गरेको हर्कत चै आफ्नै घोषणा विरुद्द थियो ।

आफै नियम बनाउने आफै उल्ङघन गर्ने जुन राम्रो चिज होईन । जसले राम्रो सन्देश प्रवाह गरेको छैन । अन्त्यमा अखिलको २३ औँ महाधिवेशन सभ्य र भब्य रुपमा सम्पन्न भयो । यसको जस निवर्तमान अखिलको केन्द्रीय कमिटि , नेकपा (एमाले) र अध्यक्ष मण्डललाई दिनुपर्छ । अरू संगठन तथा पार्टीका लागि पनि अनुकरणीय काम । मेरो सलाम ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०७:१८